‘स्थानीय तह संविधानका अधिकारलाई जनताको घरदैलोमा पुर्याउँदै छन्’: ऊर्जामन्त्री भुसाल

‘स्थानीय तह संविधानका अधिकारलाई जनताको घरदैलोमा पुर्याउँदै छन्’: ऊर्जामन्त्री भुसाल

केन्द्रबिन्दु
0
Shares

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले संविधानमा उल्लेख भएका अधिकारलाई स्थानीय तहले जनताको घरदैलोमा पुर्याएर सेवा गर्दै आएको बताएकी छिन्। ललितपुर महानगरपालिका–२८ को वडा कार्यालय भवनको आज उद्घाटन गर्दै उनले पहिलो पटक अधिकार सम्पन्न भएको जनताको नजिकको वडाले नयाँ अनुभव हासिल गर्दै जनसेवा गरेको आफूले अनुभूत गरेको बताइन्।

वडा अध्यक्षले अहोरात्र खटेर वडामा बाटो विस्तार गर्नुका साथै अन्य भौतिक पूर्वाधारको विकास गरेको उल्लेख गर्दै मन्त्री भुसालले अन्य सहरीकरणका काममा पनि वडाले विशेष ध्यान दिएर सम्पन्न गरेको बताइन् । उनले भनिन्, “कुनै पनि मतभेद नभइकन एकै मनोविज्ञानले वडामा विकासका काम भएका छन्, महिलाका निम्ति सीप, ज्येष्ठ नागरिकका लागि राहत वडाले उपलब्ध गराएको छ ।” कोभिडको महासङ्कटमा आफ्नो ठाउँमा आइसोलेशन सेन्टर स्थापना गरेर जनतालाई सङ्क्रमणबाट जोगाउन वडा सफल भएको जनाउँदै उनले युवाका लागि खेलकूद तथा किसानका लागि राहत र रोजगारी सिर्जना गरेको स्मरण गरिन्।

हरिसिद्धिको कनिखेलस्थित वडा भवन नै यहाँका वडावासीका लागि सिंहदरबार भएको उल्लेख गर्दै मन्त्री भुसालले संविधानमा उल्लेख भएका अधिकार कार्यान्वयन गर्न वडा सक्रिय भएर लाग्ने विश्वास व्यक्त गरिन्। आगामी दिनमा वडाको आर्थिक तथा सामाजिक विकास गर्नु नै वडाको महत्वपूर्ण काम हुने उनको भनाइ थियो ।

कार्यक्रममा प्रदेशसभा सदस्य राजकाजी महर्जन र वडाध्यक्ष राजेश महर्जनले आगामी दिनमा जनताको निरन्तर सेवामा लाग्ने वाचा गर्दै आफूहरूले वडाको विकासका लागि निर्वाह गरेको भूमिकाबारे स्पष्ट पारे। त्यस अवसरमा वडा भवन निर्माणमा महत्वपूर्ण योगदान गर्ने वडावासीलाई सम्मान गरिएको थियो।

Skip This
Skip This
Logo