माओवादीको चुनावी प्रचारमा कुलमानको तस्बिर

माओवादीको चुनावी प्रचारमा कुलमानको तस्बिर

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले स्थानीय निर्वाचन केन्द्रित चुनावी प्रचारप्रसार अभियानलाई तीव्रता दिएको छ । चुनावी प्रचारका लागि निर्वाचन केन्द्रित चुनावी पोस्टरहरू सार्वजनिक गरेको छ ।

सोही सन्दर्भमा पार्टीको प्रचार गर्न प्रकाशित एउटा पोस्टरमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर समेत समावेश गरिएको छ ।  ‘अँध्यारोबाट उज्यालोको यात्रा’ शीर्षक दिइएको उक्त पोस्टरमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थमन्त्री एवं माओवादी केन्द्रका केन्द्रीय सदस्य जनार्दन शर्मासँगै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको तस्बिर प्रयोग गरिएको हो ।

उक्त पोस्टर अध्यक्ष प्रचण्डलगायत माओवादी नेताको आधिकारिक फेसबुकमा सेयर गरिएको छ । ‘लोडसेडिङ अन्त्य एउटा फड्को, अब पालो निःशुल्क बिजुलीको’, प्रचण्डको फेसबुकमा पोस्टर सेयर गर्दै लेखिएको छ ।

माओवादीले मेरो तस्बिर दुरुपयोग गर्‍यो : घिसिङ

यसैबिच नेपाल विद्युत् प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङले भने माओवादी केन्द्रले चुनावी प्रचारमा आफ्नो तस्बिर राखेर दुरुपयोग गरेको प्रतिक्रिया दिएका छन् ।

पोस्टर सार्वजनिक भएपछि आफ्नो सहमतिबिना तस्बिर राखिएको घिसिङले बताएका हुन् । ‘मेरो तस्बिर नराख्नु भनेको थिएँ । मेरो सहमति विपरीत उहाँहरूले तस्बिर राख्नुभएछ । त्यसमा मेरो विमति छ’, घिसिङले भने ।

स्थानीय तह निर्वाचन केन्द्रित चुनावी प्रचार पोस्टरमा माओवादीले कुलमान घिसिङसहितको फोटो प्रयोग गरेपछि उनको चौतर्फी आलोचना भइरहेको छ । निर्वाचन आचारसंहिता विपरीत सरकारी कर्मचारीको पोस्टर सार्वजनिक गरेर माओवादीले आचारसंहिताको उल्लङ्घन गरेको छ । आयोगले स्थानीय तह निर्वाचनको आचारसंहिता लागू गरिसकेको छ ।

घिसिङ सार्वजनिक सेवा प्रवाह गर्ने निकायको कार्यकारी पद धारण गरेका व्यक्ति हुन् । यस्ता व्यक्तिले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने निर्वाचन आचारसंहितामा उल्लेख छ ।

Skip This
Skip This
Logo