गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी जेठ २ गते बुद्ध जयन्तीका दिनदेखि व्यवसायीक उडान सञ्चालन हुने भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्राविधिक जाँच प्रमाणित गर्न एरो थाईले यान्त्रिक परीक्षण उडान (क्वालिब्रेसन फ्लाइट) सम्पन्न गरेसँगै बुद्ध जयन्तीका दिनदेखि व्यवसायीक उडान हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
एरो थाईको क्यालिब्रेसन फ्लाइट सकिएसँगै नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा वैशाख १ गतेबाट परीक्षण उडान गर्ने तयारी तीव्र गरेको छ । वैशाख १ गते नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमार्फत परीक्षण उडान गरिने पनि प्राधिकरणले जनाएको छ ।
विमानस्थलबाट हवाई उडान सञ्चालन गर्न प्राधिकरणले एयरस्पेस, रुट डिजाइन, फ्लाइट प्रोसिड्योर सबै तयारी गरिसकेको र जेठ २ गते अगाडि सबै काम सकिने प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताए ।
आपत्कालीन अवस्थामा विमानस्थल प्रयोग गर्न सकिने
उनका अनुसार राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै आकासमै होल्ड बस्नुपर्ने समस्या समाधान हुने बताए । हवाई मार्गमा आपत्कालीन अवस्था आउँदा बन्दोबस्तीका सामग्रीसहितको विमानस्थल पछ्याउँदै काठमाडौं आइरहन पर्ने बाध्यताको अन्त्य हुने पनि दाबी गरे । नेपालमा आकस्मिक अवतरणका लागि आवश्यक सम्पूर्ण पूर्वाधार व्यवस्थासहितको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्किनुको विकल्प छैन । तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणमा समस्या आउँदा जहाजहरू भारतको लखनउ डाइभर्ट हुनु पर्ने अवस्थाको अन्त्य हुने महानिर्देशक अधिकारीले जानकारी दिए ।
गौतमबुद्व विमानस्थल अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्ड अनुसार विमानस्थलमा उड्ने अधिकतम ठूलो जहाजको क्षमता अनुसार आकस्मिक अवतरणका लागि चाहिने न्यूनतम मापदण्ड बनेको अधिकारीको भनाइ छ । त्रिभुवन विमानस्थलको भन्दा थप प्रतिकूल मौसममा पनि काठमाडौंमा अवतरण हुन नसकेका जहाज अब गौतम बुद्ध विमानस्थलमा सुरक्षित अवतरण हुन सक्नेछन् । त्यस्तै, उक्त विमानस्थलमा ल्याण्डिङ गियर नखुल्ने, तीव्र गतिमा आएको विमानको घर्षण धान्न नसक्ने, इन्धन ट्यांकमा आएका समस्या, विमानको पंखामा आएका समस्या, आगोजन्य समस्या र प्रतिकुल मौसममा समेत सुरक्षित अवतरण गर्नसक्ने बताए ।
नयाँ एयर रुट चाहिन्छ
विमानस्थलमा उडानको लागि नयाँ रुटको विषयमा भारत सरकार र नेपाल सरकारबीच जीटुजी मार्फत काम भइरहेको तर तत्कालको लागि पुरानै रुट अनुसार विमानस्थलमा हवाई उडान हुने महानिर्देशक अधिकारीको भनाइ छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा दिगो पर्यटन विकास गर्ने लक्ष्य सरकारको छ । विमानस्थलको रन–वे ३ हजार मिटरको रहेको छ । विमानस्थलमा अन्तर्राष्ट्रिय भवन, एयरपोर्ट अपरेशन, प्रशासनिक भवन, कन्ट्रोल टावर, अग्नि नियन्त्रण तथा भवन मर्मत गरेर जडान गरी अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा स्तरोन्नति गरेर सञ्चालन गर्ने उद्देश्य सरकारको लक्ष्य रहेको अधिकारीले बताए। विमानस्थलमा उडान शुरुवात भएसँगै विश्वका बौद्धधर्मावलम्बिहरु सिधै लुम्बिनीमा आउनसक्ने उनको भनाइ छ ।
जनशक्ति व्यवस्थापन
