पर्यटन क्षेत्रको विकासका लागि सरकार गम्भीर छ :पर्यटनमन्त्री श्रेष्ठ

पर्यटन क्षेत्रको विकासका लागि सरकार गम्भीर छ :पर्यटनमन्त्री श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रमा देखिएका विकृतिलाई सरकार र निजी क्षेत्र मिलेर नियन्त्रण गर्न आवश्यक रहेको बताए ।  

आज सोमवार पर्यटन मन्त्रालयमा भएको सरोकारवाला निकायसँग पर्यटन क्षेत्रको पुनरुत्थानबारेको अन्तरक्रियामा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले पर्यटन क्षेत्रमा विभिन्न विकृति बढ्दै गएको गुनासो आउने गरेको भन्दै निजी क्षेत्रसँग हातेमालो गरेर त्यसलाई नियन्त्रण गर्ने योजना रहेको बताए ।  

मन्त्री श्रेष्ठले आफू लामो समय बस्ने मन्त्री नभएको भन्दै ऐन, कानुन निर्माण गर्न भने लागिपर्ने बताए । उनले भने, ‘कोरोना महामारीबाट प्रभावित पर्यटन क्षेत्रको विकासका लागि तत्काल गर्न सकिने, मध्यकालमा गर्नुपर्ने र दीर्घकालमा गर्नुपर्ने काम हेरेर गर्नेछौँ । म लामो समय बस्ने मन्त्री होइन । तर सुरुवात गरेपछि भोलि निरन्तरता पाउँछ र एउटा निष्कर्ष निस्कन्छ । सुरु नै भएन भने अगाडि बढ्दैन ।’

कार्यक्रममा ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले पर्यटन बोर्डले नेपालको पर्यटन क्षेत्रका सबै प्याकेजलाई अनलाइन प्रणालीमार्फत प्रचारप्रसार गर्ने सुझाव दिए । 

उनले ट्राभल एजेन्सीमार्फत पर्यटन गन्तव्यहरूको ब्रोसरहरु बोकेर, हवाई उडानमा खर्च गरेर अहिलेको आधुनिक र प्रविधिको समयमा जानुपर्ने उपयुक्त नहुने दाबी गरे । अध्यक्ष सुवेदीले विदेशी पर्यटक नेपाल आएर नेपालका पर्वतीय र पदयात्रा जाँदा ट्रेकिङ कम्पनीहरूको माध्यमबाट मात्रै पर्वतीय र पदयात्रा सञ्चालन हुनुपर्ने जिकिर गरे । 

त्यस्तै होटल एसोसिएसन अफ नेपाल हानकी अध्यक्ष सिर्जना राणाले सरकारले पर्यटन उद्योगलाई कहिल्यै राष्ट्रिय प्राथमिकतामा नराखेको गुनासो गरे । उनले सरकारले अन्य उद्योगको तुलनामा राष्ट्रिय प्राथमिकता नपरेर सहुलियत तथा छुटसमेत नपाउँदा पर्यटन उद्योग धराशाही बनेको दाबी गरे । अध्यक्ष राणाले सरकारले पर्यटन उद्योगलाई मौद्रिक नीतिमार्फत सहुलियत तथा अनुदानको व्यवस्था गरेमात्रै यो उद्योगलाई ठूलो सहयोग पुग्ने बताए ।  

कार्यक्रममा नेपाल पर्वतारोहण सङ्घ एनएमए का अध्यक्ष सन्तवीर लामाले पर्वतारोहण उद्योगलाई राष्ट्रिय उद्योगको रूपमा स्थापना गर्न सुझाव दिए । उनले  पर्वतारोहणसम्बन्धी सेवा सुविधाहरू एकद्वार प्रणालीमार्फत दिनुपर्ने बताए ।  अध्यक्ष लामाले साहसिक विभिन्न खेलहरूका लागि हिमालय आरोहणसमेत खुला गर्न मागगर्नुभयो । उहाँले हिमाल आरोहण गर्दा ज्यान गुमाउनेको परिवारलाई कल्याणकारी कोष सञ्चालन गर्ने नितिगत व्यवस्था गर्नुपर्ने बताए । 

Logo