०७४ सालको स्थानीय निर्वाचनमा ६ वटा महानगर : अहिलेको अवस्था कस्ताे ?

०७४ सालको स्थानीय निर्वाचनमा ६ वटा महानगर : अहिलेको अवस्था कस्ताे ?

केन्द्रबिन्दु
0
Shares

स्थानीय निर्वाचनमा तालमेलको निर्णय गरेका सत्तागठबन्धनमा आबद्ध दलहरूका दाबीले महानगरपालिका बाँडफाँटमै शीर्ष नेतृत्वलाई सकस भएको छ। यसअघि जितेका स्थानीय तह सम्बन्धित दलले नै राख्ने र एमालेले जितेका सिट मतभारका आधारमा बाँडफाँट गर्ने निर्णय गरेको पाँचदलीय सत्तागठबन्धनलाई भागबन्डा मिलाउन सकस भएको हो।

उम्मेदवार चयनका सात आधार र सिट बाँडफाँटका चार प्रक्रिया टुंग्याए पनि पाँच दलबीच जिल्लादेखि केन्द्रसम्मै धेरै ठाउँमा जटिलता देखिएको छ। गठबन्धनले यसअघि ‘महानगर र उपमहानगरपालिकाका प्रमुख-उपप्रमुख केन्द्रीय संयन्त्रबाट’ टुंग्याउने सहमति गरेको भए पनि दलहरूका आ-आफ्नै दाबीका कारण आइतबार र साेमबार सहमति जुट्न सकेन । एक-अर्काका दाबी स्वीकार गर्ने अवस्था नभएपछि आज पुनः बस्ने गरि गठबन्धनको बैठक सकिएको थियो ।

गठबन्धन आबद्ध कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपा र राष्ट्रिय जनमोर्चा आबद्ध सत्ता गठबन्धनका शीर्ष नेताहरूले साझेदार दलले जितेका पालिका उनीहरूले नै पाउने र एमालेले जितेका पालिकामा भागबन्डा गर्ने गरि सैद्धान्तिक सहमति गरेका थिए ।

त्यहीअनुसार ६ महानगरमा भागबन्डा गर्दा ललितपुर र विराटनगर कांग्रेस, भरतपुर माओवादी केन्द्र, वीरगन्ज जनता समाजवादी पार्टी (जसपा)ले पाउने तय छ। एमालेले जितेका काठमाडौं र पोखरामा भने भागबन्डा हुनेछ। 

काठमाडौँ महानगर
२०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिका एमालेले जित हात पारेको थियो । त्यसबखत काठमाडौंमा एमालेका विद्यासुन्दर शाक्य ६४ हजार ९१३ मत ल्याएर विजयी बनेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजुराज जोशीले ४५ हजार २६९ मत ल्याएका थिए।

यसैगरी, मेयरमा विवेकशील नेपालीकी रन्जु दर्शनाले २३ हजार ४३९ मत र साझाका किशोर थापाले १८ हजार ४९६ मत ल्याएका थिए । माओवादी केन्द्रका सर्वोत्तम डंगोलले ७ हजार ९०६ मत, नयाँ शक्ति पार्टीका पवित्र बज्राचार्यले ६ हजार ५० मत ल्याएका थिए ।

यस्तै, कांग्रेसबाट उपमेयरमा हरिप्रभा खड्गीले ५८ हजार ९५२ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार ८५४ मत ल्याएका थिए । उनलाई एमालेको साथ थियो । माओवादी केन्द्रकी सुशीलाकुमारी पौडेलले १० हजार ४४८ मत, नयाँ शक्तिकी सविना अर्याल दवाडीले ३ हजार ४९४ मत र साझाकी उम्मेदवार निरुपमा यादवले ११ हजार ५३३ मत ल्याएकी थिइन् ।

