ह्याप्पी बर्थ डे मनोज गजुरेल ! व्यक्ति एक, अवतार अनेक

ह्याप्पी बर्थ डे मनोज गजुरेल ! व्यक्ति एक, अवतार अनेक

केन्द्रबिन्दु
0
Shares

नेपाली हाँस्यजगतका उस्ताद मनोज गजुरेलको आज जन्मदिन परेको छ। विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस रोकथामको लागि गरिएको लकडाउनका कारण उनी आफ्नो जन्मदिन घरमै  मनाइरहेका छन् ।

आज परेको उनको जन्मदिनमा बिहानैदेखि सामाजिक सञ्जालमा शुभकामनाको ओइरो लागेको छ । पछिल्लो समय उनी नेपालकै पहिलो कमेडि शो कमेडी च्याम्पियन को जज समेत रहेका कारण चर्चामा छन् । झट्ट हेर्दा निकै सम्पन्न र कुनै दु:ख नभोगेको जस्तो लागेपनि अरुलाई हसाउँदै हिड्ने गजुरेल आफ्नो जीवनमा ठूलो उतार चढाव पार गरेर यहाँसम्म आईपुगेका हुन् ।

विद्यार्थी राजनीतिबाट कलाकारिता क्षेत्रमा प्रवेश गरेका मनोज गजुरेलको जन्म विक्रम सम्बत् २०३१ बैशाख २९ गते पिता स्व. भवानीप्रसाद गजुरेल र माता इन्द्रमाया गजुरेलको कोखबाट ताप्लेजुङ जिल्लाको मामाङ्खे गाउँमा भएको थियो । निम्नमध्यम परिवारमा जन्मिएका मनोज गजुरेल आमाबाबुको सातजना छोराछोरी मध्ये कान्छा हुन्। उनका ४ जना दिदीहरू र २ जना दाइहरू छन्। ६ महिनाको हुँदा आफ्नो बाबुलाई गुमाउन पुगेका उनले पारिवारिक कारणले कहिले आमासँग, कहिले काकासँग त कहिले आफन्तसँग थुप्रै ठाउँमा बसाइँसराइ गर्नु पर्यो। यसरी उनको बाल्यकाल ताप्लेजुङ, पाँचथर, मोरङ र काठमाडौँमा बितेको पाइन्छ।

गजुरेलको प्रारम्भिक शिक्षा मावली गाउँको श्री गणेश मावि मा शिशु कक्षाबाट सुरु भएको थियो । उनी सात वर्षको हुँदा उनको परिवार झापाको दमकमा बसाइँ सराइ गरेपछि उनको पढाइ पनि त्यतै सर्यो । ताप्लेजुङ, पाँचथर, झापा, मोरङ र काठमाडौँ गरि ११ वटा स्कुल पढेका उनले प्रवेशिका परीक्षा चाहिँ काठमाडौँको पद्मोदय माध्यमिक विद्यालयबाट द्वितीय श्रेणीमा उत्तीर्ण गरे । त्यसपछि आफ्नो अध्ययनलाई पत्रकारितातिर डोर्याएका उनले रत्न राज्यलक्ष्मी क्याम्पस, काठमाडौँबाट स्नातक तह उत्तीर्ण गरेका छन् ।

सानैदेखि ठट्यौली स्वभावका गजुरेलको कलाकारितामा प्रवेश पनि सानै उमेरमा नै भयो। विसं २०४० सालमा झापाको शतासीधाममा दशैँको अवसरमा प्रदर्शित नाटक खेलेर कला क्षेत्रमा प्रवेश गरेका उनी वि सं २०४५ मा हिमालय माध्यमिक विद्यालय, दमक, झापाको अतिरिक्त कृयाकलापमा हास्यव्यङ्ग्य प्रस्तुति गरेर पुरस्कृत भएपछि कला क्षेत्रमा लाग्न हौसिए । त्यसपछि गाउँघरका पूजाआजा तथा अन्य साँस्कृतिक कार्यक्रमहरूमा उनको खोजी हुन थाल्यो।

वि सं २०४५ को अन्त्यतिर काठमाडौँ आएपछि रेडियो नेपालको बालकार्यक्रममा नियमित कविता वाचनमा भाग लिन थाले। उनी पढ्ने पद्मोदय माविको नजिकैका रत्न राज्यलक्ष्मी क्याम्पस, नेपाल ल क्याम्पस, विश्वभाषा क्याम्पसलगायत अन्य क्याम्पसमा दाइहरूले उनलाई मञ्च दिन थाले । उनी ती मञ्चहरूमा जम्न थाले, विद्यार्थी संगठनहरूको कार्यक्रमहरूमा उनको माग हुन थाल्यो। ती मञ्चबाट उनले आफ्नो कलाकारितालाई निखार्दै लैजान थाले । चालिसको दशकको अन्त्य, पचासको दशकको सुरूदेखि नै उनी स्थापित हास्यव्यङ्ग्य कलाकारको रूपमा चिनिन थाले। उनले पहिलो पारिश्रमिक विसं २०५० सालमा दार्जिलिङका लागि काठमाडौँबाट निस्किएको अडियो क्यासेटमा स्वर दिएर प्राप्त गरे।

विसं २०५२ सालमा रेडियो नेपालबाट प्रसारित हुने मानवअधिकार सम्बन्धी कार्यक्रममा कुरा गर्यो कुरैको दुःख भन्ने प्रस्तुतिबाट लोकप्रियताको शिखर चढ्न सुरू गरेका उनले त्यही वर्ष रेडियो नेपालको १०० मेघाहर्जबाट बेलुकी प्रसारित हुने गुडनाइट एफएम मा पहिलो रेडियो प्रस्तोताको अनुभव लिएका थिए। विसं २०५३ सालदेखि साङ्ग्रिला च्यानलबाट प्रसारण हुने रमाइलो साङ्ग्रिला कार्यक्रम चलाएर उनी टेलिभिजन कार्यक्रममा देखिन थाले।

पूर्वराजा ज्ञानेन्द्र शाहदेखि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसम्मको नक्कल गर्दै उनले नेपालमा मात्र हैन अन्तर्राष्ट्रिय जगतमा समेत वाहावाही पाएका छन्। अमेरिकी अनलाइन सीबिएस न्युजले समेत उनलाई विश्वका १८ कमेडियनको सूचीमा राखेको छ।

यसरी वाहवाही कमाउनमा उनी आफ्नो प्रस्तुतिमा हास्यव्यङ्ग्य मात्र हैन बौद्धिकतासमेत मिसाउँछन्। यसैले उनलाई समग्रमा बौद्धिक हाँस्यकलाकारको रूपमा चिनिन्छ। उनको व्यङ्ग्यका विषय मुख्यतः सामाजिक तथा राजनैतिक बेथिति, कुरीति, कुसंस्कार, कुप्रथा आदि हुने गर्छन् ।

विसं २०५२ सालमा गायिका मिना ढकालसँग वैवाहिक बन्धनमा बाँधिएका उनको हाल सम्बन्धविच्छेद भइसकेको छ । मनोज र मिनाबाट दुई सन्तान मिरोज र मेमोरी छन । हाल उनी छोरा र छोरीको साथमा आमासँग बालकोट, भक्तपुरमा बसोबास गर्छन्।

Skip This
Skip This
Logo