पिकअपको ठक्करबाट रौतहटमा २ पैदलयात्रुको मृत्यु, २ प्रहरी घाइते

पिकअपको ठक्करबाट रौतहटमा २ पैदलयात्रुको मृत्यु, २ प्रहरी घाइते

केन्द्रबिन्दु
0
Shares

रौतहटस्थित चन्द्रनिगाहपुर गौर सडकखण्डअन्तर्गत हर्साहा चौकमा स्कर्पियो पिकअप गाडीको ठक्करबाट २ जना युवकको ज्यान गएको छ। ठक्करबाट  एकजना नेपाल प्रहरीका असई र एक जवान घाइते भएका छन्।

चन्द्रनिगाहपुरबाट घरतर्फ गइरहेको बा १७ च ६१६३ नम्बरको स्कार्पियो पिकअपले गएराति साढे ८ बजे हर्साहा चौकमा ठक्कर दिंदा २ जना पैदलयात्रुको मृत्यु भएको हो।

मृत्यु हुनेमा बृन्दाबन नगरपालिका ६ स्थानीय हर्साहा गाउँका बर्ष ३५ का जितेन्द्र पटेल र सोही ठाउँका २८ बर्षिय हरिकुमार ठाकुर रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले जानकारी दिए ।

त्यसैगरी गाडीको ठक्करबाट ड्युटीमा रहेका प्रहरी चौकी हर्साहा प्रमुख असई उपेन्द्र यादव र जवान मुस्तुफा अंसारी घाइते भएका छन्। असई यादवको गरुडा स्थित सामुदायिक अस्पताल र जवान अंसारीको वीरगंजमा उपचार भइरहेको डिएसपी भण्डारीले बताएका छन्।

ठक्करबाट गम्भीर घाइते भएका ठाकुरको उपचारको क्रममा स्थानीय अस्पताल र पटेलको उपचारको लागि एम्बुलेन्सबाट भरतपुर जाने क्रममा राति मृत्यु भएको डिएसपी भण्डारीले जानकारी दिए।

ठक्कर दिने गाडी चालक मौलापुरका संजय पाण्डे र अर्का गाडीमा सवार सोही ठाउँका कुन्दन पाण्डे पक्राउ परेका छन्। मृतकका आफन्तहरुले दुवै शव हर्साहा चौकमा राखेर दोषीलाई कार्वाही र क्षतिपूर्तिको माग गर्दै बिहीबार बिहानैदेखि प्रदर्शन गरिरहेका छन्।

सो क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरि चन्द्रनिगाहपुरबाट गौर जाने गाडीहरुलाई वैकल्पिक बाटोको प्रयोग गराइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

दुर्घटनाको कारणबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। यसैबीच केही स्थानीयले उक्त घटनामा एमाले केन्द्रिय सदस्य तथा निवर्तमान सांसद कुन्दन कुश्वाहाको नाम जोडेर सामाजिक संजालमा राखेपछि कुश्वाहाले आपत्ती जनाउँदै जथाभावी चरित्रहत्या गर्नेलाई कार्वाहीको दायरामा ल्याउन स्थानीय प्रशासनसँग माग गरेका छन्।

Skip This
Skip This
Logo