ललितपुर महानगर
ललितपुरमा २०७४ को स्थानीय तह निर्वाचनमा मेयरमा कांग्रेसका चिरिबाबु महर्जन २४ हजार ६४२ मत ल्याएर विजयी भएका थिए । त्यसबखत निकटतम प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण व्यन्जनकारले २४ हजार ३१६ मत ल्याएका थिए । महर्जन र व्यन्जनकारबीच मतान्तर ३२६ मात्र थियो । यसैगरी, माओवादीका दिनेश महर्जनले १० हजार ६६१ मत ल्याएका थिए। ललितपुरमा कांग्रेसलाई गठबन्धनले सहयोग गर्दा एमालेका लागि कठिन देखिन्छ ।

वीरगन्ज महानगर
वीरगन्ज महानगरको मेयरमा तत्कालीन संघीय समाजवादी फोरमका विजय सरावगीले १९ हजार ३९३ मत ल्याउँदै विजयी बनेका थिए । त्यसबखत उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अजय द्विवेदीले १९ हजार १९७ मत ल्याएका थिए । यसैगरी, सो महानगरमा उपमेयरमा कांग्रेसकी शान्ति कार्की १९ हजार ६०७ मत ल्याएर विजयी भएकी थिइन् भने संघीय समाजवादी फोरमकी पिंकी यादवले १८ हजार ५३० मत ल्याएर पराजीत बनेकी थिइन् ।

२०७४ मा वीरगन्जको मेयर बनेका सरावगी हाल नेकपा एमालेमा गइसकेका छन् । यस्तै, तेस्रो स्थानमा रहेका सिंह जसपामा छन्। त्यसबखत जसपासँगको मतान्तर कम भएकाले कांग्रेस यसपटक वीरगन्ज महानगरको नेतृत्व छाड्ने पक्षमा छैन। गत निर्वाचनमा कांग्रेससँग जसपाको मतान्तर १९६ मात्रै थियो ।

विराटनगर महानगर
विराटनगर महानगरपालिको मेयरमा २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसका भीम पराजुली २३ हजार ३१ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेका विनोदप्रसाद ढकालले १७ हजार ३२१ मत ल्याएका थिए। सो महानगरमा उपमेयरमा एमालेले विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमसँग चुनावी तालमेल गरेको थियो । यस्तै, माओवादी केन्द्र र तत्कालीन संघीय समाजवादी फोरमबीच चुनावी तालमेल भएको थियो । फोरमबाट मेयरको उम्मेदवार बनेका उमेशकुमार यादवले १४ हजार ९५८ मत प्राप्त गरेका थिए ।

पोखरा महानगर
२०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा पोखराको मेयरमा एमालेबाट मानबहादुर जिसी ६० हजार ११८ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामजी कुँवरले ४६ हजार ४१६ मत ल्याएका थिए ।

यसैगरी, उपमेयरमा एमालेकी मञ्जु गुरुङले ५६ हजार ४४८ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सरस्वती गुरुङले ४४ हजार ३३८ मत ल्याएकी थिइन् । माओवादीले मेयरमा कांग्रेसलाई सघाएकाले उपमेयर गोमा ढकाललाई उम्मेदवार बनाएको थियो । ढकाल उपमेयरमा ८ हजार ७९६ मत ल्याएर तेस्रो भएकी थिइन् । 

भरतपुर महानगर
भरतपुरमा २०७४ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट मेयरमा रेणु दाहाल ४३ हजार १२७ मत ल्याएर विजयी बनेकी थिइन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका देवीप्रसाद ज्ञवालीले ४२ हजार ९२४ मत ल्याएका थिए । उपमेयरमा कांग्रेसबाट पार्वती शाहले ४७ हजार १९७ मत ल्याएर विजयी भएकी थिइन् भने निकटतम प्रतिद्वन्द्वी एमालेकी दिव्य शर्माले ३९ हजार ५२५ मत ल्याएकी थिइन् ।

Skip This
Skip This
Logo