किन पुग्दैन कर्णालीमा समयमा पाठ्यपुस्तक ?

किन पुग्दैन कर्णालीमा समयमा पाठ्यपुस्तक ?

केन्द्रबिन्दु
0
Shares

“रातारात तिम्रो पार्टीको पर्चा कसरी आउँछ?
जहाँ परीक्षा सकिने बेलासम्म किताब आउँदैन ।”

जब नयाँ शैक्षिक सत्र सुरु हुन्छ, गजलकार प्रदीप रोदनको यो गजल सामाजिक सञ्जालमा ‘भाइरल’ बन्छ । हुन पनि वर्षेनी शैक्षिक सत्र सुरु हुनासाथ किताब अभावको खबर सुनिन्छन् । लामो समयसम्म पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगेको हुँदैन । जबकी त्यही ठाउँ राजनीतिक दलका चुनावी पर्चा पुग्न समय लाग्दैन ।

स्थानीय तहको चुनावी प्रक्रिया र नयाँ शैक्षिक सत्र सँगसँगै सुरु भयो । हरेक मतदाताले पार्टीका पर्चा हात पारे, तर हरेक विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेनन् । विद्यार्थीको लागि आवश्यक पाठ्यपुस्तक छपाइ गर्ने कुरा राज्यको प्राथमिकतामै परेन । बरु किताब छपाइ गर्ने जनशक्ति मतपत्र छपाइमा खटाइए ।

शैक्षिक सत्र सुरु भएको महिनौँ बित्दा पनि विद्यार्थीले किताब पाउन सकेका छैनन् । कर्णाली प्रदेशमा अझै करिब ६० हजार पाठ्यपुस्तक अभाव छ । जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय सुर्खेतले कर्णालीका सुर्खेत, दैलेख र जाजरकोटमा पर्याप्त पाठ्यपुस्तक पठाउन नसकेको जनाएको छ । यी जिल्लाका लागि आवश्यक करिब ६० हजार पुस्तक पठाउन केन्द्रसँग माग गरिएको छ ।

जनक शिक्षाका प्रादेशिक कार्यालय प्रमुख धनबहादुर केसीले कक्षा आठको नेपाली, सामाजिक, विज्ञान, स्वास्थ्य तथा शारीरिक र पेशा विषय अलि बढी अभाव रहेको बताएका छन् । जनक शिक्षाले छपाइमा ढिलाइ गर्दा यस वर्ष पनि विद्यार्थीले समयमै पुस्तक पाउन नसकेका हुन । कर्णालीका हिमाली जिल्लामा फागुन र पहाडी जिल्लामा वैशाखदेखि नयाँ शैक्षिक सत्र सुरु हुन्छ ।

अर्धवार्षिक परीक्षाको समय नजिकिँदै गर्दा अझै पुस्तक नपाएकामा विद्यार्थी र उनीहरुका अभिभावक आक्रोशित छन् । नयाँ पुस्तक नपाएपछि कतिपय विद्यालयले पुरानै पाठ्यक्रमअनुसार पठनपाठन सञ्चालन गरिरहेको बताएका छन् । जनक शिक्षाका अनुसार कर्णालीमा हालसम्म कक्षा चारदेखि १० सम्मका १४ लाख एक हजार सात सय ८९ थानमध्ये १३ लाख २९ हजार एक सय ४१ बिक्री भइसकेका छन् भने ७१ हजार छ सय ३८ थान मौज्दात छन् ।

गोदाममा मौज्दात पुस्तकमध्ये कतिपय सडेका, पानीले भिजेका र अधुरा सेट छन् । बिक्रेताले पूरै सेट पाएपछि मात्र खरिद गर्ने अडान लिएका छन् । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ कर्णाली प्रदेशले पुस्तक ढुवानी पारदर्शी नभएको भन्दै बुधबार जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालयको ध्यानाकर्षण गराएका थिए । जनक शिक्षाले समानुपातिक र न्यायिक हिसाबले पुस्तक बिक्री नगरेको महासङ्घको आरोप छ ।

जनक शिक्षाले भने गएको जेठ पाँच गतेबाटै किताब बिक्रीवितरण सुरु गर्ने जनाएको थियो । स्थानीय चुनाव अघिसम्म भने जनक शिक्षाले समयमै पुस्तक पुर्याउन सक्ने दाबी गर्दै आइरहेको थियो । त्यसबेला जनक शिक्षाले वैशाखभर किताब छपाइको काम सकेर जेठको पहिलो साता वितरण गर्ने प्रण गरेको थियो । तर हरेक वर्षजस्तै यो वर्ष पनि विविध कारण देखाउँदै जनक शिक्षा पुस्तक वितरण गर्न असफल भएको छ ।

हरेक वर्ष विविध कारण देखाउने जनक शिक्षालाई यो वर्ष भने रुस–युक्रेन युद्ध र स्थानिय निर्वाचन निकै ठूलो बहाना बनेकोे छ । जसकारण कागजको अभाव हुँदा समयमै पाठ्यपुस्तक छपाइ गरी विद्यालयहरुमा पठाउन नसकिएको केन्द्रको भनाइ छ । 
आजसम्म जुन सरकार सत्तामा भए पनि विद्यार्थीले पाठ्यपुस्तक समयमै पाएको ‘रेकर्ड’ देखिन्न ।

आलोपालो सत्ता चलाइरहँदा, एकअर्काको आलोचना गर्ने बाहेक कसैले पाठ्यपुस्तक पुर्याउने कुरामा पर्याप्त ध्यान दिएको पाइँदैन । हरेक वर्ष विद्यार्थीले समयमै पाठ्यपुस्तक नपाएको समाचार दोहोरिरहन्छन । यसरी हरेक वर्ष विकट भेगका विद्यार्थीहरु किताब नपाउने मर्काबाट गुज्रिरहेका हुन्छन् । जुन रोग पहिलेको तुलनामा २० को १९ पनि नभएको शिक्षाविद् बताउँछन् । यसको मुख्य समस्या राज्यको संवेदनशिलताको अभाव रहेको उनीहरुकोे तर्क छ । 

 

Logo