नेपाली क्रिकेटले यो वर्ष केही सफलता र केही असफलताको अनुभव संगाल्यो। यही वर्ष नेपाल टी–२० विश्वकपमा छनोट हुन असफल भयो भने वर्षको अन्त्यमा घरेलु मैदानमा भएको त्रिदेशीय सिरिजको उपाधि र आईसीसी लिग टू सिरिजमा २ खेलमा जित निकाल्दै नेपालले क्रिकेटमा आशाको सञ्चार गरायो।
२०७८ मा प्रमुख आकर्षण रह्यो, नेपालको ब्याटिङ। ब्याटिङमा यसलाई नेपाली क्रिकेटको नयाँ युगको सुरुवात भने पनि फरक पर्दैन । दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, रोहितकुमार पौडेल, करण केसीको ब्याटिङले यो वर्ष सनसनी मच्चायो। तर यही वर्ष ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी, शरद भेषवाकरको प्रदर्शनले फ्यानहरु निराश पनि बन्न पुगे। खराब फर्मका कारण उनीहरु घरेलु मैदानमा भएको त्रिदेशीय सिरिजबाट बाहिर बस्न बाध्य भए। वर्षको अन्तिम दिन चैत ३० गते (आज) सार्वजनिक भएको आईसीसी वरियतामा दीपेन्द्रसिंह ऐरी अलराउण्डर तर्फ उत्कृष्ट १० मा पर्न सफल भए । उनको यो उपलब्धि कुनै पनि नेपाली क्रिकेटरले पाएको अहिलेसम्मकै सबैभन्दा उच्च हो।
वर्षको सुरुवात अर्थात गत वर्ष वैशाख ४ मा नेपालले मलेसिया र नेदरल्याण्ड सम्मिलित त्रिदेशीय शृंखला खेल्यो। सो खेलमा नेपालले नेदरल्यान्डलाई पराजित गरि त्रिदेशीय टी–२० शृंखला आफ्नै पोल्टामा पार्यो । यसबाहेक नेपालले टी–२० विश्वकपको ग्लोबल छनोट फागुन ६, आईसीसी विश्वकप क्रिकेट लिग–२ भदौ २८, श्रीलंकामा अभ्यास खेल र घरेलु मैदानमा चैत्र २१ मा पीएनजीविरुद्ध एकदिवसीय शृंखला खेल्यो।
गत वर्ष नेपाली क्रिकेट टिमले दुईवटा प्रशिक्षक पायो। ०७६ पुसमा खुला प्रतिस्पर्धामार्फत आएका डेभ वाटमोरले भदौमा आईसीसी लिग डिभिजन–२ पछि नेपाली टिम छाडे। पारिवारिक समस्या देखाउँदै वाटमोरले नेपाल छाडेलगत्तै उनको स्थान लिन पूर्वप्रशिक्षक पुबुदु दसानायके नेपाल आए । पुबुदुले विश्वकप ग्लोबल छनोट गराउन असफल भए पनि घरेलु मैदानमा यसै महिना भएको त्रिदेशीय टी–२० क्रिकेटको उपाधि भने नेपाललाई जिताउन सफल भए । फागुन १० मा भएको टी–२० विश्वकपको ग्लोबल छनोटमा भने नेपाल सेमिफाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई)सँग ६८ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो। यो हारपछि नेपालको दोस्रो पटक विश्वकप खेल्ने सपना पूरा हुन सकेन।
दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, रोहितकुमार पौडेल, करण केसीको ब्याटिङले यो वर्ष सनसनी मच्चायो। तर यही वर्ष ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी, शरद भेषवाकरको प्रदर्शनले फ्यानहरु निराश पनि बन्न पुगे।
नेपाली क्रिकेट राम्रै गतिका साथ अघि बढिरहेको थियो, अचानक क्यानले बनाएको अनुचित ग्रेडिङको बारेमा खेलाडीहरूको गुनासो बढ्न थाल्यो । विभिन्न सञ्चार माध्यममा यस विषयमा खेलाडीहरुले सार्वजनिकरुपमै चर्चा गर्न थाले, जुन क्यानलाई मन परेन। बोर्ड र ती खेलाडीबीचको विवाद झनै बढ्दै गयो। क्यानले आफ्नो निर्णय परिवर्तन नगरी सम्पूर्ण असन्तुष्ट खेलाडीहरुलाई प्रतिबन्ध लगाउने निष्कर्षमा पुग्यो।
यहि विवादका कारण क्यानले ज्ञानेन्द्र मल्ललाई कप्तानीबाट हटाएर सन्दीपलाई नयाँ क्याप्टेन बनायो । सन्दीप त्यो समय अस्ट्रेलियाको घरेलु लिग ‘बिग बास’का लागि अष्ट्रेलियामै थिए। उनले क्यानको त्यो निर्णय स्वीकार गरि नेपाली क्रिकेटका नयाँ क्याप्टेन बने। फ्यानहरूबाट धेरै आलोचना र बोर्ड सदस्यहरूबीचको छलफलपछि, क्यानले केही लचकता देखाई असन्तुष्ट खेलाडीहरूलाई सजाय गर्ने निर्णयलाई उल्टायो ।
वर्ष २०७८ मा क्रिकेटमा १२ खेलाडीले डेब्यु गरे । जसमा चार खेलाडीले टी–२० र एकदिवसीय (ओडीआई) मा डेब्यु गरे । यस्तै पाँच खेलाडीले टी–२० र तीन खेलाडीले ओडीआईमा डेब्यु गरे ।
कुशल भर्तेल, आसिफ शेख, सागर ढकाल र गुल्शन झाले दुबै फम्र्याटमा डेब्यु गरे । यस्तै शाहव आलम, लोकेश बम, विवेक यादव, दिलीप नाथ र आलिद अन्सारीले टी–२० मा डेब्यु गरे । विक्रम सोब देव खनाल र भीम सार्कीले भने ओडीआईमा डेब्यु गरेका छन्।
यस्तै यस वर्ष क्रिकेटमा पुस्ता हस्तान्तरणसमेत भयो। १२ खेलाडीले डेब्यु गर्दा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, विकेट किपर विनोद भण्डारी, शरद भेषवाकर जस्ता अनुभवि खेलाडीको स्थान युवा खेलाडीले लिएका छन्।
नेपाली क्रिकेट २०७८ का केही प्रमुख उपलब्धिहरूः
१) नेपाल, नेदरल्यान्ड र मलेसियाबीचको त्रिकोणात्मक सिरिज जित्नु ।
२) नेपाल, पपुवा न्युगीनी र मलेसियाबीचकोे त्रिकोणात्मक सिरिज जित्नु ।
३ ) दिपेन्द्रसिंह ऐरीले टी–२० मा १००० रन पुरा गर्नु ।
४) करण केसीले टी–२० मा ५० विकेट लिनु ।
५) सन्दीप लामिछानेले वान डे र टी–२० दुबैमा ५० विकेट लिनु । (वान डेमा सबैभन्दा छिटो ५० विकेट लिने र टी–२० मा सबैभन्दा छिटो ५० विकेट लिने तेस्रो खेलाडी बन्नु ।)
६) रोहित पौडेल एकदिवसीय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी बन्नु ।
७) कुशल भुर्तेलले आईसीसी टी–२० ब्याटिङ वरियतामा २९औं स्थान हासिल गर्नु ।
८) सन्दीपले ‘प्लेयर अफ द मन्थ’ अवार्ड जित्नु ।
९) सोमपाल कामी आफ्नो लयमा फर्किनु ।





























प्रतिक्रिया