काभ्रेको मण्डनदेउपुरमा गठबन्धनको घरदैलो तीव्र, पूर्वसांसदहरु पनि दौडधुपमा

काभ्रेको मण्डनदेउपुरमा गठबन्धनको घरदैलो तीव्र, पूर्वसांसदहरु पनि दौडधुपमा

केन्द्रबिन्दु
0
Shares

स्थानीय तहको निर्वाचन-२०७९ का लागि गठबन्धन दलले काभ्रेको मण्डनदेउपुरमा घरदैलोलाई तिव्रता दिएका छन्। 

वैशाख १८ गते सुरु भएको घरदैलो अन्तर्गत गठबन्धन दलका तर्फबाट नगरप्रमुख पदका उम्मेदवार एकीकृत समाजवादीका जिल्ला अध्यक्ष एवं निवर्तमान नगरप्रमुख टोकबहादुर वाइवा, उपमेयरका उम्मेदवार नेपाली कांग्रेसका नगर उपसभापति एवं वडा नं. १० का निवर्तमान वडाध्यक्ष विष्णुमणि नेपाल लगायतको टिम विभिन्न वडाका टोल, बस्तीमा गएर जनतासँग मत मागिररहेकाे छ। 

शुक्रबारसम्म वडा नं ६, ७, ८, ९, १० र ११ का विभिन्न टोल, बस्तीमा घरदैलो सकेको गठबन्धनका नेताहरुले जनाएका छन् । भोट माग्ने क्रममा पूर्वसांसदहरु कृष्णप्रसाद सापकोटा, विदुर सापकोटा, शिव हुमागाईं, कांग्रेसका पूर्वजिल्ला उपसभापति अच्युत पौडेल, नेपाली कांग्रेस मण्डनदेउपुर नगरसभापति कश्यप पौडेल, वागमति प्रदेशका सांसद लक्ष्मण लम्साल पनि दौडधुपमा छन् । उनीहरुलाई नगरका गठबन्धन उम्मेदवारहरु र विभिन्न दलका नेता, कार्यकर्ताले पनि साथ दिइरहेका छन्। 

अधिकांश नेताहरुले देशमा व्याप्त भ्रष्टाचार र वेथिती अन्त्यको लागि गठबन्धनको जित आवश्यक रहेको बताइरहेका छन् । चुनावी दौडमा सत्ता गठबन्धन दल एकातिर छ भने एमाले अर्कातिर छ । विभिन्न वडाहरुमा भने नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच सहकार्य भएको छ भने सिङ्गो नगरपालिकामा मेयर र उपमेयरमा गठबन्धनका साझा उम्मेदवार मैदानमा छन् ।

वैशाख २६ गतेसम्म चल्ने घरदैलो अन्तर्गत बाँकी वडाहरुमा क्रमशः घरदैलो गर्ने तालिका तय भएको गठबन्धनले जनाएको छ। 

यसअघिको निर्वाचनमा अधिकांश वडाहरुमा नेकपा एमालेले जित हात पारेको भए पनि अहिले अवस्था फरक रहेको छ । एमाले फुटको प्रभाव यस नगरपालिकामा वढी नै देखिएकाले नतिजा फरक आउन सक्ने सम्भावना छ । 

मण्डनदेउपुर नगरपालिकाका १२ वडामा करिब २८ हजार मतदाता रहेका छन्।

Logo