वर्ल्ड स्‍नुकर च्याम्पियनसिप : ४६ वर्षीय सुलिभानको कीर्तिमान

वर्ल्ड स्‍नुकर च्याम्पियनसिप : ४६ वर्षीय सुलिभानको कीर्तिमान

केन्द्रबिन्दु
0
Shares

इंल्याण्डका ४६ वर्षीय रोनी ओ सुलिभानले सबैभन्दा बढी उमेरमा स्‍नुकरको विश्व च्याम्पियन बन्ने खेलाडीको कीर्तिमान बनाएका छन् । उनले सन् १९७८ मा ४५ वर्षे रे रेर्डनले राखेको रेकर्ड तोडेका हुन् । 

फाइनलमा आफ्नै देशका ३२ वर्षे जड ट्रम्पलाई १८—१३ को सेटमा पाखा लगाउँदै खेलमा सुलिभानले स्‍नुकरको इतिहासमा आफ्नो नाम लेखाएका हुन् । उपाधिसँगै उनले ५ लाख डलर जिते ।

खेलपछि सुलिभानले खेलको रस्साकस्सीलाई बिर्संदै ट्रम्पसँग भावनात्मक अंगालो साटासाट गरे, जुन एक मिनेट भन्दा बढी समय चलेको थियो । 

सुलिभानको विजयसँगै स्‍नुकर इतिहासकै सबैभन्दा ठूला स्नुकर खेलाडी को हुन, भन्ने बहस पुनः सुरु भएको छ । सुलिभानले हालसम्म ३९ रेकिंग टाइटल जितिसकेका छन् जुन आफैंमा ऐतिहासिक छ । स्‍नुकरका प्रमुख रेकर्डहरु पनि उनकै नाममा छन् ।   

सुलिभान भन्छन्, “मैले रेकर्डहरूको बारेमा कहिल्यै चिन्ता गरिन । तपाई पनि मेरो रेकर्ड तोडन सक्नु हुन्छ । मसँग धेरै लक्ष्यहरू छैनन् । मलाई यो वर्ष हरेक प्रतियोगिता फाप्यो । मलाई ती सबै प्रतियोगिता खेल्न मन पनि पर्यो । म जित्न मन पराउँछु तर जित हार खेलको एउटा पाटो मात्रै हो ।”  

सुलिवानका प्रतिद्वन्द्वी जड ट्रम्प भन्छन, “यो वर्ष ओ सुलिवान अघिल्लो पुस्ताको तुलनामा धेरै बलियो खेलाडीहरूसँग खेलिरहेका छन् । मलाई लाग्छ कि उनले जे हासिल गरे त्यो उल्लेखनीय छ । व्यक्तिगत र व्यावसायिक बाटोमा चुचुराहरू र खाल्डाहरू आउँछन् तर उनले ती सबै कुराको सामना गर्दै उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् ।”

सुलिभानले सन् २००१, २००४, २००८, २०१२, २०१३, २०२० र २०२२ को वर्ल्ड स्‍नुकर च्याम्पियनसिपको उपाधि उचालेका हुन् । 

(राजेश राई, प्रशिक्षार्थी पत्रकार )

Logo