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि आवश्यक जनशक्तिको व्यवस्थापन भइसकेको बताए । उनले अध्यागमन, भन्सार,क्वारेन्टाइन र सुरक्षा एजेन्सीहरुको सोही अनुसारको दरबन्दीमा जनशक्ति व्यवस्थापन भएको बताए । विमानस्थल राष्ट्रिय गौरवको आयोजनामा निर्माण भएकाले प्राधिकरणको मात्रै विमानस्थल नभएको भन्दै अधिकारीले लगानीकर्ता सबैले आ–आफ्नो तरिकाबाट काम गरिरहेको बताए ।
उनले भन्नुभयो,‘विमानस्थलमा आवश्यक जनशक्तिको व्यस्थापन गरिसकेका छौं । अध्यागमन, भन्सार,क्वारेन्टाइन र सेक्युरेटी एजेन्सीहरुको सोही अनुसारको दरबन्दीका कामहरु भएको छ । मैले के भन्न खोजेको हो भने क्यानको मात्रै एयरपोर्ट होइन । क्यानले मात्रै चलाउन सक्ने विषय पनि होइन । त्यसैले त यसलाई राष्ट्रिय गौरवको आयोजना भनिएको हो । सबै स्टेक होल्डरहरु सबै एजेन्सीहरुले आ–आफ्नो तरिकाबाट काम भएको छ। आगामी जेठ २ गतेसम्म सबै काम पूरा हुनेछ । एशियाली विकास बैंक र हामीले लगानी गर्दा रेटअफ रिटन नहेरी काम गरिएको हुँदैन । हामीसँग मार्केट छ । त्यो भएकाले सोचिहाल्नु पर्ने जरुरी देखिँदैन।’
विमानस्थलको व्यापार, प्रचारप्रसार
महानिर्देशक अधिकारीले गौतमबुद्ध विमानस्थल सञ्चालनको लागि नेपालमा अन्तर्राष्ट्रिय सेवा सञ्चालन गर्ने विमान कम्पनीहरुसँग औपचारिक रुपमा छलफल भइरहेको जानकारी दिए । उनले अन्तर्राष्ट्रिय बजारमा समेत सबैले जानकारी पाउने गरी नयाँ अन्तर्राष्ट्रिय विमानस्थलको डाटाहरु प्रकाशन गर्ने तयारीमा सरकार रहेको बताए ।
विमानस्थलको डाटा प्रकाशनपछि क्यानले अन्तर्राष्ट्रिय हवाइ कम्पनीहरुलाई बोलाएर विमानस्थल तयार भएको र सरकारले दिने सहुलियतको विषयमा स्पष्ट जानकारी दिने उनको भनाई छ । अधिकारीले अहिलेको अर्थतन्त्र बजार बेसको अर्थतन्त्र भएकाले बजार नभएर जति नै प्रचारप्रसार गरे पनि कोही आउने अवस्था नभएको तर्क गरे। उनले हाम्रो बजार राम्रो रहेकाले विमानस्थल राम्रोसँग चल्ने विश्वाससमेत व्यक्त गरे ।
विमानस्थल सञ्चालन
महानिर्देशक अधिकारीले विमानस्थल व्यवसायीक ढङ्गले सञ्चालन गर्दा विमानस्थलको अप्रेशन, मर्मत लगायत समग्र विमानस्थलको सञ्चालन नीजि क्षेत्रलाई दिनुपर्ने बताएका छन् । उनले नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ ले विमानस्थलहरुको निर्माण, मर्मत, सञ्चालन प्राधिकरणले गर्ने व्यवस्था गरेको बताए । अब यो संरचना पुरानो भएकाले तत्कालै परिर्वतन गर्न नसकिने भन्दै विस्तारै सरकारले नीति परिर्वतन गर्नुपर्ने महानिर्देशक अधिकारीले बताए । यो विमानस्थल नीजि क्षेत्रले निर्माण गरेको भए यसको प्रचारप्रसार फरक हुने तर्क गर्दै अधिकारीले सरकारले निर्माण गरेकाले प्रचारप्रसार गर्दा नीतिहरु केलाउनु पर्ने अवस्था रहेको बताए । विद्यमान कानून नियमावली र बजारलाई हेरेर बढी भन्दा बढी काम गरिने महानिर्देशक अधिकारीले बताए ।
उनले अब सरकारले नीजि क्षेत्रलाई सञ्चालन गर्न दिने नीति लिनु आवश्यक भएको बताए । अधिकारीले सरकारले भएको संरचनाबाट विमानस्थल राम्रो बनाउने भएपनि खोजेस्तो राम्रो बनाउने उत्तम उपाय नीजि क्षेत्रलाई सञ्चालन गर्न दिने नै रहेको उनको भनाइ छ ।
बुद्ध जयन्तीबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यवसायीक उडान सुरु हुने
बुद्ध जयन्तीबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यवसायीक उडान सुरु हुने
Posted by Kendrabindu – केन्द्रबिन्दु on Tuesday, March 1, 2022





























प्रतिक्रिया