मुलुक करिब दुई महिनादेखि लकडाउनको अवस्थामा छ । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस (कोभिड १९) को संक्रमण फैलिन नदिन सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको छ । नेपालमा संक्रमितको संख्या यो समाचार तयार पार्दासम्म २ सय १९ जना पुगेको छ ।
सरकारले लकडाउनका बेला आफ्नै घर वा आफू जहाँ हो त्यहीँ रहन आग्रह गरेको छ । भेला भएर पार्टी गर्न, बजार पसल खोल्न, जथाभावी हिँड्न सरकारले प्रतिबन्ध लगाएको छ । यसलाई ध्यानमा राख्दै आफ्नो टेलिभिजन कार्यक्रम ‘सिधाकुरा जनतासँग’मा चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेले भेला भएर पार्टी नगर्न सुझाव दिंदै ‘बाँचिएछ भने पछि मन लागेको खाऔँला’ भन्दै सबैलाई सचेत र सजग गराएका थिए ।
सो कार्यक्रममा रविले भनेका थिए, ‘घरमै भएको एकथोक तरकारीमा ऐना हेर्न मिल्ने गरि झोल हालेर खाउँ तर बाहिर नजाउँ । बाँच्नु भएछ भने खसीको मासुको पक्कु, लोकल कुखुराको रातो झोल, सात पत्रे बँदेल टिमुरको छोपसँग चोपेर, माछा फ्राई गरेर, गोलभेडाको अचार, बासमती चामल, अकबरे खुर्सानी टोक्दै सात थाल थपिथपी खानुहोला ।’
तर, अहिले उनै लामिछानेसहित चर्चित कलाकारहरु सहभागी भएको त्रिभोजको तस्बिर र भिडियो सार्वजनिक भएको छ । उक्त भोजमा रवि लामिछानेको साथमा उनकी पत्नी निकिता पौडेल, कलाकारहरु किरण केसी, दीपकराज गिरी, दीपाश्री निरौला, पूजा शर्मा, अनुराग कुँवरलगायत सहभागी भएको देखिन्छ ।
भिडियोको क्लिपमा लालमोहन बनाउदै रमाइलो गर्दै पार्टी गरिरहेका छन् । रात्रिभोजमा मस्त रहेका उनीहरुको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ भने यसबारे मिश्रित प्रतिक्रिया आइरहेको छ ।































प्रतिक्रिया