गृहमन्त्री बालकृष्ण खाणले संविधानमा भएको प्रावधानहरुको आधारशिलामा उभिएर नै सरकारले नागरिकता सम्बन्धी विधेयक ल्याएको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री खाणले संविधानको भावना अनुसार नै नागरिकता विधेयक ल्याइएको दाबी गरे ।
उनले यसअघि २ वर्ष लगाएर राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले पास गरेको विधेयकको जगमा अहिलेको विधेयक बनेको उल्लेख गरे । मन्त्री खाँणले केपी ओली सरकारले परिस्थिति बस अध्यादेश ल्याएको तर सर्वोच्च अदालतले सदनमा फर्काइदिएको स्मरण गराउँदै अदालतको फैसला र अघिल्लो विधेयकको आधारमा अहिलेको विधेयक ल्याइएको बताए । अघिल्लो विधेयकमा रहेका महत्वपूर्ण विषयवस्तु अहिलेको विधेयकमा समावेश गरिएको उनको भनाई छ ।
परिस्थितिका कारण सरकारले विधेयक अघि बढाएको र त्यसबारेमा सांसदहरुले समान धारणा राखेको उनले बताए । उनले भने –‘कुनै पनि गैर नेपालीले नागरिकता नपाओस्, नेपाली नागरिक नागरिकताबाट बञ्चित नहोस्, कुनै पनि नेपालीलाई नागरिकताबाट बञ्चित गरिनेछैन भन्ने संविधानको अवधारणा रहेको छ । त्यसै अवधारणामा उभिएर नै यो विधेयक बनाइएको छ ।’
यसअघि प्रतिनिधिसभा अन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिमा २२ महिनामा ३४ वटा बैठक बसेर नागरिकतासम्बन्धी विधेयक पास भएको थियो । सो विधेयकलाई लत्याउँदै सरकारले अर्को विधेयक संसदमा प्रस्तुत गरेको हो ।





























प्रतिक्रिया