धरान उपमहानगरपालिकामा कायम खानेपानी समस्याको दीर्घकालिन समाधान खोज्न मेयर हर्क साम्पाङ काठमाडौं आएका छन् । उनले मंगलबार अर्थमन्त्री जनार्दन शर्मसँग भेटवार्ता गरे ।
मेयर साम्पाङ्गले धरानमा खानेपानीको मुख्य समस्या रहेको र यसलाई समाधान गर्न संघीय सरकारको सहयोग आवश्यक रहेको बताए । उनले भने, ‘तपाईंहरु हाम्रो अविभावक हो जनताको यो समस्या समाधान गर्न आबश्यक सहयोग गरिदिनुहोला ।’
उपमेयर अईन्द्रविक्रम बेघासहित काठमाडौं आएका मेयर साम्पाङले खानेपानी प्रवन्धका लागि अहिलेसम्म भएका प्रयासबारे मन्त्री शर्मालाई जानकारी गराएका थिए ।
भेटमा मन्त्री शर्माले धरान उपमहानगरपालिकाको खानेपानीको समस्या समाधानका लागि आबश्यक सहयोग गर्न संघीय सरकार प्रतिबद्द रहेको बताए । अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले आवश्यक प्राविधिक तयारी सकिएपछि खानेपानी आयोजना सम्पन्न गर्न आवश्यक पर्ने बजेट जुटाउन संघीय सरकारले महानगरपालिकालाई सहयोग गर्ने आश्वसन दिए ।
भेटमा मन्त्री शर्माले मेयर साम्पाङ्ग र उहाको टीमले धरानका जनताको खानेपानीको समस्या समाधान गर्न गरेको प्रयासको प्रशंशा गरेका थिए । ‘तपाईंले अहिले खानेपानीको समस्या समाधानका लागि गरिरहेको जनपरिचालन निक्कै उदाहरणीय छ’, मन्त्री शर्माको भनाइ थियो ।































प्रतिक्रिया