केन्द्रबिन्दुको प्रस्तुति ट्रेन्डिङ एक्सप्रेसमा हामी चिया गफदेखि संसदसम्मका बहसका विषयमा चर्चा गर्दै आएका छौं । प्रस्तुत छ ट्रेन्डिङ विषयमाथिको चर्चा ।
१. प्रधानमन्त्रीअनुपस्थित भएकोप्रति संसदीय समितिको आपत्ति
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई बैठकमा अनुपस्थित हुनुको कारण सोध्ने निर्णय गरेको छ । समितिले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) र आसन्न अमेरिका भ्रमणबारे छलफल गर्न आइतबार बोलाएको थियो । तर अन्तिम समयमा प्राधनमन्त्रीको सचिवालयले बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएको थियो । समितिले प्रधानमन्त्रीलाई बैठकमा आउन नसक्नुको कारण जानकारी गराउन ध्यानाकर्षण गराउने निर्णय गरेको छ । समितिको उक्त निर्णयमा सत्तारुढ नेपाली कांग्रेसका सांसदहरुले भने आपत्ति जनाएका छन् ।
२. प्रेम आलेलाई कारबाही गर्न माग गर्दै संसद सचिवालयमा उजुरी
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमकुमार आलेलाई कारवाही गर्न माग गर्दै संघीय संसद सचिवालयमा उजुरी परेको छ। आलेले अश्लिल शब्द बोलेको र कर्मचारीलाई कार्यकक्षमै बोलाएर कुटपिट गरेको विषय सार्वजनिक भएपछि उनीविरुद्ध संसद सचिवालयमा उजुरी परेको हो । अधिवक्ता किशोर पौडेल, अनुपम भट्टराई र काठमाडौं स्कुल अफ ल मा कानुनकी विद्यार्थी रेजिना पौड्यालले मन्त्री आलेविरुद्ध उजुरी दिएका हुन्। मन्त्री आलेले यसअघि पनि भारतमा रहेका एक व्यक्तिलाई टेलिफोनमार्फत अश्लिल शब्द प्रयोग गरेको, धम्की दिएको घटनाहरु सार्वजनिक भएको र केही दिनअगाडि सोही प्रकृतिको सुन्नै नसक्ने शब्द प्रयोग भएको अडियो क्लिप सार्वजनिक भएकोमा त्यसबारे छानविन गरिनुपर्ने उजुरीमा उल्लेख छ ।
३. पटनाबाट दिल्ली जाँदै गरेको विमानमा आगलागी भएपछि आपतकालीन अवतरण
भारतको पटनाबाट दिल्ली जाँदै गरेको स्पाइस जेटको एक विमान आइतबारपटनामा आपतकालीन अवतरण गरिएको छ ।१८५ यात्रु सवार विमानकोइन्जिनमा चरा ठोकिकएपछि आगो लागेको थियो । विमानमा सवार सबै यात्रु सकुशल रहेका छन्। पाइलटले आगो लागेको इन्जिन बन्द गराएर विमानलाई सकुशल अवतरण गराएका थिए ।
४ .देशभरी फेरि लौरोको चर्चा
देशभरी फेरि लौरोको चर्चा भएको छ । स्थानीय चुनावमा बालेन साहले काठमाडौं र हर्कराज साम्पाङले धरानबाट मेयर पदमा चुनाव लड्दा लौरो चिन्ह लिएका थिए । यसले लौरोको चर्चा चुलिएको थियो । तर न त चुनाव चिह्न न कि टेक्ने, उपहारमा आएको लौरेले अहिले फरक चर्चा पाएको छ । यो लौरो चानचुने लौरौ हैन फेरि । सुनको लौरो हो । त्यो पनि बिदेशी राजकुमारले झापाका व्यवसायी दुर्गा प्रसाईंलाई ल्याइदिएको । ती विशिष्ट अतिथि हुन् संयुक्त अरब इमिरेट्स (यूएई)का अधिराजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम । शनिबार उनी काठमाडौं अवतरण गरेर सिधै झापा पुगे । श्री एयरलाइन्सको विमान नै चार्टर गरेर चन्द्रगढी विमानस्थल पुगेका शेख मोहमदलाई स्वागत गर्न दुर्गा प्रसाई पनि विमानको ढोकैसम्म पुगेका थिए ।
