उद्योग वाणिज्य महासंघको निर्वाचन अनिश्चित

उद्योग वाणिज्य महासंघको निर्वाचन अनिश्चित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोना भाइरसका कारण नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन अनिश्चित भएको छ। गत चैतमै हुनुपर्ने निर्वाचन कोरोनाका कारण रोकिएको थियो।

पछिल्लो समयमा सरकारले निषेधाज्ञा खुकुलो बनाए पनि कोरोनाको जोखिम उत्तिकै छ। बढ्दो जोखिमसँगै महासंघको निर्वाचन अनिश्चित बन्दै गएको हो । सरकारले सभा, सम्मेलन, पार्टी र भोज गर्न बन्देज कायम गरेसँगै साउन २६ र २७ मा तय भएको निर्वाचन अनिश्चितकालका लागि रोकिएको छ।

निर्वाचन कहिले र कसरी गर्ने भन्ने विषयमा महासंघले पदाधिकारी तथा कार्यसमितिको बैठक डाकिसकेको छैन । यद्यपी, कोरोनाको जोखिम हेरेर बैठक बस्न सक्ने पदाधिकारी बताउँछन्।

महासंघको ५४ औं वार्षिक साधारण सभा र निर्वाचनको कार्य सञ्चालन गर्न महासंघले एक उपसमिति गठन गरेको थियो । समितिले ढाँचा तथा प्रक्रिया तयार गरी केही दिन अघि महासंघका अध्यक्ष भवानी राणालाई प्रतिवेदन पेस गरिसकेको छ।

वार्षिक साधारण सभाको समुद्घाटन, बन्दसत्र र समापन कार्यक्रम भर्चुअल (जुम) मार्फत गर्न सुझाइएको छ। स्वास्थ्यका सबै प्रोटोकल एवं सरकारका स्वास्थ्य निर्देशन पालना गरी तीनवटा मोडेलमा निर्वाचन गर्न सकिने उक्त समितिले दिएको छ।

सबै क्षेत्र (जिल्ला र नगर, वस्तुगत, द्विर्राष्ट्रिय, एसोसिएट) को प्रत्यक्ष काठमाडौंमा निर्वाचन गर्न सुझाइएको छ। यस्तै जिल्ला र नगर क्षेत्रको सम्बन्धित प्रदेशमा र वस्तुगत, एसोसिएटको काठमाडौंमा निर्वाचन गर्न सकिने प्रतिवेदनमा उल्लेख छ। समितिले कम्प्युटराइजर (ई–भोटिङ) मार्फत पनि निर्वाचन गर्न सकिने सुझाएको छ।

महासंघ एसोसिएट क्षेत्रका सदस्य भरतराज आर्चायले ईभोटिङबाट निर्वाचन गर्न सकिने सुझाए पनि सुरक्षा र विश्वसनीयतामा विश्वस्त हुन नसकिएको बताए। ‘अहिलेको चिनारी हेर्दा मंसिर ५ भन्दा अघि निर्वाचन गर्न सकिने अवस्था छैन’, उनले भने,‘छठ पर्वपछि नै होला।’

महासंघले निर्वाचनको मोडालिटी तय गर्न साउन २१ गते ६ सदस्य सम्मिलित समिति गठन गरेको थियो। समितिले सरकारी निकाय, स्वास्थ्य सम्बन्धी विज्ञका साथै सरोकारवालासँग छलफल गरी प्रतिवेदन पेस गरेको हो।अन्नपूर्णबाट

Skip This
Skip This
Logo