निषेधाज्ञासँगै काठमाडौंमा तरकारीको मूल्य बढ्यो : मासु भन्दा गुन्द्रुक महंगो !

निषेधाज्ञासँगै काठमाडौंमा तरकारीको मूल्य बढ्यो : मासु भन्दा गुन्द्रुक महंगो !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

यतिबेला विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपाल पनि यो माहामारीको चपेटामा परेको छ । भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि साउन ७ गतेसम्म लकडाउन गरेको थियो । तर सरकारले लगाएको चार महिनाको लकडाउनका बेलामा समेत उपत्यका तथा अन्य स्थानहरुमा तरकारीको मूल्य सामान्य रहेको थियो । तर पछिल्लो एक महिनाको अवधिमा भने तरकारीको मूल्य दोब्बर भन्दा बढिले वृद्धि भएको छ ।

तीन सातादेखि काठमाडौं उपत्यकासहित देशैभर कोरोना संक्रमितको संख्या बढ्दै गएकाले विभिन्न स्थानमा पुनः लकडाउन तथा निषेधाज्ञा गरिएको छ । यसरी भाइरस रोकथामको लागि गरिएको निषेधाज्ञाको प्रभाव तरकारीमा समेत पर्न थालेको छ ।

यसरी सर्वसाधारणले दैनिकरुपमा उपभोग गर्ने तरकारीको मूल्य बढेको छ । अफ सिजन, बर्खाले तरकारी नष्ट गरेको, निषेधाज्ञाले आपूर्ति असजिलो भएको र कृत्रिम अभाव सिर्जना गरिएकाले तरकारीको मूल्य अचाक्ली बढेको हो । सरकारी तथ्यांक अनुसार एक महिनाकै अवधिमा तरकारीको भाउ २ सय ७८ प्रतिशतसम्म बढेको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार पछिल्लो दुई हप्ताको अवधिमा तरकारी आयात कम भएको र उत्पादन पनि कम भएकाले कालीमाटी होलसेल बजारमा पनि केहि तरकारीको मूल्य बढेको छ । उनले भने– ‘सरकारले कोरोना रोकथामको लागि उपत्यकामा निषेधाज्ञा लगाउँदा व्यापारमा केही तल माथि भएको छ । व्यवसायीहरुलाई खरिद गर्न समस्या भएकाले त्यही अनुसार खुद्रा व्यवसायीले आफ्नो तरकारीको मूल्य वृद्धि गरेको हुन सक्छ ।’

कालीमाटी तरकारी बजारमा सामान्य दिनमा दैनिक ६ देखि ७ लाख किलो तरकारी भित्रिने गरेको छ । तर निषेधाज्ञा लागू भएका दिनदेखि आधाले घटेको छ । तरकारी ल्याउने ठाउँमा पानी धेरै परेकाले तरकारी नष्ट हुने समस्या भएको र निषेधाज्ञाले आपूर्तिमा रोकतोक नभए पनि केही ठाउँमा झन्झटिलो हुँदा तरकारी कम भित्रिएको सूचना अधिकारी श्रेष्ठको भनाइ छ ।

कालीमाटी तरकारी बजारले उपत्यकाको ७० प्रतिशत माग तरकारीको पुर्‍याउने गरेको छ । तरकारी आयातमा कमी भएकाले पनि बजार मूल्य बढ्न थप मद्दत पुगेको छ । अहिले भारतबाट पनि हरियो सागसब्जी आएको छैन भने प्याज र आलु आईरहेको छ । समितिको तथ्यांकमा एक महिनाको अवधिमा सबैभन्दा बढी सानो गोलभेंडाको भाउ बढेको छ । साउन ९ गतेसम्म प्रतिकिलो २० रुपैयाँ (होलसेल) मा बिक्री भएको टनेल गोलभेंडाको मूल्य बढेर होलसेलमै ८० रुपैयाँ पुगेको छ । एक महिनाको अवधिमा मूल्य २ सय ७८ प्रतिशतले बढेको छ । सानो गोलभेंडाको प्रतिकिलो २ सय ४४ प्रतिशतले बढेर प्रतिकिलो ६२ रुपैयाँ पुगेको छ ।

