चितवनको सात पालिकामध्ये अहिलेसम्म तीन पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। तीनवटै पालिकाको मेयर/अध्यक्षमा एमाले विजयी भएको छ। माडी नगरपालिका, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाको मत परिणाम सार्वजनिक भएको हो।
जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामनामा पाँच दलीय गठबन्धनलाई पराजित गर्दै नेकपा (एमाले) विजयी भएको छ। अघिल्लो पटक गाउँपालिका अध्यक्ष र उपाध्यक्ष कांग्रेस एक्लैले जितेको थियो । अहिले गठबन्धन बन्दा पनि एमाले एक्लैले जित हात पारेको हो ।
गाउँपालिकाको अध्यक्षमा एमालेका दानबहादुर गुरुङ एक हजार ५०२ मत अन्तरले निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित गुरुङले ६ हजार ११० मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी नेपाली (कांग्रेस)की गीताकुमारी गुरुङले चार हजार ६०८ मत प्राप्त गरिन्।
गाउँपालिकाकी निवर्तमान अध्यक्ष गीताकुमारी गुरुङ पुनः अध्यक्षका लागि लडेकी थिइन् । तर, उनी सफल हुन सकिनन्। उपाध्यक्षमा पनि एमालेकै माया सिलवाल पाँच हजार ३४४ मत ल्याएर निर्वाचित भइन्।
सिलवालले निकटतम प्रतिस्पर्धी नेकपा (मोआवादी केन्द्र)का प्रताप गुरुङलाई ३०० मत अन्तरले पराजित गरिन् । गुरुङले पाँच हजार ४४ मत प्राप्त गरेका हुन् ।
इच्छाकामनाका सात वडामध्ये एमालेले एक्लै पाँच वडा जित्यो भने माओवादी केन्द्र र कांग्रेसले एक/एक वडा जिते । इच्छाकामनामा १२ हजार ४ मत खसेको थियो ।































प्रतिक्रिया