नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको वैधानिकताबारे प्रश्न उठाए सैह्य नहुने चेतावनी दिएका छन् ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले वैधानिकताको प्रश्न उठाउँदै दायर गरेको मुद्धा अदालतमा विचाराधिन भइरहेका बेला अध्यक्ष नेपालको यस्तो भनाई बाहिर आएको हो । उनले आफ्नो पार्टीले कानुनी आधारमा वैधानिकता पाएको र आफूहरूलाई सांसदको रूपमा स्वीकार गर्ने स्थिति बनाइएको दाबी समेत गरेका छन् । आइतबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन मिलेर तीन वटै तहको निर्वाचनमा जाने भन्दै स्थानीय तहको निर्वाचनमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन पनि दिए । उनले भने, ‘हामी वैधानिक रूपमा निर्माण भएको पार्टी हौँ । हामीले कानुनी आधारमा पार्टीको मान्यता पाएका छौँ । र, सांसदको रूपमा स्वीकार गर्ने स्थिति पनि बनाएका छौँ । यसमाथि कसैले धावा बोल्न खोज्छ भने, औँलो ठड्याउने खोज्छ भने हामी सहन गर्दैनौँ । त्यसो हुनाले हामी अघि बढेका छौँ । स्थानीय तहको चुनाव वैशाख ३० गते तोकिसकिएको छ । अव हाम्रो पार्टीको सम्पूर्ण काम चुनावको तयारीमा जुट्नु हो । सबै तहको निर्वाचनमा पाँच दलीग गठबन्धन मिलेर जानेछ ।’
अध्यक्ष नेपालले देशको हितमा कुठाराघात नहुने गरी एमसीसीलाई अघि बढाउन आफूले चाहेको पनि बताए । उनले एमसीसीका कारण नेपाललाई रणभूमि बनाउने पक्षमा आफूहरू नरहेको समेत स्पष्ट पारे । अध्यक्ष नेपालले भने, ‘एमसीसी भन्ने अमेरिकाबाट प्राप्त भएको सहयोगको विषय पनि नेपाली समाजमा निकै ठुलो बहस र विवादको विषय बनेको छ । यो विषयको बारेमा हामी अझै पनि छलफल चलाइरहेका छौँ । विषयवस्तुमा प्रवेश गर्न पनि चाहिरहेका छौँ । जनताको भावना के छ त्यो पनि बुझ्न खोजिरहेका छौँ । फैलिएका आशंकाहरु के–के छन् त्यो पनि बुझ्न चाहिरहेका छौँ । र जनताको भावनामा ठेस नपुग्ने गरी, देशको हितमा कुठाराघात नहुने गरी र सबै मित्रराष्ट्रहरूसँग राम्रो सम्बन्ध कायम हुने गरी हाम्रो समस्यालाई हाम्रो आफ्नै किसिमको परिवेशलाई अरूले पनि बुझिदिउन् भन्ने चाहाना राख्नेगरी हामी अगाडी बढ्न चाहिरहेका छौँ । हामी सबैसँग मित्रता भाव राख्न चाहन्छौँ । कसैसँग पनि कटुता राख्न चाहँदैनौँ । हाम्रा सबै मित्र हुनेछन् । कोही शत्रु हुने छैनन् । हामी हाम्रो देशलाई कुनै किसिमको विश्वको रणभुमिको मैदान बनाउन चाहँदैनौँ । नेपाललाई शान्तिप्रिय देशको रूपमा स्थापित गर्न चाहन्छौँ । असंलग्न परराष्ट्र नीतिलाई अवलम्बन गर्दै अघि बढ्न चाहन्छौँ । यो सबै हाम्रो विशेष परिवेशलाई ध्यानमा राखेर नै हामी एमसीसी सम्बन्धी विषयको बारेमा पनि एउटा अडान हामी लिनेछौँ ।’
अध्यक्ष नेपालले एमसीसीबारे फैलिएका आशंकाबारे अझै बुझ्नुपर्ने आवश्यकता रहेको दोहोर्याएका छन् ।
नेकपा एसको वैधानिकताबारे प्रश्न उठाउनेलाई माधव नेपालको चेतावनी
नेकपा एसको वैधानिकताबारे प्रश्न उठाउनेलाई माधव नेपालको चेतावनी
Posted by Kendrabindu – केन्द्रबिन्दु on Saturday, 12 February 2022





























प्रतिक्रिया