प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा माओवादी केन्द्रलाई भरतपुर महानगर दिन सहमत भएका छन् । ६ वटा महानगर भागबन्डामा कसलाई कुन दिने भन्ने सन्दर्भमा सत्ता गठबन्धनबिच सहमति जुटिसकेको नभए पनि शीर्ष तहमा चार दलबिच महानगरको भागबन्डाबारे अनौपचारिक सहमति जुटेको बताइएको छ ।
माओवादी केन्द्रले सुरुदेखि नै भरतपुर महानगरको दाबी गर्दै आएको छ । यस सन्दर्भमा चितवनका काँग्रेस नेता कार्यकर्ताले विरोध पनि गर्दै आएका छन् । उनीहरूले यो निर्वाचनमा भरतपुर कांग्रेसले पाउने लबिङ गर्दै आएका छन् । तर कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा भरतपुर माओवादीलाई छोड्न अनौपचारिक रूपमा सहमत भइसकेको तर औपचारिक रूपमा आज बस्ने बैठकले निर्णय गर्ने माओवादीका एक नेताले बताए ।
सत्तारुढ पाँच दलमध्ये कांग्रेसले तीन वटा महानगर, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले एक एकवटा महानगरको नेतृत्व लिनुपर्नेमा छलफल भइरहेको एकीकृत समाजवादीका एक नेताले बताए । कांग्रेसले विराटनगर, काठमाडौँ र ललितपुर महानगर लिने सम्भावना बढेको छ । जसपाले वीरगन्ज पाउने पक्कापक्कीजस्तै छ ।
गठबन्धन कायम नरहँदा पनि जसपाको बलियो उपस्थिति रहेको वीरगन्जमा गठबन्धन भएमा झनै सजिलो हुने आकलन छ । माओवादीले भरतपुर महानगर पाउने अवस्थामा एकीकृत समाजवादीले भने पोखरा महानगर पाउने सम्भावना छ । महानगर भागबन्डाको विषयमा आज बस्ने गठबन्धनले औपचारिक रूपमा निर्णय गर्ने माओवादी केन्द्रका नेता गणेश शाहले बताए । ‘अहिले नै केही निर्णय भइसकेको छैन । आज ४ बजे गठबन्धनको बैठक बस्छ त्यसपछि निर्णय हुन्छ’, नेता शाहले भने ।
एकीकृत समाजवादीले एउटा महानगर कुनै पनि हालतमा नछोड्ने अडानमा छ । विशेषतः गएको निर्वाचनमा एमालेले जितेका महानगरमध्ये आधा आफूले पाउनुपर्ने एकीकृत समाजवादीको माग छ । कांग्रेसले काठमाडौँ महानगर नछोड्ने भएका कारण पोखरा समाजवादीको भागमा पर्ने सम्भावना देखिन्छ ।
नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य दिलकुमारी पन्तले पोखरा महानगर आफ्नो पार्टीले पाउने गरी अहिले लबिङ गरिरहेको बताइन् । महानगर भागबन्डामा अहिले टुङ्गो लागि नसकेको भए पनि केही दिनमा यसको टुङ्गो लाग्ने नेता पन्तको भनाई छ । ‘हामीले महानगरको सन्दर्भमा पोखरा महानगर पाउनुपर्ने माग गर्दै आएका छौ ।
यसमा गठबन्धनमा छलफल पनि भइरहेको छ’, नेता पन्तले भन्नुभयो, ‘गठबन्धनले अहिले टुङ्गो भने लगाइसकेको छैन । तर हामीले पोखराका लागि लबिङ गरिरहेका छौ ।’सत्ता गठबन्धनका नेताहरूले आज तालमेलको मोडालिटी टुङ्गो लगाउने तयारी गरेका छ । अपराह्न ४ बजे बस्नेगरि गठबन्धनको बैठक बोलाइएको छ ।































प्रतिक्रिया