गठबन्धनको निर्णायक बैठकमा जसपा अध्यक्ष यादव भने उपस्थित नहुने

गठबन्धनको निर्णायक बैठकमा जसपा अध्यक्ष यादव भने उपस्थित नहुने

केन्द्रबिन्दु
0
Shares

सत्ता गठबन्धनको निर्णायक बैठक बिहीबारका लागि बोलाइएको छ। बुधबार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भएको छलफलपछि गठबन्धनको निर्णाय बैठक बोलाइएको हो । 

एमसीसी तत्काल पास गर्ने दबाबमा रहेका प्रधानमन्त्री देउवाको अपेक्षाविपरित गठबन्धनका अधिकांश दल एमसीसीको विपक्षमा रहेपछि गठबन्धनको अस्तित्व संकटमा पर्न लागेको हो। 

नेपाली कांग्रेसले एमसीसी पास गर्ने निर्णय गरेको छ। तर माओवादी केन्द्रले संसदीय दलको बैठकबाट एमसीसी पास गर्न नसकिने बरु सरकार छाड्ने निर्णय गरेको छ भने नेकपा एस पनि विपक्षमा रहेको छ। गठबन्धनको अर्को दल राष्ट्रिय जनमोर्चाले यसअघि नै एमसीसीको विपक्षमा उभिने निर्णय गरेको छ। 

एमसीसी पास गर्नुपर्ने पक्षमा रहेको जनता समाजवादी पार्टी (जसपा) पनि पछिल्लो समय एमसीसी पास गर्ने विषयमा मौन बसेको छ। 

बुधबार एमसीसीलाई प्रतिनिधि सभा बैठकको कार्यसूचीमा पार्न प्रयासरत कांग्रेसलाई जसपाले साथ दिएन। उक्त बैठकमा जसपा सहभागी नै भएन र एमसीसीको विषयमा एमालेकै लाइनमा उभिन पुग्यो। बिहीबारको निर्णायक भनिएको बैठकमासमेत जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी नहुने भएका छन् । 

एमसीसीको पक्ष वा विपक्षमा मत राख्नुभन्दा सहभागी नहुने तर्फ यादव अघि बढेका हुन्। उनी सिरहामा राखिएको पार्टीको एक सामान्य कार्यक्रममा सहभागी हुँदैछन्। महत्वपूर्ण बैठकमा उपस्थित हुनु पर्ने भएपनि उनी गठबन्धनको बैठकमा सहभागी नहुने जसपाका एक नेताले जानकारी दिए। 

'एमसीसीको जनताले बिरोध गरिरहेका छन्, चुनाव नजिकएको बेला राष्ट्रघातको अभियोग किन सहने' अध्यक्ष यादव निकट एक नेताले भने । बैठकमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई उपस्थित हुन सक्ने उनको भनाइ छ।

Skip This
Skip This
Logo