धनकुटामा युवती बलात्कार आरोपमा सहिदभूमि गाउँपालिका-५ का वडाअध्यक्ष पक्राउ परेका छन् ।
२३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा वडा नं. ५ का वडाध्यक्ष ३८ वर्षीय सन्तोष राईलाई प्रहरी गएराति पक्राउ गरेको हो । पीडित महिलालाई आरोपित राईले शुक्रबार बलात्कार गरेको शनिबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि धनकुटा बजारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी चिरञ्जीवी दाहालले बताए । पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा गरिएको छ ।
राईले ती युवतीलाई तेह्रथुमको वसन्तपुरस्थित ताप्लेजुङ होटलमा पुर्याएर बन्धक बनाएर बलात्कार गरेको आरोप लागेको छ । धनकुटाको हिले घुम्न जाउँ भनि बोलाएर वसन्तपुर पुर्याइ होटलमै बन्धक बनाइ राखि बलात्कार गरेको पीडित पक्षले दिएको उजुरीमा उल्लेख छ ।
घटनास्थल तेह्रथुम भएकाले कारबाहीको प्रक्रियाको लागि तेह्रथुम प्रहरीलाई जिम्मा लगाउने प्रहरीले जनाएको छ । घटनाका आरोपित राई गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।































प्रतिक्रिया