स्थानीय तह निर्वाचन : महिला उम्मेदवार बनाउनेमा एमाले पहिलो, कांग्रेस पाँचौं दल

स्थानीय तह निर्वाचन : महिला उम्मेदवार बनाउनेमा एमाले पहिलो, कांग्रेस पाँचौं दल

केन्द्रबिन्दु
0
Shares

आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले सबैभन्दा बढी महिला उम्मेदवारलाई मैदानमा उतारेको छ। देशको ७५३ स्थानीय तहमध्ये ७३८ स्थानीय तहका प्रमुख र अध्यक्षमा उम्मेदवारी दर्ता गराएको केपी शर्मा ओली नेतृत्वको एमालेले नगरपालिका प्रमुखमा २७ र गाउँपालिका अध्यक्षमा २८ जनासहित ५५ जना महिलालाई उम्मेदवार बनाएर पहिलो राजनीति दल भएको हो ।

वैशाख ३० मा हुने निर्वाचनका लागि एमालेले २६० जनालाई नगरपालिका उपप्रमुख तथा ४१० जनालाई उपाध्यक्षको रुपमा मैदानमा उतारेको निर्वाचन आयोगले जारी गरेको तथ्यांकमा उल्लेख छ। 

यसैगरी, निर्वाचन आयोगका अनुसार पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र)ले १८ जना महिलालाई नगर प्रमुख र २९ जनालाई गाउँपालिका अध्यक्षसहित ४७ जनालाई उम्मेदवार बनाएको छ। 

माओवादी केन्द्रले नगर प्रमुख र गाउँपालिका अध्यक्षमा ४१७ स्थानीय तहमा मात्रै उम्मेदवारी दिएको छ। राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले २२७ स्थानीय तहमा प्रमुखका लागि उम्मेदवारी खडा गर्दा २७ जना महिलालाई प्रमुख पदमा उम्मेदवार बनाएको छ।

सोही पार्टीले गाउँपालिका अध्यक्षमा ४२ जना महिलालाई स्थान दिएको छ। राप्रपा महिला उम्मेदवार बढी बनाउनेमा तेस्रो ठूलो राजनीतिक शक्ति भएको छ। 

उता, माधवकुमार नेपाल नेतृत्वको नेकपा (एस)ले १२८ जना प्रमुखमा उम्मेदवारी दिँदा २३ जना महिलालाई उम्मेदवार बनाएको छ। १७५ गाउँपालिकामा अध्यक्षको उम्मेदवारी दिँदा १२ जना महिला उम्मेदवार उठाएर चुनावी मैदानमा उत्रेको छ । नेकपा (एस)ले नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्षमा मात्रै ३५ जनालाई उम्मेदवारी दिलाएको हो।

सरकारको नेतृत्वकर्ता राजनीतिक दल नेपाली कांग्रेसले १९ जनालाई मात्रै नगरपालिकाको प्रमुख तथा गाउँपालिका अध्यक्षका लागि टिकट वितरण गरेको छ, जुन एमालेको भन्दा ३६ जना कम हो।

महिलालाई उम्मेदवार बनाउने दलमा कांग्रेस पाँचौं स्थानमा सीमित हुन पुगेको छ। कांग्रेसले ७५३ स्थानीय तहमध्ये ६१५ स्थानमा मात्रै नगर प्रमुख र गाउँपालिका अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएको छ। 

मधेश केन्द्रित दल महिलाप्रति अनुदार
उपेन्द्र यादव जनता समाजवादी पार्टी (जसपा) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) महिला उम्मेदवारलाई प्राथमिकता दिन अनुदार देखिएका छन्। 

माओवादी केन्द्र झैँ निरन्तर समावेशी र समानुपातिक प्रतिनिधित्वको माग राख्दै आन्दोलनरत राजनीतिक दल जसपा र लोसपा नेपाल पनि महिला उम्मेदवार छनौटमा अनुदार देखिएको निर्वाचन आयोगको तथ्यांकले देखाएको छ।

जसपाले १४६ नगरपालिकामा पुरुषलाई मेयरमा उम्मेदवारी दर्ता गराउँदा १५ जना महिलालाई मात्र उम्मेदवार बनाउने छ। १८० जनालाई गाउँपालिका अध्यक्षको उम्मेदवार बनाउँदा महिला भने १० जना मात्रै उम्मेदवार बनेका छन्। 

ठाकुर नेतृत्वको लोसपा नेपालले ८९ जना प्रमुखका लागि पुरुष उम्मेदवार उठाउँदा ५ जना महिलाले मात्र प्रमुखमा उम्मेदवार बन्न अवसर पाएका छन्।

प्रमुखका लागि उम्मेदवारी दर्ता गराउन सफल भएका छन् भने ९४ जना गाउँपालिकाका अध्यक्षमा पुरुषले प्रतिस्पर्धा गरिरहँदा सो पार्टीबाट ३ जना महिला मात्रै अध्यक्षका लागि प्रतिस्पर्धामा उत्रिन सफल भएका छन् । 

Logo