विमानबाट एक पछि अर्को गर्दै पाहुनाहरु ३५ डिग्री सेल्सियसमाथिको तापक्रम भएको चन्द्रगढी विमानस्थलमा जहाजबाट झरे । तर सुनको लौरे भने त्यहाँबाट झरेन । सुरु मै झरेका एक पाहुनाले फोटो सेसन सकिएपछि लौरो राखेको सानो बाकस नै बोकेर ल्याए । राजकुमार शेख मोहम्मद र प्रसाईले संयुक्त रुपमा बाकस खोले । अनि निस्कियो बडेमानको सुनको लौरो । जुन प्रसाईंलाई उपहार स्वरुप थियो । कालो चश्मा लगाएका दुर्गा प्रसाईं सञ्चारकर्मीलाई लौरो देखाउन थाले । छिनभरमा प्रसाईंको लौरो सामाजिक सन्जालमार्फत हिट बन्यो । सुनको लौरोको चर्चा अझैं सेलाएको छैन ।
के अधिराजकुमारले बिदेशबाटै सुनको लौरो उपहार दिन भन्दै ल्याएका थिए ?कि प्रसाईंले यहीँ बनाउन लगाएका हुन् । के लौरो सुनकै हो ? के लौरोमा सबै सक्कली सुन छ ? के उपहार दिने अधिराजकुमारसक्कली हुन् ? प्रश्नहरु सुरु भएका छन् ।
अधिराजकुमारनेपाल सरकारको कुनै पनि औपचारिक निमन्त्रणा बिना नेपाल भ्रमणमा आएका हुन् । उनले ल्याउने यस्तो उपहारबारे नत सरकार जानकार छ न कि भन्सार विभाग र प्रहरी नै । सुनको लौरोको नेपाल आयत नै अवैध देखिएको छ । सरकार वा राज्यका लागि ल्याएको सुनमा मात्रै भन्सार छुटको व्यवस्था छ । अन्यथा सरकारले लिन्छ र आवश्यक प्रक्रिया पूरा गरेपछि वैध देखिए छाड्छ । नत्र चिसो छिँडी उसको भाग्यमा । तर, व्यक्तिका लागि ल्याइने यस्ता उपहारमा भन्सार छुट छैन । उपहार पाउने व्यक्तिले पनि स्वघोषणामा उपहार घर लैजान पाउने व्यवस्था छैन । त्यसका लागि भंसार छुट तथा माफी मिनाहका लागि परराष्ट्र मन्त्रालय मार्फत पहल गर्नुपर्छ । मन्त्रिपरिषदको निर्णयको आधारमा दुर्गा प्रसाइँले भंसार छुट र माफि मिनाहको सुविधा पाउन सक्थे । तर, उनले उक्त कुनै पनि प्रक्रिया पूरा गरेका छैनन् । अर्को तर्फ अधिराजकुमारनै सक्कली हुन् कि हैनन् भनेर बहस पनि सुरु भएको छ । अधिराजकुमारले प्रसाईंलाई उपहार दिएको ‘सुनको लौरो’ बारे रहस्यको खोजी भइरहेको छ ।
अधिराजकुमारपूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेट्को सिटिस्क्यान उपकरण शुभारम्भ गर्न शनिबार झापा पुगेका हुन् । विर्तामोडस्थित विएण्डसी अस्पताल परिसरमै खुलेको क्यान्सर अस्पताल यसअघिबाटै संचालनमा आइसकेको छ ।अस्तपाल मेडिकल व्यवसायी दुर्गा प्रसाईँले संचालनमा ल्याएका हुन् । भीभीआईपीले यात्राको क्रममा विमानस्थलको विशिष्ट कक्ष प्रयोग गर्न पाउने सुविधा छ र तर मापदण्डविपरीतका वस्तु ओसारपसार गर्न नपाउने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जनाएको छ । भीभीआईपी आफैं जिम्मेवार व्यक्ति हुने भएकाले चेकजाँचमा सामान्य यात्रुसरह कडाइ हुँदैन तर लौरो कुन माध्यमबाट झापा पुग्यो भन्नेबारे विमानस्थलस्थित भन्सार कार्यालय अनविज्ञ छ । यस विषयमा भन्सार विभागले आन्तरिक रूपमा अनुसन्धान सुरु गरेको जनाएको छ ।
नेपालमा दुबईबाट सबैभन्दा बढीसुनको तस्करी हुने गरेको छ । त्यसमा दुबईस्थित उच्च घराना र नेपालका ठूला माफियाको मिलेमतो देखिने गरेको दर्लङ्ग छ । सामान्य नागरिकलाई २ तोला सुन लगाएर विमानस्थल आउँदा पक्राउ गरेर सुन तस्करीको मुद्दा लगाउने राजश्व अनुसन्धान विभाग, प्रहरी र भंसार विभागले युएइकाअधिराजकुमार र सुनको लौरो उपहारबारे कसरी अनुसन्धान गर्छ हेर्न बाँकी ।































प्रतिक्रिया