युरोपेली च्याम्पियन्स लिगको फाइनलमा लिभरपुल र रियल मड्रिड भिड्ने

युरोपेली च्याम्पियन्स लिगको फाइनलमा लिभरपुल र रियल मड्रिड भिड्ने

केन्द्रबिन्दु
0
Shares

यस सिजनको युरोपेली च्याम्पियन्स लिग फाइनलमा लिभरपुल र रियल मड्रिड भिड्ने भएका छन्। दोस्रो सेमिफाइनलमा सनसनीपूर्ण पुनरागमन गरेर म्यानचेस्टर सिटीलाई पराजित गर्दै, रियलले यस सिजनको युरोपियन फाइनलमा आफ्नो स्थान पक्का गरेको हो।

सान्टियागो बर्नाबेउमा भएको सेमिफाइनलको दोस्रो लेगमा ३-१ र समग्र लेगमा ६-५ को नतिजा निकाल्दै रियल मड्रिड फाइनल प्रवेश गरेको हो । पहिलो लेगमा ४-३ ले पछि परेको रियलले यसै सिजन उस्तै नतिजाबाट पेरिसलाई अन्तिम १६ को खेलमा हराएको थियो । निकै रोमाञ्चक बनेको खेलमा रियलका लागि रोड्रिगोको योगदान निकै महत्वपूर्ण रह्यो । 

पहिलो हाफको खेलमा दुवै टोलीले राम्रो प्रदर्शन गरेका भएपनि पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । रियल मड्रिडका लागि भिनिसियस जुनियर र बेन्जेमाले पहिलो हाफमा केही अवसरहरु पाए पनि त्यो अवसरलाई गोलमा परिणत गर्न सकेनन्। 

केवल एक गोलको अग्रता रहँदा सिटीको पहिलो हाफ भने सोचे अनुसारको हुन सकेन । उसका मुख्य स्टार खेलाडी केभिन डी ब्रुएनलाई अधिकांश समय रियल मड्रिडले आक्रामक बन्न नदिँदा सिटीले राम्रा अवसरहरु वीरलै जुराउन सकेको थियो । पहिलो लेगको तुलनामा दुवै टोली निकै आक्रामक र चनाखो भएर प्रस्तुत भएका थिए ।

दोस्रो हाफमा सिटीका तर्फबाट रियाद महारेजले गोल गर्दै खेललाई रोमाञ्चक बनाएका थिए । बर्नादो सिल्भाको पासमा ७३ औं मिनेटमा शानदार गोल गर्दै उनले सिटीलाई समग्र लेगमा ५-३ को सहज स्थितिमा पुर्याएका थिए । तर खेलको अन्तिम समयमा रियल मड्रिडका लागि सब्टिच्युट खेलाडी रोड्रिगोले ९० र ९१ औं मिनेटमा गोल गर्दै खेल बराबरी गरे । जसले गर्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो।

अतिरिक्त समयको पहिलो हाफको सुरुवातमै सिटीका खेलाडीले करिम बेन्जेमालाई फल गरेपछि रियल मड्रिडले पेनाल्टी पाएको थियो । पेनाल्टीमा गोल गर्दै बेन्जेमाले रियललाई ३-१ को शानदार पुनरागमन तथा समग्र लेगमा ६-५ को अग्रता दिलाए । 

कीर्तिमानी १३ औं पटकको युरोपेली च्याम्पियन रियलले अब आफ्नो १४ औं उपाधिका लागि लिभरपुलविरुद्ध पेरिसमा मे २९ मा प्रतिस्पर्धा गर्नेछ। हारसँगै म्यानचेस्टर सिटीको घरेलु शीर्ष डिभिजन लिगसँगै युरोपेली च्याम्पियन्स लिग जित्दै, दुई ठूला ट्रफीसहित सिजन समाप्त गर्ने सपना भने साकार हुन सकेन ।

Skip This
Skip This
Logo