सहिद स्मारक ए डिभिजन लिग-२०७८ विजेता मछिन्द्र फुटबल क्लबका कप्तान सुजल श्रेष्ठले अन्तिम खेल गुमाउने भएका छन्। दुई खेलअघि नै लिग च्याम्पियन भएको मछिन्द्रले अन्तिम खेलमा विभागीय टोली एपीएफ फुटबल क्लबको चुनौती पेस गर्दैछ।
तर कप्तान सुजलले भने लिगको समापन तथा पुरस्कार वितरण हुने अन्तिम खेल गुमाउने भएका हुन् । लिगमा लगातार दुई खेलमा पाएको पहेंलो कार्डका कारण सुजल अन्तिम खेलमा निलम्बनमा हुनेछन्।
शनिबार थ्रीस्टारविरुद्ध प्राप्त १-० को जितमा विपक्षी खेलाडीसँग ठाेक्किन पुग्दा सुजलले पहेंलो कार्डको सामना गरेका थिए। प्राप्त पेनाल्टी सदुपयोग गरेपछि थ्रीस्टारका गोलरक्षक प्रिसोसँग ठाेक्किन पुग्दा सुजललाई रेफ्री प्रकाशनाथ श्रेष्ठले कार्ड देखाएका थिए।
प्रतियोगिताको नियमावलीअनुसार दुई पहेंलो कार्डको सामना गरेपछि एक खेल निलम्बनमा परिनेछ। यसअघि सुजलले जावलाखेलविरुद्ध ७७औं मिनेटमा पहेंलो कार्ड पाएका थिए। सुजल मछिन्द्रलाई लगातार उपाधि जिताउँदा टोलीका महत्वपूर्ण सदस्य हुन्। उनले मनाङ मर्स्याङ्दीमा रहँदासमेत दुई पटक लिगको उपाधि उचालेका छन्।
सुजलसँगै अजरबैजानका अट्याकरसमेत रहेका नुर्लान जाहिद नोम्रुजोभले समेत खेल गुमाउनेछन्। उनीसमेत दोहोरो कार्डका कारण निलम्बनमा हुनेछन्। जारी लिगमा १२ खेलबाट ३२ अंक बनाएको मछिन्द्रले आफ्नो अपराजित यात्रा कायम गरेको छ। अन्तिम खेलमासमेत मछिन्द्र अपराजित यात्रा कायम राख्दै लिगको ट्रफी उचाल्ने योजनामा हुनेछ।































प्रतिक्रिया