प्लाष्टिकका आयातित सामग्रीको प्रयोग बढ्दाे, देखिनै छोडे डोको, थुन्से र भकारी

प्लाष्टिकका आयातित सामग्रीको प्रयोग बढ्दाे, देखिनै छोडे डोको, थुन्से र भकारी

केन्द्रबिन्दु
0
Shares

प्लाष्टिकजन्य आयातित सामग्रीको प्रयोग र कच्चा पदार्थको अभावका कारण म्याग्दीका ग्रामीण भेगबाट परम्परागतरुपमा प्रयोग गरिँदै आएको डोका, डाला, थुन्से र भकारी लोप हुँदै गएका छन्।

केहीवर्ष अघिसम्म गाउँघरमा कृषि कर्म तथा सुरक्षित खाद्यान्न भण्डारणका लागि प्रयोग गरिने यी साधन पछिल्लो समय लोप हुँदै गएका हुन्। यहाँका दलित तथा जनजाति समुदायका सिपालु व्यक्तिले पुस्तौँदेखि डोको डालो, थुन्से र भकारी बुनेर विभिन्न ठाउँमा लाग्ने मेला, पर्व तथा गाउँघरमा पुर्याइ बिक्री गरि जीविकोपार्जन गर्दै आएका थिए।

तर, पछिल्ला केही वर्षयता कृषिजन्य आयातित सामग्रीको बढ्दो प्रयोग र गाउँघरका सामुदायिक वनमा पनि कच्चा पदार्थको अभावका कारण यो व्यवसाय लोप हुँदै गएको बेनी नगरपालिका–३ का भविन्द्र विकले बताए। उनका अनुसार गाउँगाउँमा यातायातका साधन सञ्चालन हुन थालेपछि बाहिरबाट आएका प्लाष्टिक तथा अन्य धातुका सामग्रीको प्रयोग, बाँस र निगालो अभाव भएपछि यसको चोयाबाट बनाइने सामग्री नपाउँदा पेसा सङ्कटमा परेको हो।

डेढ दशक अघिसम्म बाँस र निगालोबाट दलित समुदायले डोको, डालो, नाङ्लो (सुप्पो), चाल्नो, टपरी, भकारीलगायत घरायसी प्रयोजनका लागि प्रयोग गरिने सामग्री बिक्री गरेर पर्याप्त आम्दानी गर्दै आएका थिए। जिल्लाको बेनी नगरपालिका, मालिका, मङ्गला, रघुगङ्गा, धवलागिरि र अन्नपूर्ण गाउँपालिकाका विभिन्न ठाउँमा यही पेसाका भरमा जीविकोपार्जन गर्दै आएका कैयौं व्यक्ति अहिले पेसा परिवर्तन गर्न बाध्य भएका छन्। 

“बाँस र निगालो पाउन छाडेपछि आय–आर्जनको बाटो बन्द भएको छ”, मालिका गाउँपालिका–२ रुमका तुलबहादुर विकले भने, “परिवार पाल्न धौधौ भएको छ।” बाँस र निगालोका सामग्री बेचेर आम्दानी गर्ने बाटो बन्द भएपछि समस्या उत्पन्न भएको  उनले बताए। गाउँघरमा बाँस र निगालाका सामान प्रयोग गर्ने किसानको सङ्ख्या पनि घट्दै गएको बेनी नगरपालिका–२ बगरफाँटका टेकबहादुर कार्कीले बताए।

 “गाउँघरमा गोरुबाट गर्ने काममा ट्याक्टर प्रयोग गर्न थालिएको छ, अन्न राख्नका लागि बजारबाट ड्रम वा प्लास्टिक र स्टिलका भाँडा ल्याएर प्रयोग गरिन्छ, अब बाँस, निगालाबाट बुनेका सामग्री त लोप नै भइसकेका छन्”, कार्कीले भने।

टाढाबाट कच्चापदार्थ ल्याएर सामग्री निर्माण गर्दा पनि लागत खर्च अनुसारको आम्दानी नहुँदा दलित समुदायले हैरानी खेप्नु परिरहेको उनीहरुको गुनासो छ। सो समुदायले बाँस र निगालोको चोयाबाट बन्ने प्रति डोकोलाई ३०० देखि ५०० रूपैयाँसम्म बिक्री गर्ने गरेका छन्। यस्तै डालो, भकारी, मानो र नाङ्लो आठ सयदेखि तीन हजारसम्ममा बिक्री गर्दै आएका छन्। युवा वैदेशिक रोजगारी र व्यापार व्यवसायमा आकर्षित भएपछि केही पाका पुस्ताले सम्हालेको यो पेसा पछिल्लो समय लोप हुँदै गएको हो।

निर्माण गरिएका सामग्रीको पनि बिक्री गर्न बजारको समेत अभाव छ। नजिकैका गाउँबस्तीमा सहजै बिक्री हुँदैन। बिक्री भए पनि उचित मूल्य पाउन सकेका छैनन्। 

Skip This
Skip This
Logo