छानो एउटै, कथाव्यथा फरक

छानो एउटै, कथाव्यथा फरक

केन्द्रबिन्दु
3
Shares

संसार विचित्र छ । कतिबेला के हुन्छ कसैलाई केही थाहा नै हुँदैन ।

कहिले धेरै खुशी भएकाहरु पनि एकदिन अवश्य रुनुपर्छ अनि दुःखी हुनेहरुका लागि पनि खुशी हुने दिन अवश्य आउछ भनेर पुर्खाहरुले भन्दै आएका छन । यो कुरा सुन्दा हो जस्तो पनि लाग्छ । यो संसारमा कोही छोराछाेरी भएर पनि आफ्ना बा आमालाई दुःख दिइरहेका हुन्छन् । उनीहरुले आफ्ना बा आमालाई दिने समय नभएर वा देख्न नसकेर वृद्धाश्रममा छोडिदिन्छन् । अनि कोही भने आफ्ना आफन्त वा छोराछोरी कोही नभएर मन बुझाउनका लागि वृद्धाश्रमको बाटो रोज्न तयार हुन्छन् ।  जति छोराछोरी भएपनि के गर्ने भन्दै उनीहरुको दुःख लुकाउने ठाउँ त्यही वृद्धाश्रम बन्छ । चाडबाडको बेलामा घर वा छोराछोरी सम्झेर उनीहरुका आँखा नरसाउने पनि हैनन् ।

जति छोराछोरी भएपनि के गर्ने भन्दै उनीहरुको दुःख लुकाउने ठाउँ त्यही वृद्धाश्रम बन्छ । चाडबाडको बेलामा घर वा छोराछोरी सम्झेर उनीहरुका आँखा नरसाउने पनि हैनन् ।

तर कोही नभएकाहरु चाहिँ आफ्नो मन बुझाएर बसिरहेका हुन्छन् । उनीहरु आफ्ना मनमा लागेका कुराहरु एकअर्कालाई सुनाउँदै बस्छन ।  सरकारले अशक्त अपागं तथा वृद्धबृद्धाहरुलाई पशुपतिमा समाज कल्याण केन्द्र वृद्धाआश्रमको व्यवस्था गरेको छ । आज हामीले विभिन्न आरोह–अवरोहका बिच वृद्धाश्रमको जिन्दगी बिताइरहेका केही प्रतिनिधी पात्रहरुको जिवन विश्वासलाई प्रस्तुत गर्ने कोशिस गरेका छौ ।

सीता कार्की


१२ बर्षकै उमेरमा विवाह भयो । १६ वर्षको उमेरमा छोराको जन्म भयो । त्यसको केही बर्षपछि छोरीको जन्म भयो । उनका श्रीमान सिन्धुलीमा काम गर्थे । सीता घर सम्हाल्थिन् । जिन्दगी हाँसीखुसी बितिरहेकै थियो । समय बित्दै जाँदा उनका श्रीमानले सौता भित्र्याए । उनी छाँगाबाट खसेजस्तै भइन् । टिलपिल आँखामा आँशु राख्दै भन्छिन्, ‘ खै मसँग के कुरामा चित्त बुझेन कुन्नी उहाँले त एकदिन ममाथी सौता पो हाल्नु भयो ।

समय बित्दै जाँदा उनका श्रीमानले सौता भित्र्याए । उनी छाँगाबाट खसेजस्तै भइन् । टिलपिल आँखामा आँशु राख्दै भन्छिन्, ‘ खै मसँग के कुरामा चित्त बुझेन कुन्नी उहाँले त एकदिन ममाथी सौता पो हाल्नु भयो ।

त्यो पिडा सहन नसकेर छोरा छोरीलाई त्यहीँ छाडेर माइत गएँ । त्यसपछि फेरी कहिल्यै पनि घर फर्किन मनले मानेन । उहाँले छोराछोरीलाई पढाइदिनु भयो ।

विवाह गरिदिनुभयो । छोरो त कुन्नी के मा हो जागिरे भएको छ रे । छोरीलाई पनि राम्रै कुटुम्ब हेरेर दिएका छन् रे ।’ यति कुरा भन्दा उनका आँखा आँसुले भरिएका थिए । तर फेरी उनी नमिलेको हाँसो हाँस्दै उनका परिवार सबै खुशी भएको कुरा सुनाउँछिन् । ‘ भन्छिन्, म पो एक्लै भए त, तर मेरो श्रीमान अरुको साथमा खुसी नै हुनुहुन्छ । यस अर्थमा म खुसी छु । ’ अव्यक्त भावमा उनले भनिन् । 

सीता अहिले ७० वर्षकी भइन् । उनी पशुपति धर्मशालामा बसेको पनि १० वर्ष भइसक्यो, तर उनलाई यो समयसम्म कोही भेट्न आएको छैन । उनलाई यो ठाउँमा उनका भदाले ल्याएर राखिदिएका हुन् । उनले वृद्धाश्रममा आफुलाई नलैजान अनेक याचना गरिन, अन्त्यमा उनीहरुकै जित भयो । अनेक अव्यक्त पिडा मिश्रीत जिन्दगीका कथाबिच जीवनको उत्तरार्ध बितिरहेको छ ।

 

