पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्नो पार्टीका सांसदहरूलाई अविश्वासको प्रस्तावमा मतदानको दिनमा नेशनल एसेम्बलीको बैठकमा सहभागी नहुन कडा निर्देशन दिएका छन् । तल्लो सदन नेसनल एसेम्बलीमा बिहीबारबाट अविश्वासको प्रस्तावमाथि बहस सुरु हुनेछ र सात दिनभित्र मतदान हुनेछ ।
विपक्षी नेता सहबाज सरिफले सोमबार खानविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेका थिए । अप्रिलको पहिलो साता हुने अविश्वासको प्रस्तावमाथिको मतदानमा सहभागी नहुन प्रधानमन्त्रीले आफ्नो पार्टीका सांसदहरुलाई निर्देशन दिएका हुन् ।
पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) सांसदहरूलाई लेखेको पत्रमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री खानले भनेका छन, ‘ नेसनल एसेम्बलीमा अविस्वासको प्रस्तावमाथि हुने मतदानमा उपस्थित नहुनू वा बैठकमा उपस्थित नहुनू ।’
पाकिस्तानका विपक्षीले सोमबार तल्लो सदन नेशनल एसेम्बलीमा खानविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेको एक दिनपछि प्रधानमन्त्रीको यो निर्देशन आएको हो । सन् २०१८ मा पदभार ग्रहण गरेपछि खानले सबैभन्दा कठिन राजनीतिक परीक्षाको सामना गरिरहेका छन् ।
उनको पार्टीमा गम्भीर मतभेद र सत्तारूढ गठबन्धनमा दरारहरू देखा परेका छन । पार्टीमा उनको स्थिति कमजोर बन्दै गएको छ । ३४२ सिट रहेको सदनमा प्रधानमन्त्रीलाई हटाउन आफूहरुलाई आवश्यक १७२ सदस्य रहेका विपक्षीले दाबी गरेका छन् ।
विपक्षीको कदमपछि पाकिस्तानमा राजनीतिक अस्थिरता बढेको छ भने जुन सुकै बेला सरकार ढल्न सक्ने खतरा बढेको छ । खानले आफ्नो पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) पार्टी र राजनीतिक सहयोगीहरूको सहयोगमा अविश्वासको प्रयासलाई पराजित गर्ने बताउँदै आएका छन् ।































प्रतिक्रिया