काठमाडौं ।
काठमाडौं उपत्यकामा निषेधाज्ञाको समयावधि सकिन लाग्दा आगामी दिनका लागि आवश्यक निर्णय लिन स्थानीय प्रशासनले छलफल थालेको छ । सरकारी निकाय, जनप्रतिनिधि तथा निजी क्षेत्रका प्रतिनिधिसँग मंगलबार छलफल गरेको र आएका सुझावको आधारमा निषेधाज्ञाबारे उपयुक्त निर्णय गरिने जनाइएको छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले निषेधाज्ञा जारी भएपछि हालसम्मको अवस्थाबारे समीक्षा गर्दै आगामी दिनमा अपनाउने रणनीतिका बारेमा मंगलबार बिहानैदेखि विभिन्न क्षेत्रका प्रतिनिधिसँग छलफल गरिएको जानकारी दिए । उपत्यकाको नगरपालिकाका प्रमुख तथा प्रतिनिधिसहित तीनै जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीबीच पनि छलफल भएको छ । यस्तै जिल्लास्थित कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठक बसेको र उद्योग तथा वाणिज्य क्षेत्रका प्रतिनिधिसँग समेत सुझाव लिइएको प्रजिअ दाहालले जानकारी दिए ।
साँझ गृह मन्त्रालयसँग समेत परामर्श लिइएको उनले जानकारी दिए । “विभिन्न कोणबाट सुझाव आएको छ, त्यसलाई एकीकृत गरेर एउटा निर्णयमा पुगिन्छ”, प्रजिअ दाहालले भने, “सहजीकरण गर्नेतर्फ ध्यान गएको छ ।” उपत्यका नगरपालिका फोरमले भने खुकुलो बनाउन सुझाव दिइसकेको छ भने निजी क्षेत्रले पनि व्यवसाय चलायमान बनाउन माग गर्दै आएको छ । काठमाडौं उपत्यकामा भदौ ४ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो । आज बुधबार राति १२ बजेदेखि निषेधाज्ञाको अवधि समाप्त हुँदैछ ।































प्रतिक्रिया