धादिङ, नुवाकोट, काभ्रे, चितवन, मकवानपुर लगायत तराईका जिल्लाबाट उपत्यकामा तरकारी भित्रिने गर्छ । यी विभिन्न जिल्लाबाट आयात भएको तरकारी कालीमाटी, बल्खु, टुकुचा, कोटेश्वर लगायत अन्य विभिन्न तरकारी बजारमा बिक्री हुन्छ । अहिले होलसेलमै मूल्य बढेपछि खुद्रा पसलमा मनपरी रुपमा मूल्यमा बिक्री भइरहेको छ भने ठाउँ नै पिच्छे खुद्रा व्यापारीले दोब्बरले तरकारीको मूल्य बढाएका छन् ।

तर, यता नियामक निकायहरु स्थानीय तहहरु र सरकारी निकायहरूले प्रभावकारी रूपमा अनुगमन नगर्दा व्यवसायीले मनोमानी रुपमा तरकारी तथा फलफूलको मूल्य बढाउने गरेको उपभोक्ताकर्मीहरूले बताएका छन् । निषेधाज्ञाले व्यवसायीहरुलाई मूल्य बढाउन ठूलो बाहाना भएको राष्ट्रिय उपभोक्ता हित सरंक्षण मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए ।

उनका अनुसार अहिले बजारमा उपभोक्ताले महंगिको भार खेपिरहेका छन् । बजारका व्यवसायी सरकार र वास्तविक सरकार चाहिँ व्यवसायी जस्तो भएको छ । यो लकडाउन तथा निषेधाज्ञा एउटा मूल्य बढाउने बाहाना मात्रै भएको छ । उनले भने, बजार व्यवस्थापन तथा अनुगमन कमजोर भएकाले व्यवसायीले आफ्नो मनलाग्दी गरेका छन् । यसको लागि स्थानीय तहहरु पनि एउटा वाणिज्य विभागको मात्रै भर नपरेर आफैं पाएको अधिकार प्रयोग गरेर बजार अनुगमन गर्नु पर्छ ।

यति ठूलो महामारीको अवस्थामा पनि व्यवसायीले आफ्नो धर्म निभाएनन्, सरकारले पनि बजारमा बाक्लो उपस्थिती देखाउन सकेन । अनुगमन प्रभावकारी पनि नगरेको उनको भनाइ छ । बजार अनुगमन र मूल्य नियन्त्रण गर्ने दायित्व वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको हो । मुलुक संघीय संरचनासँगै बजार अनुगमनको दायित्व स्थानीय तहलाई पनि जिम्मा दिइएको छ । वाणिज्यले केही क्षेत्रमा अनुगमन गरे पनि स्थानीय निकायबाट अनुगमन भने भएको छैन । निषेधाज्ञाका क्रममा व्यवसायीहरूले मूल्यवृद्धि गरे जिल्ला प्रशासन कार्यालयले पनि कारबाही गर्ने जनाएको थियो । तर, यी निकायबाट बजार अनुगमन हुन सकेको छैन ।

अहिले सबै तिरको दबाबले वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले कालिमाटी, बल्खु तथा अन्य तरकारी बजारमा काठमाडौं महानगरले समेत अनुगमन तिब्र बनाएको जनाएको छ । मूल्य नियन्त्रण नहुन्जेल कोटेश्वर, चाबहिल, बानेश्वर, महाराजगन्ज, बूढानीलकण्ठ, बालाजु र कलंकी लगायतका क्षेत्रमा ३,४ वटा छुट्टाछुट्टै टोली अनुगमनमा खटिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिएका छन् ।

उनका अनुसार एक साताको भन्दा अहिले बजारमा मूल्य नियन्त्रण भएको र अब केही दिनमा नै पहिलेको अवस्था आउने छ। अहिले कालीमाटी होलसेल बजारमा २२ रुपैयाँमा बेचेको करेला खुद्रा बजारमा ८० रुपैयाँ, गोलभेंडा १०० रुपैयाँ, आलु २०० रुपैयाँ पुगेको छ। अन्य प्याज, काउली, बोडी, रायोको साग, भिन्डी पनि उत्तिकै महँगो भएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार समितिको तथ्यांक अनुसार एक महिना अघि प्रतिकिलो ८८ रुपैंयाँ, पर्ने परबर बढेर ९५ रुपैंयाँ, किलोको २८ रुपैंयाँ पर्ने फर्सी ३८ रुपैंयाँ, किलोको ५८ रुपैंयाँ पर्ने भिन्डी ६५ रुपैंयाँ, किलोको १ सय १५ रुपैंयाँ पर्ने हरियो प्याज १ सय ४५ रुपैयाँ, ४५ रुपैंयाँ पर्ने हरियो खुर्सानी ९८ रुपैंयाँ पुगेको छ ।

