काठमाडौं ।
०७७ साल भदौ १२ गतेको त्यो साँझ नेपाली संगीत बजारले एउटा नयाँ अनि उत्कृष्ट प्रतिभा प्राप्त गरेको साँझ । त्यो प्रतिभाको नाम हो सज्जा चौलागाईं । थुप्रै प्रतिस्पर्धीहरूलाई पछि पार्दै फ्रेन्साइच शो नेपाल आइडल सिजन–३ का उत्कृष्ट तीनमा पर्न सफल प्रतिस्पर्धीहरू प्रविण बेडुवाल, किरण कुमार भुजेल अनि सज्जा चौलागाईं आफैंमा दह्रिला अनि प्रतिभावान प्रतियोगिहरू हुन् । तथापि, सज्जाले नै यस सिजनको उपाधी आफ्नो पोल्टामा पारिन् । प्रविण बेडुवाल प्रतियोगिताको फस्ट रनअरअप घोषित भए भने, अर्का प्रतियोगी किरण कुमार भुजेलले सकेण्ड रनरअपमै चित्त बुझाए । प्रतिस्पार्धाको त्यो महासंग्राममा यी तिनै प्रतिस्पर्धी आ–आफ्ना विधा र गायकीका हिसाबमा अब्बल मानिदा मानिदै पनि चर्चा भने उपाधी जित्न सफल सज्जाकै चुलिएको छ । अर्कातर्फ फ्रेन्चाइच गायन रियालिटी शोतर्फ पहिलो पटक उपाधी हात पार्ने महिला प्रतिस्पर्धीका रूपमा पनि आफ्नो नाम दर्ता गराउन सज्जा सफल भएकी छिन् । त्यसैले पनि हुनुपर्छ सामाजिक सञ्जाल उनै सञ्जालाई बधाई दिन व्यस्त छ ।
भिडियाे
मोरङ पथरी–९ स्थायी घर भई काठमाडौंको नारायणटारमा जन्मिएकी सज्जा चौलागाईं नेपाल आइडलकी उत्कृष्ट प्रतियोगी मध्ये एकका रूपमा चिनिदै आएकी थिइन् । नेपाल आइडलमा छनोट भएसँगै उनको रक पप र भर्सटायल गायकीको चर्चा निकै चुलियो । बोल्ड प्रस्तुति अनि बोल्ड गायन सज्जाको सफलताको कडि थियो र उनी हरेक एपिसोडमा प्रशंसा योग्य बनिन् ।
विद्यालयस्तरबाटै गायनमा रुचि राख्ने सज्जाले कक्षा ८ मा पढ्दै गर्दा विद्यालय स्तरिय गायन प्रतियोगितामा पहिलो स्थान हासिल गरेकी थिइन् । मोरङको पथरीबाट काठमाडौं आएका सज्जाका बुबा आमाको आफ्नै कथा छ । सन्तानको सुखका लागि सज्जाका बुबा टंकबहादुर चौलागाईं ऊ बेला, मलेसिया हान्निएका थिए तर विरामी भएर फर्कन बाध्य भए । पुनः उनकी आमा गीता चौलागाईं, रोजगारीकै लागि साइप्रस लागिन् । यो दौरानमा सज्जाको सारथी भने उनको एक्लो भाई सविन चौलागाईं थिए । उही भाइसँग सज्जाको बाल्यकाल बित्यो । यस अर्थमा सज्जाको बाल्यकाल केही फरक अनुभूतिका साथ वितेको थियो ।
त्यसो त सज्जाको गायनयात्राले मूर्तरुप लिएको यहीं नेपाल आइडलको मञ्चबाट मात्र भने होइन । ठमेल, दरबारमार्ग कमलपोखरी क्षेत्रमा रहेका लाउन्जहरूमा उनी हरेक साँझ गुञ्जिने गर्थिन् । लाइभ प्रस्तुतिमा हराउने गर्थिन् । ‘दी लोडिङ’ नामक ब्यान्डसँग समेत आवद्ध सज्जाले गायनमा करियर बनाउँन कम मिहेनत गरेकी छैनन् । यो ब्याण्ड सज्जाले एसएलसी पास गरेर साथीहरूसँग मिलेर खोलेकी थिइन् । उनीहरूले यही ब्याण्डबाट आफ्नो गायन यात्रालाई केही फराकिलो बनाएका थिए ।
सज्जाको गायन यात्रा उनको प्लस टू अध्ययन पश्चात झनै वृहत बन्यो । उनलाई विभिन्न स्टेजबाट समेत गायनका लागि निम्तो आउन थाल्यो । यसले उनलाई दर्शक स्रोतामाझ त चिनायो नै उनी गायन करियरमा पनि व्यस्त बनिन् । अर्कातर्फ सज्जाले विभिन्न रेष्टुरेन्ट तथा लाउन्जमा लाइभ गाउनेसँगै अध्ययनलाई पनि निरन्तरता दिदैं गइन् ।
