काठमाडौं । व्यवसायीहरुले कोभिड–१९ का कारण केरुङ नाकामा १ हजारभन्दा बढी कन्टेनर रोकिएको भन्दै त्यसलाई नेपाल ल्याउन पहल गरिदिन सरकारसँग माग गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघमा आवद्ध व्यवसायीहरुले मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टसहित मन्त्रालयका अधिकारीहरुसँग भेटवार्ता गर्दै केरुङ नाकामा रोकिएर बसेका माल सामानसहितका कन्टेनर ल्याउने व्यवस्था मिलाइदिन आग्रह गरेका हुन् ।
त्यस्तै महासंघका अध्यक्ष नरेश कटुवालले केरुङ नाकामा १० महिनादेखि माल सामान रोकिएर बसेको भन्दै छिटोभन्दा छिटो कुटनीतिक पहल गरी नेपाल ल्याउने वातावरण मिलादिन मन्त्री भट्ट समक्ष माग गरे । लकडाउनका कारण लामो समय पसल बन्द गर्नुपर्ने अवस्था हुँदा व्यवसायीहरुसँग बैंकको ब्याजदर र घरभाडा तिर्न सक्ने क्षमता समेत नभएकाले समय थप गर्ने व्यवस्था मिलाइदिन समेत व्यवसायीहरुले माग गरेका छन् ।
त्यस्तैगरी व्यवसायीहरुसँग मासिक भ्याट तथा राजश्व तिर्ने पैसा समेत नभएकाले तिर्ने समय अवधि थप गरिदिन समेत अध्यक्ष कटुवालले माग गरे । व्यवसायीहरुको भेटमा मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले व्यवसायीहरुले राखेका माग जायज भएकाले मन्त्रालयले सम्बन्धित ठाउँहरुमा पहल गर्ने आश्वासन दिएका थिए । पुर्नकर्जा उपलब्ध गराउने विषयमा अर्थमन्त्रालयसँग कुरा गर्ने उनले बताए । साथै, केरुङ र तातोपानीमा देखिएको समस्या समाधानका लागि मन्त्रालयले कुटनीतिक पहल सुरु गरिसकेको समेत उनले बताए ।
लकडाउनपछि व्यवसाय सञ्चालन गर्न चालु पूँजी समेत नभएकाले विना धितो न्यूनतम पाँच प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउन समेत व्यवसायीहरुले माग गरेका छन् । कोभिडको असर उद्योगमा मात्रै नभएर व्यापार व्यवसायमा समेत परेकाले पुर्नकर्जाको सुविधा आफूहरुले समेत पाउनुपर्ने व्यवसायीहरुको माग छ ।





























प्रतिक्रिया