नेपाल कृषि प्रधान देश भनिए पनि तरकारी समेत अरु देशसँग निर्भर पर्नु पर्ने भएको छ । सरकारले भारतबाट वार्षिक १५ अर्ब भन्दा बढी तरकारी आयात गर्ने गरेको छ । अघिल्लो आर्थिक वर्ष ०७५,७६ मा १५ अर्ब १३ करोड रुपैयाँको तरकारी आयात भएको थियो भने गत आर्थिक वर्ष ०७६,७७ मा १४ अर्ब ८५ करोड रुपैंयाँको आयात भएको थियो । अघिल्लो आर्थिक वर्षमा भन्दा गत वर्ष केही तरकारी आयात घटेको थियो ।

ब्रोइलर कुखुराको मासु भन्दा गुन्द्रुक सस्तो

केहि दिनदेखि काठमाडौं उपत्यकामा कुखुराको मासु गुन्द्रुक भन्दा पनि सस्तो भएको छ । अहिले काठमाडौं उपत्यकामा ब्रोइलर कुखुराको मासु प्रतिकिलो २४० देखि २६० रुपैंयाँ सम्ममा कारोबार भइरहेको छ तर कालीमाटी फलफूल तथा तरकारी विकास समितिको मूल्य अनुसार गुन्द्रुकको अधिकतम मूल्य प्रतिकिलो ३०० रुपैयाँ छ। यो मूल्य अनुसार कुखुराको मासु गुन्द्रुक भन्दा ४० रुपैंयाँले सस्तो भएको छ।

नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार यो सातामा तीन पटकसम्म मूल्य घटेको छ । मूल्य घटे पनि मासुको बिक्री नबढेपछि किसानहरु चिन्तित भएको संघले जनाएको छ ।

पहिलो लकडाउनमा आयातमा समस्या तथा खपत कम हुँदा कुखुराको मासु सस्तो भएको थियो । मासुको खपत घट्दा कुखुरापालक किसानले खोरमा कुखुरा नहालेकाले बजारमा मासु अभाव भएर ४ सय २० रुपैंयाँ सम्म पुगेको थियो । पछिल्लो दुई महिनादेखि बजार सामान्य भएर होटलहरु सञ्चालनमा आएकाले मासुको खपत बढ्ने र कुखुरा उत्पादन पनि बढेकाले कुखुराको मासुको मूल्य घटेको पोल्ट्री संघका अध्यक्ष जगबहादुर बिसीले बताए ।

उनका अनुसार बजारमा पछिल्लो केही दिनदेखि जिउदो कुखुरा आउन थालेको तथा कृषकका कुखुरा पनि मासुको लागी तयार भएको र उपत्यकामा मासुको खपत ७० प्रतिशतले घटेको छ ।

जिउदो कुखुरा र मासुको मूल्य बढ्न थालेपछि कतिपय किसान र फर्महरुले चल्ला हाल्न थालेका थिए । यति बेला उक्त उत्पादन आउन थालेपछि मूल्य घटेको उनको भनाइ छ । निषेधाज्ञाले गर्दा मासुको खपत कम भएको हो । सामान्य अवस्थामा काठमाडौं उपत्यकामा तीन लाख किलो मासुको माग हुने गरेको संघले जनाएको छ । तर, अहिले मासुको माग एकदमै कम भएको संघले जनाएको छ।

फलफूलको मूल्यमा बृद्वि

पछिल्लो दुई सातादेखि तरकारीसँगै फलफूलको मूल्यमा पनि अचाक्ली बृद्वी भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार सबैभन्दा बढी स्याउको मूल्य बढेको छ । दुई साता अगाडि प्रतिकिलो १२० रुपैयाँ रहेकोमा अहिले बढेर १ सय ५५ रुपैयाँ पुगेको छ । स्याउ स्वदेशमा पर्याप्त उत्पादन नहुँदा आयातमै निर्भर हुनु पर्ने बाध्यता छ ।

एक महिनाको अवधिमा प्रतिकिलो अनार ३४ प्रतिशतले बढेर १ सय ९५ रुपैयाँ पुगेको छ । तरबुजा हरियो किलोको १२ प्रतिशतले बढेर ४८ रुपैयाँ, मेवा किलोमा २७ प्रतिशतले बढेर ९५ रुपैयाँ पुगेको छ ।

Skip This
Skip This
Logo