काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेको पदावधि पूरा भएको छ । वि.सं २०७५ असोज ४ गते अख्तियार प्रमुख आयुक्तमा नियुक्त भएका उनको आइतबार उमेर हदका कारण पदावधि पूरा भएको हो । ६५ वर्ष पुगेका उनले उमेर हदका कारण २३ महिने अख्तियारको कार्यकाल सम्हाल्दै अवकास पाएका हुन् ।
अख्नियारमा प्रमुख आयुक्तको जिम्मेवारी सम्हाल्दा उनी निकै चर्चाको पात्र बनेका थिए । उनले त्यतिबेला भनेका थिए–‘दुई रुपैयाँ भ्रष्टाचार गर्ने पनि भ्रष्टाचारी हो, करोडौं गर्ने पनि भ्रष्टाचारी नै हो । त्यसैले सानो–ठूलो कसैलाई पनि छोड्ने छैन ।’ तर उनको कार्यकाल पहिलो उद्घोषको ठ्याक्कै विपरित भएको धेरैको आरोप छ । उनको कार्यकालमा करोडौं भ्रष्टाचार गर्ने खुल्लम खुल्ला घुमिरहे पनि दुई रुपैँयाँ भ्रष्टाचार गर्ने मात्रै अख्तियारको निसानामा परे ।
सत्तापक्षका नेता तथा कार्यकर्ता जोडिएका ठूला भ्रष्टाचारका फाइलहरु धमाधम तामेलीमा पठाएको उनीमाथि आरोप लागेको छ । ललिता निवास प्रकरणमा पनि सत्ताधारी दलको उक्साहटमा अख्तियारले मुद्दा चलाएको चर्चा चलेको थियो । ललिता निवासमा जोडिएका वरिष्ठ नेता माधवकुमार नेपाललाई अख्तियारले क्लिन चिट दिएपछ उक्त आरोप पुष्टि भएको कतिपयको तर्क छ ।
त्यस्तै अख्तियार प्रमुख घिमिरेले नेपाल आयल निगमको जग्गा खरिद गर्दा भएको भनिएको भ्रष्टाचारको फाइल समेत तामेलीमा पठाएको समाचार विवरणहरु सार्वजनिक भएका थिए । साथै, पूर्वसेनापति राजेन्द्र क्षत्री विरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा परेको उजुरी पनि सत्तापक्षकै आग्रहमा अगाडि नबढाइएको बताइन्छ ।
त्यस्तैगरी वाइडबडी प्रकरण, न्यारोबडी प्रकरण र सेक्युरिटी प्रेस प्रिन्टिङ खरिद प्रकरण त्यसका प्रतिनिधिमुलक उदाहरण हुन् । यति समूहको चलखेल, दरबारमार्गको जग्गा लिजमा दिने निर्णय, सरकारका प्रवक्ता एवं पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा अडियो टेप प्रकरण, उनकै संलग्नता भएको भनिएको टेलिकमको फोरजी प्रकरण, रेलको ठेक्का प्रकरण लगायतमा भएको भनिएको अनियमिततामा अख्तियारले संलग्नहरूलाई नै उन्मुक्ति दिएको थियो ।
प्रमुख आयुक्त घिमिरेकले उमेर हदका कारण अनिवार्य अवकास पाएसँगै अख्तियारमा तीन जना आयुक्त नियुक्ति गर्ने तयारी भइरहेको स्रोतको दाबी छ । जसमा पूर्व गृहसचिव प्रेमकुमार राई, पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख दिलीपकुमार रेग्मी भएको दाबी गरिन्छ । अहिले आयोगमा डा. सावित्री थापा गुरुङ र डा. गणेशराज जोशी कार्यरत छन् ।
अख्तियारमा एक जना प्रमुख आयुक्त र ४ जना आयुक्त रहने संवैधानिक व्यवस्था गरिएको छ ।





























प्रतिक्रिया