सज्जा चौलागाईं, जसको गायनमा करियर बनाउने सपना अनि निर्णय उनको एक्लो थिएन । उनका बुबाआमा दुवै जनाले भविष्यमा गायक गायिका बन्ने सपना बुनेका थिए । तर उनीहरूको सपना छोरी सज्जा अर्थात् नयाँ पुस्ताले पूरा गरिदिएकी छन् । आज सज्जाको यो प्रयास अनि प्रगतिप्रति पनि उनका बुबाआमा निकै खुसी छन् ।
हुनत सुरुमा डिजाइनर बन्ने सपना बोकेकी सज्जा समयसँगै सांगीतिक माहोलतर्फ उन्मुख भइन् । गीत संगीतले उनलाई पछ्याइरह्यो र उसैगरि उनले पनि गीत संगीतको बाटोमा पाइला चालि रहिन् । पछि आएर नेपाल आइडलको स्टेजले उनलाई तान्यो र आज गायन अनि सांगीतिक जगतमा उनको उपस्थिती अलगधार सहित स्थापित हुन पुगेको छ ।
निडर स्वभावकी उनी नेपाल आइडलमा अरूले गाएको सुन्दा यत्तिको त म पनि गाउन सक्छु भन्ने आँट जुटाउँथिन् । अझ गायक सविन राईका गीतहरूमा खुब इन्जोए गर्ने सज्जा उनै राईकी डाइहार्ट फ्यान बनेकी थिइन् । त्यसैले हुनुपर्छ सज्जाले नेपाल आइडल सिजन ३ को अडिसनमा पनि उनै सविन राईको गीत ‘तिमी नै होउ’ बोलको गीत गाएर निर्णाकहरूको मन जित्न सफल भएकी थिइन् ।
अचम्म लाग्दो विषय त के छ भने, गायनमा उत्कृष्ट कला हुँदा हुँदै पनि सज्जा एक ताका विदेशको चक्करमा थिइन् । उनले नेपाल आइडलको सिजन ३ सुरु हुन ७/८ महिना अघि अध्ययनका लागि माल्टा जान भनेर भिसा समेत एप्लाई गरेकी थिइन् । तर, भाग्य नै मान्नु पर्छ सज्जाको लागि त्यतिका समय भिसा लागेन । त्यही भिसा नलाग्नाले आज नेपाली गायन क्षेत्रमा एक आशालाग्दो नक्षत्रका रुपमा सज्जा उदाएकी छिन् । नेपाल आइडल सिजन ३ को उपाधी उचाल्दै लाखौं दर्शक स्रोताको मन मश्तिस्कमा गुञ्जिरहन उनी सक्षम भएकी छिन् ।
सज्जाको जीवनको रमाइलो किस्सा त के छ भने, उनले करियरमा पहिलो पटक फ्लेवर्स रेस्टुरेन्ट तारागाउँमा गाएकी थिइन् । जतिबेला, पारिश्रमिकका नाममा उनले पाँच सय रुपैयाँ पाएकी थिइन् । त्यसयता उनले गायनबाटै कति कमाइन् त्यो आफ्नै ठाउँमा छ, तर आज आएर उनले नेपाल आईडलको उपाधी उचाल्दै रु ५० लाख हात पारेकी छिन् । हिजो आर्थिक अभावमा पिरोलिएको सज्जाको परिवारमा आज छोरीको सफलता, लोकप्रियता प्रतिष्ठा अनि प्राप्त पुरस्कारले पनि नयाँ आयाम थपिदिएको छ ।
अब, नेपाली गायन क्षेत्रमा एक नयाँ प्रतिाभाको उदय त भएकै छ, तर प्रतिभा आफैंमा भने चलायमान हुने होइन, यो त स्वयं व्यक्तिमा भर पर्ने विषय हो । त्यसैले अब नेपाली सांगीतिक बजारमा सज्जा स्वयंको उपस्थिति, प्रस्तुती अनि सृजनशिलता नै अबको उनको यात्रा तय गर्ने शुत्र हो । यस्ता धेरै प्रतिभाहरू छन् जसले विभिन्न रियालिटी शोको स्टेज तताए, उपाधी उठाए र समयसँगै ओइलाएर गए । विभिन्न रियालिटी शोको स्टेज तताएर उपाधी उचाल्नेहरूको फेहरिस्त पल्टाउने हो भने निकै लामो छ, अनि गुमनाम हुने विजेताहरूको सूची पनि कम छैन । त्यसैले सज्जाको अबको यात्रा झनै फक्रिएर जाने हो या ओइलाउने जाने हो त्यो भने समयले भन्नेछ ।





























प्रतिक्रिया