लक्ष्मी देवि थापा


लक्ष्मी थापा अहिले ९९ वर्षकी भईन् । वि.सं १९९० सालको भुकम्पमा आमाबुवा सहित उनको सम्पूर्ण परिवारको निधन भयो । त्यसपछिको जीवन अरुको घरमा काम गर्दै बिताएकी उनले कहिल्यै विवाह गरिनन् । जन्मस्थान सिन्धुलीबाट काठमाडौंको पुरानो बानेश्वरमा बस्दै आएकी उनी गलबन्दी, टोपी बुनेर बेच्ने काम गर्थिन् । एक्लो जीवन व्यतित गर्न गाह्रो भएपछि ७० बर्षको उमेरमा उनी पशुपतिस्थित वृद्धाश्रम आएर बसिन् । उनी दिनभरी त्यहाँ बसेर दिन कटाउन धागोबाट विभिन्न कुराहरु बुन्छिन्  । 

कोही आफ्नो मानेर भेट्न आए भने उपहार स्वरुप त्यही धागोले बुनेका सामाग्री उपहार दिन्छिन् ।  

इन्द्र महर्जन


चावहिलकी इन्द्र महर्जन अहिले ७४ वर्षकी भइन् । उनी त्यहाँ आएर बस्न थालेको १० वर्ष भैसक्यो । सामान्य जीवन चलिरहेकै थियो । उनको कोखबाट छोरीको जन्म पनि भयो तर दूर्भाग्यवश जब छोरी ४ वर्षकी भइन् तब उनका श्रीमानको आकस्मिक निधन भयो ।  त्यो दिन सम्झिदा अझै पनि उनका आँखा रसाउँछन् ।

उनले छोरीलाइ दुःख गरेर हुर्काइन् । विवाह पनि गरिदिइन् । जव बुढेसकाल लाग्न थाल्यो तब उनले पनि वृद्धाआश्रमको बाटो रोजिन् । भन्छिन्, ‘ हामी चावहिलमा काम गरेर बसिरहेका थियौँ । दुःख सुख गरेर जीवन कटाइरहेका थियौँ । तर छोरी ४ वर्षकी हुँदा नै उहाँ बित्नुभयो । मैले छोरीलाई पढाए । यहीँ कोटेश्वरमा विवाह गरेकी छे अहिले । मलाई आउनु मेरो घरमा म पाल्छु भन्थी तर मलाई अरुको घरमा बस्न मन लाग्दैन थियो । यहाँ आएर बसिरहेकी छु अहिले । छोरी कहिले काँही भेट्न आउछे । चाडबाडको बेलामा छोरीलाई सम्झेर मन कटक्क खान्छ  तर पनि चित्त बुझाउनै पर्यो । ’ 

कृष्णकुमारी जमकोट 


धादिङ घर भएकी कृष्णकुमारी ३ वर्ष अगाडीमात्र आश्रममा आएकी हुन् । अहिले उनी ९० वर्षकी भइन् । घरमा कोही नभएपछि के एक्लै बस्नु भनेर उनी पनि त्यहाँ खाएर अरुसँगै बस्न थालिन् । उनको परिवारमा उनी एक्ली हुन् । न त उनका सन्तान छन् न त श्रीमान् नै । श्रीमानकोे केही वर्ष अगाडी मृत्यु भयो भएपछि उनी एक्ली भइन् । धर्मकर्ममा रुची राख्ने उनले पशुपतिमा ३ पटक लाख बत्ति बालिसकेकी छिन् ।

भन्छिन्, ‘म यहाँ आएको ३ वर्ष मात्र भयो  । श्रीमान् बितेपछि एक्लै बसेकी थिएँ । ५ जना छोराहरु जन्मिएका थिए तर कुनै बाँचेनन् । त्यसपछि हामी २ जना मात्र थियौँ । उहाँ बितिहाल्नुभयो, म एक्लै भएँ । एक्लै भएपछि के त्यहीँ बसिरहनु भनेर यहाँ आएकी हुँ । पहिला पहिला त धेरै बत्ति कात्थेँ । बत्ति कातेर ३ पटक पशुपतिमा लाख बत्ति बालेँ, अहिले त बुढी भएर आँखा देख्दिन । मेरो पनि छिट्टै काल आउँछ होला अब त । ’

पहिला पहिला त धेरै बत्ति कात्थेँ । बत्ति कातेर ३ पटक पशुपतिमा लाख बत्ति बालेँ, अहिले त बुढी भएर आँखा देख्दिन । मेरो पनि छिट्टै काल आउँछ होला अब त । ’

 यति मात्र होइन । यिनीहरुजस्ता थुप्रै आफ्ना कथा व्यथा भएका मानिस छन् वृद्धाश्रममा । बोल्न नसक्ने, हिड्न नसक्ने ,सुन्न नसक्ने अनि देख्न नसक्ने । अनेकन रोग,शोक तथा पिडा बोकेका वृद्धवृद्धाको आश्रय बनेको छ वृद्धाश्रम । रोगि वृद्धवृद्धाहरुलाई निःशुल्क स्वास्थ्य परिक्षण तथा उपचार गर्दै आइरहेको पनि छ वृद्धाश्रम । वृद्धाश्रम आफै जीवन भोगाइहरुको एक केन्द्र पनि हो । विभिन्न फरक परिस्थिति र बाध्यताले एकिकृत भएका यी पात्रहरुको जीवन विश्वासलाई समाजका नवपिडीहरुले आत्मसाथ गर्न सके जीवन जीउन थप हौसला प्राप्त हुनेछ ।

Skip This
Skip This
Logo