कहिले सुध्रिएला नेपाल बैंक लिमिटेड ? जेठो बैंकको अधिकांश सुचक नकारात्मक कसरी ?

कहिले सुध्रिएला नेपाल बैंक लिमिटेड ? जेठो बैंकको अधिकांश सुचक नकारात्मक कसरी ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । मुलुककै सबैभन्दा पहिलो र पुरानो सरकारी बैंक हो, नेपाल बैंक ।

जुन बैंकमा सर्वसाधारणको सबैभन्दा बढी विश्वास हुनुपर्ने हो । सर्वसाधारणको विश्वास जित्ने भनेको बैंकले गर्ने वित्तीय सुधार नै हो । तर, बैंकले वित्तीय सुधारमा त्यति फड्को मार्न सकेको छैन ।

हुन त कोरोनाका कारण गत आर्थिक वर्षको चौथो त्रैमासमा अधिकांश बैंकले नाफा घटाएका छन् भने खराब कर्जाको मात्रा पनि बढाएका छन् । त्यस्तै, वितरण योग्य नाफामा पनि गिरावट आएको छ । तर नेपाल बैंकको वित्तीय विवरण हेर्ने हो भने अघिल्ला त्रैमासहरुमा पनि उल्लेख्य मात्रामा प्रगति गरेको देखिएको छैन ।

चौथों त्रैमासमा खुद नाफा १.५५ प्रतिशतले कमी

सरकारी स्वामित्वको यस बैंकले गत आर्थिक वर्षको चौथों त्रैमासमा २ अर्ब ५५ करोड ६४ लाख ३९ हजार रुपैँयाँ खुद नाफा कमाएकोे छ । यो नाफा अघिल्लो वर्षको तुलनामा १.५५ प्रतिशतले कमी हो । बैंकले अघिल्लो वर्ष २ अर्व ५९ करोड ३७ लाख ३६ हजार नाफा कमाएको थियो । बैंकले यस अवधिमा खुद ब्याज आम्दानी र संचालन नाफा पनि घटाएको छ । बैंकले अघिल्लो वर्षको यहि अवधिमा ६ अर्व १८ करोड ९५ लाख ४२ हजार खुद ब्याज आम्दानी गरेको थियो । यस वर्ष बैंकले ९.१ प्रतिशतले खुद ब्याज आम्दानी घटाएको छ ।

त्यस्तै, बैंकको संचालन मुनाफा पनि ४ अर्व ५१ करोड ४७ हजार रुपैँयाँले घटेर ३ अर्व ५६ करोड ६४ लाख ३२ हजार रुपैँयाँमा सिमित भएको छ । बैंकको यो संचालन नाफा अघिल्लो वर्षको तुलनामा २० प्रतिशतले कमी हो । त्यस्तै, बैंकले जगेडा कोषमा १२ अर्व ९८ करोड ५४ लाख ३५ हजार रुपैँयाँ राखेको छ । बैंकको प्रतिशत शेयर नेटवर्थ २६७ रुपैँयाँ ५० पैसा रहेको बैंकले जनाएको छ ।

तेस्रो त्रैमासमा १२ प्रतिशतल नाफा घट्यो

त्यसैगरी, बैंकले गत वर्षको चैत मसान्त (तेस्रो त्रैमास) सम्म पनि सन्तोषजनक प्रगति गर्न सकेको थिएन । बैंकको वित्तीय विवरण अनुसार अरु वाणिज्य बैंकहरुले नाफा बढाइरहँदा सबैभन्दा पुरानो बैंकको रुपमा परिचित यस बैंकका मुख्य सूचकहरु खस्किँदो अवस्थामा रहेका छन् ।

तेस्रो त्रैमास वित्तीय विवरण अनुसार सबैको नाफा बढेपनि खुद नाफा १२ प्रतिशतले घटेको छ । बैंकले मसान्तसम्म २ अर्ब २४ करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा यस्तो नाफा २ अर्ब ५६ करोड थियो । बैंकको खुद नाफा घटेसँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी १२ रुपैयाँले घटेको छ ।

बैंकले खुद ब्याज बापतको आम्दानीमा पनि खासै प्रगति गर्न सकेको छैन । बैंकले चैतसम्म १७ करोडले मात्रै खुद ब्याज आम्दानी गरेको छ । यस अवधिमा बैंकको फी एण्ड कमिसन वापतको आम्दानी तथा अन्य संचालन आम्दानी घट्दा समग्र संचालन नाफामा असर परेको देखिाएको छ । बैंकले चैत मसान्तसम्म ८८ अर्ब १९ करोड रुपैयाँ कर्जा लगानी गरेको देखिएको छ । निक्षेप १ खर्ब ५ अर्ब निक्षेप संकलन गरेको छ ।

