नेपाल टेलिकमको खुद नाफा ३ अर्ब ८९ करोड रुपैयाँ

नेपाल टेलिकमको खुद नाफा ३ अर्ब ८९ करोड रुपैयाँ

केन्द्रबिन्दु
0
Shares

चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा नेपाल टेलिकमले ३ अर्ब ८९ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। सो कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यो वर्ष नाफा १८.५० प्रतिशतले बढेको हो।

यस कम्पनीले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ३ अर्ब २८ करोड ९३ लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत आवको पुस मसान्तसम्ममा १७ अर्ब ७२ करोड रुपैयाँ बिक्री आम्दानी गरेको यस कम्पनीले चालू आवको सोही अवधिसम्ममा १९ अर्ब २० करोड रुपैयाँ खुद नाफा बढाएको हो। कम्पनीको कुल आम्दानी समीक्षा अवधिमा ६.८७ प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको जगेडा कोष ५.२२ प्रतिशत बढेको छ।

नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ४३ रुपैयाँ ८६ पैसाबाट ८ रुपैयाँ ११ पैसा बढेर ५१ रुपैयाँ ९७ पैसा पुगेको छ। पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात २६.७६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ ६२३ रुपैयाँ ८९ पैसा रहेको छ ।

यस्तै, कम्पनीको गत आवको द्वितीय त्रैमासिक अवधि (२०७७ पुस मसान्त)सम्मको कुल आय २० अर्ब ५७ करोड ५९ लाख २५ हजार रहेकोमा चालू आवको सोही अवधि पुस मसान्तसम्ममा कुल आय १ अर्ब ४१ करोड ३२ लाख ६३ हजार अर्थात् ६.८७ प्रतिशतले वृद्धि भई २१ अर्ब ९८ करोड ९१ लाख ८८ हजार रुपैयाँ रहेको छ।

कम्पनीले फोरजी आयोजनाको कार्यान्वयनसँगै यसको पहुँच विस्तार हुँदा समग्र सक्रिय ग्राहक आधार वृद्धि हुन गई मोबाइल डाटा, भ्वाइस, एसएमएस सेवालगायतको उपयोगमा उल्लेख्य वृद्धि हुन गएकोले सूचक सकरात्मक देखिएको बताएको छ।

कोरोना महामारी, अन्तर्राष्ट्रिय यात्रा सहज नभईसकेको वास्तविकता तथा ओटीटीको बढ्दो प्रयोगले अन्तर्राष्ट्रिय कल तथा अन्तर्राष्ट्रिय रोमिङ सेवामा आएको गिरावट कायमै रहे तापनि अनलाइन व्यवसाय, अनलाइन क्लास लगायतमा भएको वृद्धिको कारणले यस कम्पनीका सूचक सकारात्मक भएको टेलिकमले जनाएको छ।

Skip This
Skip This
Logo