प्रतिनिधि सभाको आजको बैठकमा अमेरिकी अनुदान सहयोग एमसीसी सम्झौता टेबल गर्ने तथा बैठक निर्वाध सञ्चालन गर्ने लगायत विषयमा सहमति जुटाउन सत्ता साझेदार दलको बैठक आज शुक्रबार पुनः बस्ने भएको छ।
प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार साँझ बसेको बैठक निष्कर्षमा नटुङ्गिएकाले पुनः छलफल गर्न आज बिहान १० बजे बस्ने गरि बैठक सकिएको थियाे।
साे बैठकमा प्रतिनिधि सभाको बैठक बिनाव्यवधान सञ्चालन गर्ने तथा एमसीसी सम्झौता टेबल गर्नेबारेमा घनीभूत छलफल भएको र त्यो सकारात्मक रहेको जानकारी सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दिए। “सत्ता साझेदार दलबीचको छलफल जारी रहेकाले आज बिहान १० बजे हुने बैठकले निर्णय गर्नेगरि बैठक समाप्त भएको छ”, मन्त्री कार्कीले भने।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी प्रधान कार्यालयले फागुन १६ गतेभित्र सम्झौता अनुमोदनका निम्ति गरेको आग्रहलाई समयमै पूरा गर्न नेतृत्वपङ्क्तिलाई अनुरोध गरेको मन्त्री कार्कीले जानकारी दिए।
सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले प्रतिनिधि सभामा उक्त सम्झौता बुधबार टेबल गर्ने तयारी गरेको भए पनि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आग्रहमा शुक्रबारसम्मका लागि स्थगित गरिएको थियो। आजको बैठकमा एमसीसीलाई टेबल गर्न सत्ता साझेदार दलबीच सहमति जुटाउनुपर्नेमा अध्यक्ष दाहालले जोड दिएका थिए। सत्ता गठबन्धनबीचको सहकार्यलाई निरन्तरता दिँदै अघि बढ्नुपर्ने उनको धारणा थियो ।
बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठ, कांग्रेसका महामन्त्री गगनकुमार थापा, सोही पार्टीका नेताहरू कृष्णप्रसाद सिटौला र पूर्णबहादुर खड्का सहभागी थिए।
त्यसैगरी नेकपा (एकीकृत समाजवादी)का तर्फबाट अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल तथा जनता समाजवादी पार्टी नेपालबाट बाबुराम भट्टराई बैठकमा उपस्थित थिए।































प्रतिक्रिया