नेकपा एकीकृत समाजवादीको जेठ २२ गते बसेको सचिवालय बैठकले पार्टीका मन्त्री हेरफेर गर्ने निर्णय गरेको थियो ।
त्यही दिन उपमहासचिव विजय पौडेलले नयाँ मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका थिए । बहालवाला चार मन्त्री फिर्ता गर्न र एक राज्यमन्त्रीसहित पाँच जनालाई नियुक्त गर्न पार्टीले सिफारिस गरेको थियो। पार्टीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले,सहरी विकासमन्त्री रामकुमारी झाँक्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।
स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई भने बढुवा गरी मन्त्री बनाउने निर्णय गरेको थियो। यस्तै, जीवनराम श्रेष्ठ पर्यटन, मेटमणि चौधरी सहरी विकास, शेरबहादुर कुँवर श्रम र हीरा केसीलाई स्वास्थ्य राज्यमन्त्री बनाउन उसले प्रधानमन्त्रीलाई सिफारिस गरेको थियो । तर, १८ दिन बित्दा पनि कार्यान्वयन नभएपछि एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल रुष्ट छन्। मन्त्री हेरफेर नहुँदा उनी पार्टीभित्र दोहोरो चेपुवामा परेका छन् ।
एकातिर आफूलाई नहटाउन मन्त्रीहरूको ‘धम्की’ छ। अर्कोतिर पार्टीको निर्णय कार्यान्वयन गराउनुपर्ने ‘दबाब’ छ। प्रधानमन्त्री देउवाबाट ‘ग्रीन सिग्नल’ पाएपछि नेपालले बिहीबार बिहान पार्टी सचिवालयको बैठक बोलाए। बैठकमा मन्त्री हेरफेर गर्ने निर्णय कार्यान्वयनको एक मात्र एजेन्डामा छलफल भयो । बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले ठोकुवा गरे । ‘अब दिन होइन, केही घण्टामा मन्त्रिपरिषद् हेरफेर हुन्छ।’ तर यो एक्सप्रेस तयार पार्दासम्म २४ घण्टा बितिसक्यो, मन्त्रीहरु परिवर्तन भएनन् ।
पार्टीको बैठकपछि नेपाल प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका थिए। प्रवक्ता खतिवडाका अनुसार त्यस क्रममा देउवाले ‘दिउँसो गरौंला नि’ भन्ने जवाफ नेपाललाई दिए। नेपालपछि माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीसँग भेट गरे। नेपाल त्यसपछि फेरि बालुवाटार पुगे। देउवाले ‘साँझसम्म गरौंला’ भन्ने जवाफ फर्काए। तर, साँझ पनि प्रधानमन्त्रीले मन्त्रिपरिषद् हेरफेर नगरेपछि एकीकृत समाजवादीका नेताहरूले असन्तुष्टि जनाएका छन्। दाहालसँगको भेटपछि प्रधानमन्त्री ‘पछि हटेको’ हुन सक्ने अनुमान एकीकृत समाजवादी नेताले गरेका छन् ।
यसअघि देउवाले बजेट पारित भएपछि मन्त्रिपरिषद् हेरफेर गर्ने आश्वासन नेपाललाई दिएका थिए। प्रतिनिधिसभाबाट बजेट आश्रित विधेयकहरु पारित भइसकेपछि नेपालले प्रधानमन्त्रीमाथि दबाब बढाएका हुन्। तर, देउवा सकारात्मक बनेनन् । एकीकृत समाजवादीका मन्त्रीहरूले राष्ट्रियसभाबाट पनि बजेट पारित नहुँदासम्म पर्खिदिन प्रधानमन्त्रीसँग आग्रह गरेको बालुवाटार स्रोतले बतायो। जेठ २२ गते नै नाम सार्वजनिक भएपछि बधाई खाइसकेको भन्दै मन्त्रीमा प्रस्तावित नेताहरूले पार्टीको निर्णय तत्काल कार्यान्वयन हुनुपर्ने दबाब बढाएका छन् ।