बैंकले बैंकको रिजर्भमा १५ अर्ब रहेको छ । गत आवको नाफाबाट सेयरधनीलाई लाभांश नदिएकाले रिजर्भ बढेको हो । यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३० रुपैयाँ ५२ पैसा छ । बैंकको प्रतिसेयर नेटवर्थ ३ सय ४ रुपैयाँ रहेको बैंकको वित्तीय विवरणले देखाएको छ । बैंकले २३ वर्षको अन्तरालमा लगानीकर्तालाई ३५ प्रतिशत लाभांश दिएको थियो । यस अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ६२ करोड छ ।

दोस्रो त्रैमासमा झनै नाफा घट्यो

त्यसैगरी, नेपाल बैंकले गत वर्षको पुस मसान्त (दोस्रो त्रैमास)मा पनि नाफा घटाएको छ । बैंकले यस अवधिमा अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ३१ करोड २३ लाख रुपैँयाले नाफा घटाएको हो । बैंकले पुससम्म १ अर्ब ३५ करोड नाफा कमाएको थियो । बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ६६ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकले यस अवधिमा कर्जा लगानीमा सामान्य सुधार गरेको देखिन्छ । बैंकले निष्क्रिय कर्जा २ दशमलव ७४ प्रतिशतबाट घटेर २ दशमलव ६६ प्रतिशत पु¥याएको छ । त्यस्तै, बैंकको वितरणयोग्य नाफा ६८ करोड ३७ लाख रुपैयाँ रहेको छ । प्रतिशेयर आम्दानी २७ रुपैयाँ ५७ पैसा छ ।

सूचकहरु नकारात्मक बन्दा लगानीकर्तामा निराश

बैंकले लामो समयदेखि उल्लेख्य मात्रामा प्रगति गर्न नसकेका कारण लगानीकर्तामा निराशा छाएको छ । हुन त नेपाल बैंकले विगत २३ वर्षको अन्तरालमा गत वर्ष आफ्ना लगानीकर्ताहरुलाई ३५ प्रतिशत लाभांश दिएको थियो । त्यसपछि लगानीकर्तामा केही हौसला आएपनि बैंकले नाफा, खुद ब्याज आन्दानी लगायतका विभिन्न सुचकहरुमा उल्लेख्य प्रगति गर्न नसकेका कारण लगानीकर्तामा पुनः निराशा छाएको हो । अहिले बैंकमा प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी छन् ।

उनले बैंकलाई भरसक सुधार गर्ने प्रयत्न गरिरहेका छन् । पछिल्ला ४ वर्षदेखि बैंक संचालन नाफामा जान सुरु गरेको भएपनि लगातार नाफा घट्दा लगानीकर्तामा निराशा बढेका छन् ।

अहिले सरकारी लगायत नीजिस्तरका धेरै वाणिज्य बैंकहरु (२७ वटा) संचालनमा छन् । यी बैंकहरुबीच व्यापार व्यवसाय विस्तारमा चर्काे प्रतिस्पर्धा छ । यी बैंकहरुबीच नेपाल बैंकलाई मुलुकको पहिलो र पुरानो बैंकको रुपमा साँख जोगाउन हम्मे हम्मे परिरहेको छ ।

संकटग्रस्त बनेपछि बैंकको व्यवस्था १२ वर्षसम्म राष्ट्र बैंकले सम्हालेको इतिहास

नेपाल बैंक संकटग्रस्त बनेपछि राष्ट्र बैंकले बैंकको व्यवस्थापनमै हस्तक्षेप गरेर आँफैले जिम्मा लिएको थियो । राष्ट्र बैंकले वित्तीय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत २०५८ चैत १ देखि टेक ओभर गरेको थियो । नेपाल बैंक संकटग्रस्त हुँदा खराव कर्जा ५६ प्रतिशतभन्दा वढी तथा पुँजी कोष १० अर्बभन्दा वढीले ऋणात्मक भएको थियो । जसका कारण राष्ट्र बैंकले बैंकलाई समस्याग्रस्त घोषणा गर्दै आफ्नो जिम्मामा लिएको थियो ।

राष्ट्र बैंकले सो बैंक जिम्मा लिँदा यसको खराव कर्जा ५६.२७ प्रतिशत थियो । पुँजी कोष ९ अर्ब ९३ करोड रुपैयाँ (१९.५९ प्रतिशत) ऋणात्मक रहेको थियो । त्यतिबेला ३४ अर्ब २६ करोड रुपैयाँ सर्वसाधारणको निक्षेप जोखिममा थियो । बैंक समस्याग्रस्त भएपछि सर्वसाधारण निकै त्रासमा थिए । बैंक लगातार कर्जा असुली नहुने, बैंकहरु लगातार नोक्सानमा जाने र धेरै कर्मचारी पाल्न सर्वसाधारणले बैंकमा जम्मा गरेको निक्षेप नै प्रयोग गर्नुपर्ने अवस्था देखिएपछि कर्मचारी समेत कटौती समेत गर्नु परेको थियो ।

