नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा रहँदा प्रधानमन्त्री नरेन्द्र मोदीले भेट्न समय नदिएको घटनाले नेपालको राजनीति तातेको छ ।
औपचारिक रुपमा भेट तय नभएपनि १ साउनको बिहान ब्रेकफाष्ट सहितको भेट हुने चर्चा थियो । तर, मोदीसँग उनको भेट भएन । यसबारे निकै चासो र चर्चा भइरहेको छ । तीन दिने भारत भ्रमणका लागि शुक्रबार दिल्ली उड्नुपूर्व त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा माओवादी केन्द्रका अध्यक्ष दाहालले भारत सरकारका प्रधानमन्त्री र पदाधिकारीसँग भेट हुने भएकाले यो भ्रमण महत्वपूर्ण रहेको बताएका थिए ।
तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट नगरी प्रचण्ड आइतबार साँझ स्वदेश फर्किएका छन् । अन्तिम समयमा आएर भेट नहुने खबर आएको तर कारण आफूलाई पनि थाहा नभएको उनले बताए ।
प्रचण्ड र उनका दलका जिम्मेवार नेताहरुबाट आएको अभिव्यक्तिले पनि भारतमा कतिपय महत्वपूर्ण भेटहरु हुन नसकेको बुझिएको छ ।
यसले के देखाउँछ भने प्रचण्डलाई भारत जानुअघि मोदीसँग भेट हुने आश्वासन दिइएको थियो । छिमेकी मुलुक चीनको कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखले नेपाल भ्रमण गरेको २४ घण्टा पनि नबित्दै दाहाल भारत भ्रमणमा निस्कीएका थिए ।
त्यसमाथि आम चुनावको पूवार्धमा भारत भ्रमण गर्दा राजनीतिक रुपमा जाने सन्देश पनि त्यस्तै थियो । कूटनीतिक मामिलाका जानकारहरुका अनुसार विदेश पाहुनालाई अन्तिम समयमा आएर नभेट्नुको ठूलो अर्थ हुन्छ । भारतीय प्रधानमन्त्री मोदीले पनि आफ्नो दलको निम्तोमा आएका प्रचण्डलाई अन्तिम समयमा नभेटेर ठूलो सन्देश दिएका छन ।
प्रचण्डलाई दिल्ली भ्रमणका लागि प्रस्ताव आएपछि उनले मोदीसँग भेट हुने सुनिश्चितता खोजेका थिए । मोदीले नभेट्नुको कारणबारे अनुमान गर्दै उनले ‘बीजेपीका अध्यक्षले बोलाएर भारत गएको र उनलाई भेटेपछि क्लाइमेक्स त्यही हो भन्ने ठानेको हुनसक्ने’ बताए ।
भारतमा बाढीले जनधनको ठूलो क्षति भएको र मोदी त्यसमा व्यस्त भएकाले भेट स्थगित भएको पनि हुनसक्ने उनको अनुमान छ । तर, मोदीसँग भेट नहुनुको खास कारण के हो भन्ने उनलाई पनि थाहा छैन ।
शनिबार विदेशमन्त्री एस जयशंकर र सुरक्षा सल्लाहकार अजित डोबलसँग उनले भेट गरे ।
आइतबार भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डा, जसको निम्तोमा उनी भारत गएका थिए, उनीसँग भेट्दासम्म पनि प्रचण्डलाई मोदीसँग भेट गर्ने आश्वासन दिइएको थियो । भारतीय पक्षले भेट गराउने आश्वासन दिएपछि उनी हतारमै भएपनि भ्रमण गर्न तयार भए । विमानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा पनि उनले मोदीसँग भेट हुने विश्वास व्यक्त गरेका थिए ।
मोदी श्रावणभर धार्मिक गतिविधिमा बढी व्यस्त हुन्छन् । उनी एक छाकमात्र भोजन गर्छन् । अति महत्वपूर्ण बाहेकका भेटहरु श्रावण महिनाभर गर्दैनन् । प्रचण्डले भारत भ्रमणका बेला सन् १९५० को सन्धी पुनरावलोकनको कुरा उठाए । यस विषयलाई भारतले गम्भीर मान्ने गरेको छ ।
सन्धी पुनरावलोकनका लागि प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदन पनि भारतले बुझ्न मानेको छैन । यस्तो विषय प्रचण्डले भ्रमणका बखत भारतमा पुगी बोले । यसलाई भारतले गम्भीर रुपमा लिएको बुझिएको छ ।
भारत भ्रमणमा जाँदै गर्दा प्रचण्डले आफू चीन पनि जाने भनेर बोले । भारत भ्रमणमा गइरहँदा उनमा लघुताभास भएको अभिव्यक्तिबाट देखिएको चर्चा चल्यो । अर्कोतर्फ, माओवादी नेताहरुबाट कालापानीलगायतको विषय प्रचण्डले उठाउने अभिव्यक्ति नेपालभित्रबाट आयो ।
प्रचण्ड र भारतको सम्बन्ध सँधै उतार चढावपूर्ण रहँदै आएको छ । दश वर्ष लामो सशस्त्र संघर्षपछि गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री भएदेखि नेकपा एमाले र माओवादी मिलेर बनेको एकीकृत पार्टी नेकपाको सरकार हुँदाका बखतको भारत र प्रचण्डको सम्बन्धमा कयौं आरोह अवरोह देखिएका छन् ।
पछिल्लो समय नेकपामा विवाद चर्किरहेका बेला भारतीय गुप्तचर एजेन्सी ‘रअ’ का प्रमुख सामन्त गोयलले नेपाल आएर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेपछि प्रचण्डले पनि विरोध गरेका थिए । त्यसयता भारतीय संस्थापन पक्षले प्रचण्डलाई ‘कर्नर’मा पार्ने प्रयास गरेको गरेको चर्चा हुने गरेको थियो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि सडक आन्दोलनमा उत्रिएका प्रचण्डले भारत लगायतका देशको समर्थन खोजेका थिए । भारतीय पक्षले भने प्रचण्डसँग दूरी कायम राखिरह्यो ।
तर अहिले नेपालको राजनीतिमा माओवादी केन्द्र र त्यसका अध्यक्षका हैसियतमा प्रचण्ड ‘निर्णायक’ जस्तै बनेपछि भने भारतीय संस्थापन पक्षले दुरी घटाउन चाहेको माओवादी नेताहरु स्वीकार गर्छन् । त्यही कारण भाजपाको अध्यक्षले नै निम्तो दिएर प्रचण्डलाई भारत भ्रमण गरायो ।
तर आफ्नै दलका अध्यक्षले बोलाएका नेपालका पूर्व प्रधानमन्त्रीलाई भारतीय प्रधानमन्त्रीले अन्तिम समयमा आएर नभेट्नुले भने भारतीय संस्थापन पक्षले प्रचण्डलाई ‘इन्गेज’ मात्र गराइराख्न खोेजेको हो कि भन्ने प्रश्न जन्माएको जानकारहरु बताउँछन् ।































प्रतिक्रिया