भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले स्मार्ट ड्राइभिङ लाइसेन्स सबै प्रदेशमा छपाइ गर्ने व्यवस्था गरिने बताएका छन् । मंगलवार मन्त्रालयमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको टोलीसँग महानगर क्षेत्राधिकार भित्रको यातायात व्यवस्थापनको विषयमा भएको छलफलपछि बोल्दै मन्त्री राईले यस्तो बताएका हुन् ।
उनले स्मार्ट ड्राइभिङ लाइसेन्स र इम्बोस्ट नम्बर प्लेटबारे अनुसन्धान गर्न बनेको समितिको प्रतिवेदन केही दिनमा नै आउने बताए । राईले समितिको प्रतिवेदन आएपछि स्मार्ट ड्राइभिङ लाइसेन्सको समस्या समाधानका लागि सुदूरपश्चिम र कर्णालीमा एक, गण्डकी र लुम्बीनीमा दुई र प्रदेश १ र मधेश प्रदेश लगायतका सबै प्रदेशमा एकएक स्थानमा गरी स्मार्ट लाइसेन्स छपाइ गर्ने बताए ।
उनले सबै प्रदेशमा स्मार्ट लाइसेन्स छपाइको मेसिन राखेर सम्बन्धित प्रदेशले नै लाइसेन्स छाप्नसक्ने व्यवस्था गर्ने बताउनु भयो । उनले यो व्यवस्थाका लागि मन्त्रालयसँग पर्याप्त बजेट नभएको पनि बताए ।
उनले दुई,तीन वर्षदेखि आवेदन दिएर स्मार्ट ड्राइभिङ लाइसेन्स कुरेर बस्ने सबैलाई ड्राइभिङ अनुमतिपत्र परीक्षामा पास भएको दिन वा दोस्रो दिन नै स्मार्ट लाइसेन्स पाउने व्यवस्था गरिने बताए । मन्त्री राईले स्मार्ट ड्राइभिङ लाइसेन्स सक्कली वा नक्कली लाइसेन्सलाई रिडिङ गर्ने मेसिन प्रत्येक ट्राफिक प्रहरीको हातमा उपलब्ध गराउने र ट्राफिक जरिवाना अनलाइनबाटै तिर्न मिल्ने व्यवस्था कार्यान्वयनमा ल्याउने समेत जानकारी दिए ।
उनले इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामा नै छपाई हुनसक्ने संकेत गर्नुभयो । मन्त्री राईले एक दुई दिनमा नै नेपालीहरुले गौरव गर्ने गरी सुखद् समाचार आउने दाबी गरे ।
उनले भने ,‘ म भौतिक पूर्वाधार तथा यातायात मन्त्री भएर आएको १५ दिन भएको छ । मैले मन्त्रालयमा पदभार ग्रहण गर्दा स्मार्ट ड्राइभिङ लाइसेन्स र इम्बोस्ड नम्बर प्लेटको औचित्यको विषयमा प्रतिवेदन आज वा भोलि आउँछ । काम भइरहेको आउने बित्तिकै दुई वटा कुरा दुई वर्ष ३ वर्ष देखि ईड्राइभिङ लाइसेन्सको आवेदन दिने र ईड्राइभिङ लाइसेन्स कुर्ने विषयमा तत्कालै वा दोस्रो दिन भन्ने विषयमा निचोड निस्किसकेको छ । पैसा थोरै भए पनि गर्दैछौं । त्यसले स्मार्ट लाइसेन्सको समस्या तत्कालै समाधान हुन्छ । त्यो लाइसेन्सलाई रिडिङ गर्ने मेसिन प्रत्येक ट्राफिकलाई उपलब्ध गराउने कार्यक्रम बनाएर कार्यान्वयनमा लैजान्छौं । जरिबाना लगायत अन्य अनलाइनबाट नै हुने व्यवस्था गदैछौं । इम्बोस्ट नम्बर प्लेटको एक दुई दिनमा नै सुखद् समाचार सुन्नपाउनु हुनेछ । त्यसको औचित्यतामा नेपालीहरुले गौरव गर्नसक्ने केही कुराहरु रिपोर्ट आएपछि कार्यान्वयन गर्ने भन्नेकुरा जानकारी गराउँछौं ।’
मन्त्री राईले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय संघीयता कार्यान्वयन भएसँगै सम्पूर्ण यातायात सम्बन्धित कामहरु अहिले अन्तर प्रदेशका क्षेत्राधिकार भित्र नपर्ने भएपनि काठमाडौं महानगरका मेयरले प्रत्येक सवारी साधनहरुमा जीपीएस सिस्टम जडानका विषयमा बुझ्न मन्त्रालय आएको बताए ।
उनले सबै सवारी साधनमा जीपीएस सिस्टम जडान गरी जथाभावी सवारी चलाउने,सुरक्षित गन्तव्यमा पुग्ने गरी मोनिटरिङ गर्नसक्ने मेकानिजम बनाउने मेयर साहको चाहना देखिएकाले मन्त्रालयले कानूनी रुपमा प्राविधिक सहयोगहरु उपलब्ध गराउने प्रतिवद्धता आफूले जनाएको बताए ।































प्रतिक्रिया