सत्तारुढ गठबन्धनको काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार सिर्जना सिंहले आफू विजयी भएमा भ्रष्टाचारमुक्त महानगर बनाउने प्रतिवद्धता व्यक्त गरेकी छिन् ।
शनिबार नेपाली कांग्रेस निकट बुद्धिजीवि पेशाकर्मी परिचालक समिति, काठमाडौंले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै सिंहले आफू मेयरमा विजयी भएमा काठमाडौं महानगरपालिकालाई भ्रष्टाचारको दूर्गन्धबाट मुक्त गराउने बताएकी हुन् ।
उनले डिजिटल प्रविधि अपनाएर घरैबाट जनताले सेवा लिने व्यवस्था गर्न पनि आफू लागिपर्ने बताइन् । सिंहले सबै महिलाहरुको भावनालाई कदर गरेर अघि बढने योजना पनि सुनाइन् । उनले भनिन् , ‘मेरो पहिलो प्रतिवद्धता भनेको सुशासन हो । घरभित्र फोहोर छ भने बाहिर सफा भएर केही हुँदैन । त्यसकारण मेरो पहिलो प्राथमिकता सुशासन हुन्छ । त्यसका लागि मैले भ्रष्टाचारमुक्त महानगरपालिका बनाउनु पर्नेछ । आईटीको जमाना छ । डिजिटल प्रविधि अपनाएर जनताको काम घरबाट हुने व्यवस्था गर्नेछु । महिलाहरुको समस्या बुझेकाले तत्काल समाधान गर्न पहल गर्नेछु ।’
सिंहले आफूलाई नेपाली कांग्रसले सर्वसम्मतरुपमा मेयरको उम्मेदवार बनाएको बताइन् । सुरुमा मेयरका लागि नेपाल महिला संघ, काठमाडौंले प्रस्ताव गर्दा आफ्नो श्रीमान प्रकाशमान सिंहलाई थाहा नै नभएको उनको दावी थियो ।
गणेशमान, मंगलादेवी सिंहको बुहारी र प्रकाशमान सिंहको श्रीमती भएको नाताले मात्रै आफू मेयरको उम्मेदवारी नभएको सिंहले बताइन् । उनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान दिएका गणेशमान, मंगलादेवी र प्रकाशमान सिंहको परिवारको सदस्य भएर राजनीतिक आन्दोलनमा सरिक हुन पाउनु आफ्ना लागि गौरवको विषय भएको पनि बताइन् ।





























प्रतिक्रिया