माओवादी केन्द्र अध्यक्ष प्रचण्ड तत्काल मन्त्रिपरिषद हेरफेरको पक्षमा छैनन्। एकीकृत समाजवादीका मन्त्री हेरफेर भए त्यसको प्रत्यक्ष दबाब आफूमाथि पर्ने बुझाइ दाहालमा छ । माओवादीमा अर्थमन्त्री जनार्दन शर्मा तत्कालै परिवर्तन गर्नुपर्ने दबाब छ। दाहाल भने मन्त्री शर्मा हटाउने ‘मुडमा’ छैनन् । मन्त्री शर्माले बजेट निर्माणको मध्यराति अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करका दर तल–माथि गर्न लगाएका थिए ।
तर, माओवादीभित्र पनि कि अर्थमन्त्रीलाई हटाउनुपर्ने, नभए संसदीय छानबिन समिति गठन गर्नुपर्ने दबाब छ । अर्थमन्त्रीका विषयमा अध्यक्ष दाहालले ‘हुन्छ, गर्नुपर्छ’ भन्ने मात्रै जवाफ दिने गरेको नेताहरू बताउँछन् । पार्टीले मन्त्री फेर्ने निर्णय गरेपछि एकीकृत समाजवादीका मन्त्रीहरू प्रधानमन्त्री देउवादेखि माओवादी केन्द्र अध्यक्ष दाहाललाई गुहार्न थालेका छन् ।
पर्यटनमन्त्री आलेले बुधबार मात्रै दाहालसँग भेट गरी पार्टीले मन्त्री फेरे ‘१३ जना सांसदसहित विद्रोह गर्ने’ बताएका थिए । आलेले यसअघि पनि दाहाललाई भेटेर आफूहरूलाई मन्त्रीबाट नहटाउनका लागि नेपालसँग कुराकानी गरिदिन आग्रह गरेका थिए। आलेले मन्त्रीबाट हटाइए पार्टी फुटाउने चेतावनी प्रधानमन्त्री देउवालाई पनि दिएको बताइएको छ ।
एकीकृत समाजवादीका चारै जना मन्त्रीले बुधबार नेपाललाई भेटेर आफूहरूलाई नहटाउन दबाब दिए। मन्त्री झाक्रीले त नेपालको ‘अपमान’ हुने गरी धारणा राखेकी थिइन् । झाक्रीले ‘राम्रो काम गर्दागर्दै पनि मलाई हटाउने हो भने मेरा लागि पार्टी अध्यक्ष मरेतुल्य हो’, भनेर आक्रोश पोखेकी थिइन् । नेपालको निवासमा भएको उक्त भेटघाटमा मन्त्रीहरूले मर्यादा नाघेर भनाइ राखेको बताइएको छ ।
एकीकृत समाजवादीले ६ महिनाका लागि भन्दै असोज २२ गते ५ जना मन्त्री बनाएको थियो। तर, ८ महिनापछि मन्त्री परिवर्तन खोज्दा पनि पार्टीमा रडाको मच्चिएको छ । पार्टीले मन्त्रीबाट हटाउन सिफारिस गरेपछि पद जोगाउन सक्रिय पर्यटनमन्त्री आले महासचिव वेदुराम भुसालविरुद्ध खनिएका थिए । मन्दिर पुनर्निर्माणको शिलान्यास कार्यक्रममा जेठ २४ गते आलेले भुसाललाई अपमानजनक शब्द प्रयोग गरेका हुन् ।
एकीकृत समाजवादीको मन्त्री फेर्ने निर्णय कार्यान्वयनमा आए माओवादी भित्र पनि दबाब बढ्ने अनुमान सबैको छ । पार्टी भित्र पनि मन्त्री फेर्न दबाब सुरु भए थेग्न नसक्ने अनुमानका बीच नेकपा एकीकृत समाजवादीको निर्णय कार्यान्वयन हुन नदिन माओवादी अध्यक्ष दाहालसहितका नेताहरु नै सक्रिय रहेको गाईंगाईं गुईगुई खुमलटार तिर पनि चलेको छ ।































प्रतिक्रिया