नेपाल बैंक सुधार गर्न सरकारले विश्व बैंक तथा डिएफआइडिसँग ऋण तथा अनुदान लिएको थियो । राष्ट्र बैंकले नेपाल बैंकको व्यवस्थापन सुधार्न विदेशी व्यवस्थापनलाई जिम्मा दिएको थियो । विदेशीले केही बर्षमा बैंक सुधार गरेपछि दोस्रो चरणमा राष्ट्र बैंकले सुधारको काम थालेको थियो । त्यतिबेला नेपाल बैंकसहित पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक पनि टाट पल्टिने अवस्थामा पुगेको थियो । तत्कालिन गभर्नर डा.तिलक रावलले नेपाल बैंक र राष्ट्र वाणिज्य बैंक टाट पल्टिने अवस्थामा पुगेकाले वित्तीय सुधार कार्यक्रम लागु गरेको समेत बताएका थिए ।

नेपाल बैंकको इतिहास

नेपाल बैंकको उद्घाटन राजा त्रिभुवनबाट वि.सं.१९९४ कार्तिक ३० गते भएको थियो । यसैबाट नेपालमा संस्थागत रूपमा बैंकिङ्ग सेवाको शुरुवात भएको थियो । यो बैंक स्थापना हुनु भन्दा पहिलेसम्म सम्पूर्ण मौद्रिक कारोवारहरू निजी डिलर तथा व्यापारिक केन्द्रहरूबाट हुने गर्दथ्यो । १२ जना कर्मचारी र एक मात्र कार्यालयबाट सुरू भएको थियो नेपाल बैंक । उक्त अवसरमा बोल्दै तत्कालिन राणा प्रधानमन्त्री जुद्धशमशेरले ‘राजा त्रिभुवनको आज्ञाले सम्पूर्ण देशको चाहाना अनुरूप गर्न लागिईरहेको यो कार्य मेरो लागि एकदम ठूलो अवसर हो ।’ भनेका थिए ।

त्यसका साथै प्रधानमन्त्री राणाले बैंकिङ कारोबारको आवश्यकता पूरा गर्न नेपाल बैंक लिमिटेड नाममा पहिलो बैंकको स्थापना हुन लागेको तथा तत्कालिन श्री ५ बाट उद्घाटन हुन लागेकाले अत्यन्तै खुशी भएको बताएका थिए ।

त्यस समयमा, यस औपचारिक बैंकिङ्ग नयाँ अवधारणालाई धेरै कमले मात्र बुभ्mनुका साथै धेरै कम मात्र बैंकप्रति विश्वस्त थिए। जति हकप्रद शेयर उठाउनु सजिलो थिएन त्यति नै निक्षेप परिचालन गर्नु पनि गाह्रो थियो । जसको परिणाम स्वरूप, बैंकले २५ लाख रुपैँयाको हकप्रद शेयर निश्कासन गरेकोमा ८ लाख ४२ हजार मात्र उठाउन सफल भएको थियो । नेपालमा बैंक नहुँदा देशको आर्थिक समुन्नतिमा बाधा पुगिरहेको तथा जनतालाई असुविधा परेकाले मुलुकको समुन्नति तथा जनतालाई सेवा पुर्याउने उद्देश्यकासाथ नेपाल बैंकको स्थापना गरिएको थियो ।

बैंकले स्थापनाको प्रथम वर्ष कुल निक्षेप १७ लाख २ हजार २५ रुपैँया संकलन गरेको थियो । जसमा चल्ती निक्षेप करिव १२ लाख ९८ हजार ८ सय ९८ रुपैँया र मुद्दती निक्षेप ३ लाख ८८ हजार ९ सय ६४ तथा वचत निक्षेप १४ हजार १ सय ६३ रहेको थियो । प्रथम वर्षको अन्तमा, कर्जा प्रवाह तथा वक्यौता गरि जम्मा १९ लाख ८५ हजार रुपैँया रहेको थियो ।

नेपाल बैंक स्थापना देखि नै सरकारी तथा निजी क्षेत्रको संयुक्त लगानीको बैंक हो । एक सय परल मुल्यका २ हजार ५ सय हकप्रद शेयरहरू मध्ये, ४०५ शेयरमा सरकारको लगानी थियो भने बाँकी ६०५ शेयर निजी क्षेत्रलाई बिक्रीको लागि छुट्टयाईएको थियो । बैंक सञ्चालनको शुरुमा केवल १० जना शेयरधनीहरू मात्र रहेका थिए ।

Logo