रुस र युक्रेनबीचको तनावले नेपालमा खाने तेलको मूल्य ह्वात्तै बढेको छ। स्थानीय बजारमा विशेष गरेर सन्फ्लावर (सूर्यमुखी) र सोयाबिन (भटमास्) तेलको मूल्य पछिल्लो एक सातामा ह्वात्तै बढेको हो। अन्तर्राष्ट्रिय बजारमा तेलका लागि आवश्यक पर्ने कच्चा पदार्थको मूल्य बढेको कारण पनि तेल उद्योगीले मूल्य बढाएका हुन् ।
नेपाल खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्रकुमार बज्राचार्यले अहिले युद्धको असरले खाने तेलको कच्चा पदार्थका आपूर्तिमा अवरोध हुँदा अभाव भएकोले मूल्य बढेको बताए। उनले दैनिकरुपमा प्रयोग हुने खाने तेल त्यसमा पनि सन्फ्लावर तेल प्रतिलिटर २ सय ४० मा खुद्रा विक्री गर्दै आएकोमा हाल २ सय ८० रुपैयाँसम्म पुगेको बताए। यस्तै, सोयाबिन तेल प्रतिलिटर २ सय ३० मा विक्री गर्दै आएकोमा २ सय ७० रुपैयाँसम्म पुगेको छ। उनले मूल्य बढे पनि सरकारी निकायहरुले अनुगमनमा चासो नदेखाएको गुनासो गरे । उनले रुसले युक्रेनमाथि आक्रमण गर्नु पूर्व नै दाल, चामल लगायत सबै खाद्यान्नको १० प्रतिशतको दरले मूल्यवद्धि भइसकेकोसमेत बताए।
संघका पूर्वअध्यक्ष पवित्रकुमार बज्राचार्यले हाल खाने तेल लगायत खाद्यान्नमा भएको मूल्यवृद्धिको समस्या समाधान गर्न सरकारका निकायले छलफल अगाडि बढाउन आवश्यक रहेको पनि औंल्याए। उनले हालको अवस्थालाई सहज बनाउन व्यापारी, उद्योगी, व्यवसायी लगायत सबै सम्बन्धीत निकायसँग तत्काल छलफल अगाडि नबढाए मूल्य थप चुलिँदै जाने बताए।
रुसले युक्रेनमाथि आक्रमण गरेसँगै बजारमा खाने तेल अभाव हुने भन्दै व्यापारीहरुले बजारमा कृत्रिम अभाव सृजना गराएको, मूल्यवृद्धि गरेको उपभोक्ताको आरोप छ। नेपालले युक्रेन, रसिया र अर्जेन्टिनाबाट कच्चा तेल आयात गरि रिफाइन गरेर नेपाली बजार र भारतमा निर्यात गर्दै आएको छ। भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो ७ महिनामा युक्रेनबाट ९ अर्ब ५१ करोड ६३ लाख रुपैयाँको कच्चा तेल आयात भएको छ। यस्तै रसियाबाट २ अर्ब ५८ करोड ७५ लाख र अर्जेन्टिनाबाट २६ करोड ५१ लाख रुपैयाँ बराबरको आयात भएको छ।































प्रतिक्रिया