विकासमा बामे सर्दै गरेको रुपन्देहीमा आर्थिक वर्ष २०७८/ ०७९ मा झण्डै ५ अर्ब बजेट फ्रिज भएको छ ।
समयमै काम गर्न नसक्दा जिल्लामा अख्तियारी पाएको मध्येबाट ४ अर्ब ९७ करोड ५० लाख ७१ हजार रुपैयाँ खर्च नभएर फ्रिज भएको हो ।
चालुतर्फ उल्लेख्य खर्च गरेको कार्यालयहरूले पुँजिगततर्फ भने आधा रकम पनि खर्च गरेका छैनन् । पूर्वाधारको आवश्यकता पुरा गर्न गरिने पुँजिगत खर्च मध्ये झण्डै २१ प्रतिशत खर्च असार महिनामा भएको छ । असारे विकास अझै पनि हटेको छैन भन्ने सन्देश यो तथ्यांङले देखाएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय भैरहवाले दिएको जानकारी अनुसार रुपन्देही जिल्लामा कुल ४३ अर्ब ३६ करोड ४२ लाख विनियोजित बजेट मध्ये ३५ अर्ब ६८ करोड ६६ लाख ८१ हजार ४ सय १४ रुपैयाँ अर्थात् ८२ दशमलव २९ प्रतिशत मात्र खर्च भएको कोलेनिका कार्यालय रुपन्देहीका प्रमुख कोष नियन्त्रक विष्णु प्रसाद ज्ञवालीले जानकारी दिए ।
कुल बजेटमध्ये चालुतर्फ ३४ अर्ब १२ करोड ५८ लाख २१ हजार रुपैयाँ विनियोजन गरिएकोमा ९२ दशमलव ०८ प्रतिशत अर्थात् ३१ अर्ब ४२ करोड ३४ लाख ७ हजार खर्च भएको छ । यसै गरी पुँजीगततर्फ अख्तियारी आएको ९ अर्ब २३ करोड ८३ लाख ४५ हजार बजेट मध्ये ४६ दशमलव १५ प्रतिशत अर्थात् ४ अर्ब २६ करोड ३२ लाख ४३ लाख मात्रै खर्च भएको छ ।
चालु बजेटको एक चौथाइ आएको पुँजिगततर्फको बजेट आधाभन्दा बढी बजेट कर्मचारीहरूले काम नगरिदिँदा फर्केको छ । पुँजिगत खर्चतर्फ १ अर्ब ९० करोड ४६ लाख रकम त असार महिनामा मात्रै खर्च भएको छ । विकास निर्माण र पूर्वाधारमा देखिने यो खर्च नहुनु भनेकै विकास निर्माणको काम कछुवा गतिमा हुनु हो ।
असार महिनाविकासे महिनाको रूपमा परिचित छ । असार महिना सुरु भए लगतै विकास निर्माणको काम धमाधमहुने गरेको छ भने कमसल र गुणस्तरीय छैन भन्दै आलोचना पनि हुन्छ । विगतका वर्षहरू जस्तै यस वर्ष पनि रुपन्देहीमा यो परिपाटी नरोकिएको यो तथ्यांङले देखाउँछ ।





























प्रतिक्रिया