काठमाडौं उपत्यकामा कोरोना भाइरसको जोखिम बढेसँगै प्रशासनले निषेधाज्ञा जारी गरेपनि बिहानी बजारमा भने भीड लाग्ने गरेको छ ।
प्रशासनले बिहान ६ बजेदेखि ९ बजेसम्म मात्रै खाद्यन्न पसल खोल्न दिएकाले पसलहरुमा भीड लाग्ने गरेको हो । कतिपय किराना पसलले तरकारी समेत बेच्न थालेपछि त्यस्ता पसलहरुमा त झन् धेरै भीड लाग्ने गरेको पाइएको छ ।
खाद्यन्न पसलका लागि समय तोक्नु गलत भएको एकथरिको तर्क छ भने कतिपय भने यसरी समय तोक्नु गलत नभएपनि किराना पसललाई तरकारी समेत बेच्नु दिनु गलत भएको बताउँछन् । प्रशासनले ठेलागाडामा तरकारी र फलफूल बेच्न नदिएपनि पछिल्लो समय किराना, डेरी र माछामासु पसलहरुले समेत तरकारी बेच्न थालेका छन् ।
त्यस्तै कतिपय किनमेलको बहानामा मर्निङवाकमा निस्किने र कतिपय काममा निस्किने गरेकाले बिहानी समयमा आवतजावत गर्नेहरुको भीड पनि बढ्दो छ ।
दिनभरी पसल खोल्न दिँदा खाद्यन्न किनमेलको बहानामा मानिसहरु घरबाहिर निस्किने गरेको भन्दै प्रशासनले स्वास्थ्य सामाग्री र पानीबाहेकका पसल बिहान सवा ९ बजेसम्म मात्रै खोल्न दिने निर्णय गरेको थियो ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम भदौ ३ गते राति १२ बजेदेखि भदौ १७ गते राति १२ बजेसम्मका लागि उपत्यकाभर निषेधाज्ञा जारी भएको छ ।
यस अवधिमा अत्यावश्यक वस्तु र सेवामध्ये खाद्य वस्तु, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछामासु आदि बिक्रीवितरण गर्ने पसल भने बिहान सवा ९ बजेसम्म खोल्न पाइने छ ।
यसरी व्यवसाय सञ्चालन गर्दा अनिवार्य रुपमा सामाजिक दूरी कायम राख्नु पर्ने, मास्क र सेनिटाइजरको प्रयोग लगायत स्वास्थ्य मापदण्डको पूर्ण कार्यान्वयन गर्नु पर्नेेछ ।
तर काठमाडौंको मुख्य तरकारी बजार कालीमाटी र बल्खु तरकारी बजारमै व्यापारी र उपभोक्ता दुवैले कोरोना सङ्क्रमण रोकथामका लागि सामान्य मापदण्ड पनि पालना नगरेको पाइएको छ ।
व्यापारी र क्रेताले सामान्यतया दूरी कायम र मास्कसम्म पनि नलगाएको पाएपछि कोरोना भाइरसको जोखिम थप बढेको हो । यसअघि नै कालीमाटी र बल्खुका तरकारी व्यापारीमा कोरोना भाइरस देखिसकेको अवस्था भए पनि सावधानी भने छैन ।
काठमाडौँ महानगरको कृषि विभागको अगुवाइमा शुक्रवार बिहान अनुगमन टोली त्यहाँको अवस्था सामान्य बेला जस्तै थियो । दैनिक औसतमा ५०० मेट्रिकटन तरकारी तथा फलफूल बिक्री हुने कालीमाटी बजारमा ४५२ वटा थोक, ६५ वटा खुद्रा र २७ वटा माछा पसल छन् ।
आफ्नो नजिकको बजारमाभन्दा तरकारी र फलफूल सस्तो पाइने भनेर उपभोक्ता कालीमाटी जान थालेपछि कालीमाटी तरकारी तथा फलफूल बजार भीड बढेको अनुगमन टोलीको निष्कर्ष छ ।
पछिल्लो समय काठमाडौं उपत्यकामा दैनिक करिव २ सयको हाराहारीमा कोरोना संक्रमित बिरामी देखिन थालेका छन् । काठमाडौं उपत्यकामा आज ४१५ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा ३५० , भक्तपुरमा ५४ र ललितपुरमा ११ जना थपिएका हुन् । यो सँगै उपत्यकामा अब संक्रमितको संख्या ४,८११ पुगेको छ ।





























प्रतिक्रिया