कोरोनाका कारण कांग्रेस महाधिवेशन अन्योलमा

कोरोनाका कारण कांग्रेस महाधिवेशन अन्योलमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली कांग्रेसको आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा सम्पन्न गर्ने गरी तोकिएको १४ औं महाधिवेशन नहुनेमा नेताहरू एकमत जस्तै छन् । तर महाधिवेशनको मितिलाई लिएर नेताहरूबीच जुहारी सुरु भइसकेको छ। यसअघि दुई पटक संशोधन भइसकेको महाधिवेशन कार्यतालिका फेरि कोरोनाकै कारण प्रभावित बनेको छ। महाधिवेशनका लागि गर्नु पर्ने प्रारम्भिक कार्य संघीयता अनुसार संगठन समायोजन अधुरै छ । क्रियाशील सदस्यता वितरणको काम सुरु भएकै छैन ।

‘महामारीको स्वरूप कस्तो हुन्छ अहिले नै भन्न सकिने अवस्था छैन । १५ वटा जिल्लामा समायोजनको काम नसकिँदा उनीहरूले क्रियाशील सदस्यता प्राप्त गरेका छैनन्’, कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले भने, ‘बाँकी जिल्लामा पनि ५० प्रतिशत मात्रै क्रियाशील सदस्यता पुगेको छ।’

कार्यतालिका फेर्नु पर्ने आवश्यकता औंल्याउँदै नेता पौडेलले महाधिवेशन फागुन ७ मा हुन नसक्ने स्पष्ट पारे । ‘महाधिवेशन तोकिएको समयमा हुने सम्भावना कम छ, यो यथार्थलाई स्वीकार गर्दै नयाँ मिति तय गर्नेबारे अगाडि बढ्नुको विकल्प छैन’, जीपी कोइराला लोकतन्त्र संवर्धन केन्द्रले बिहीबार आयोजना गरेको वेविनारमा पौडेलले भने।

कांग्रेस केन्द्रीय सदस्य गगन थापा भने महाधिवेशनका लागि आवश्यक तयारी नै नभएको दाबी गर्छन् । कोरोनाकै कारण महाधिवेशनको मिति सार्ने हो भने अझै दुई वर्षमा पनि नहुने ठोकुवा गर्दै नेता थापाले समयमै महाधिवेशन गर्ने विकल्प सुझाए । ‘यही अवस्था हो भने फागुनमा त सम्भव छैन। यसमा बेकारको बहस मात्रै हो । म त जेठमा मात्र होइन भदौमा पनि सम्भव देख्दिनँ’, उनले भने, ‘जिल्ला अधिवेशनका लागि वडा र केन्द्रीय महाधिवेशनका लागि क्षेत्रमा मतदान गर्ने व्यवस्था गरौं। यसले भीडभाड पनि हुँदैन।’ नेता थापाले नेतृत्वको इच्छाशक्तिका कारण महाधिवेशनको कुनै तयारी अगाडि नबढेको दाबी गरे।

कांग्रेसले साउनभित्र क्रियाशील सदस्यता वितरणको काम सम्पन्न गर्ने र मंसिरसम्म सदस्यताको टुंगो लगाउने गरी कार्यतालिका प्रकाशित गरेको थियो । पुसमा स्थानीय अधिवेशन गर्ने र फागुनमा केन्द्रीय महाधिवेशन गर्ने गरी असारमा कार्यतालिका परिमार्जन गरेको थियो । साउनमा क्रियाशील सदस्यता अधिकांश जिल्लामा पुगे पनि कोरोना संक्रमण बढेपछि सरकारले जिल्ला जिल्लामा निषेधाज्ञा जारी गरेको छ।

यसका कारण महाधिवेशनका कार्यक्रम फेरि स्थगन भएका छन् । विधानतः चार वर्षमा महाधिवेशन सम्पन्न गर्नु पर्ने हो। तर असाधारण कारण महाधिवेशन सम्पन्न गर्न नसके एक वर्ष थप गर्न मिल्ने विधानको सुविधा अनुसार कांग्रेसले फागुनमा महाधिवेशन गर्नै पर्छ। थपिएको समयमा पनि महाधिवेशन हुन नसके संवैधानिक व्यवस्था अनुसार कांग्रेसले अर्को ६ महिनाको समय पाउनेछ। त्यो भनेको अर्को वर्ष भदौ हो।अन्नपूर्णबाट

Logo