खानेतेलको भन्सार शून्य र मूल्यअभिवृद्धि करमा ५० प्रतिशत छुट दिन नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले माग गरेको छ।
संघले कच्चा सोयाबिन तेल, कच्चा सूर्यमुखी तेल, कच्चा पाम र पामोलिन, तोरीको गेडा (रापसीड/कानोला), तोरीको गेडा (मस्टार्ड) मा भन्सार महशुल शून्य प्रतिशत हुनुपर्ने जनाएको हो।
नयाँ आर्थिक विधेयकको अनुसूची १ को दफा १४ को उपदफा (य)बाट कच्चा पदार्थको १० प्रतिशत भन्सार महशुलमा ५० प्रतिशत छुट दिइएको छ। ती वस्तुहरूको भन्सार महशुल हाल क्रमशः १०, १०, १०, ५, ५ प्रतिशत रहेको छ। उपभोक्ताहरू चरम महंगीमा परेकोले तयारी सामानभन्दा कच्चा पदार्थको कम्तीमा एक तह कमको भन्सार महशुल हुने नीति अवलम्बन गर्न पनि संघको माग छ।
यसबाहेक संघले भारतबाट अनधिकृत रुपमा आयात भइरहेको खानेतेल रोक्न समेत यसका कच्चा पदार्थमा शून्य भन्सार र मूल्यअभिवृद्धि करमा ५० प्रतिशत छुट दिन माग गरिएको संघको दाबी छ।
अहिले सबैजसो वनस्पति तेल उद्योगहरू संकटोन्मुख भई समस्याग्रस्त भएको र यसको शीघ्र समाधान नगरे उद्योगहरू नै बन्द हुने र समग्र अर्थतन्त्रमा प्रत्यक्ष असर पर्ने संघले जनाएको छ।































प्रतिक्रिया