लकडाउनले समस्यामा परेका विपन्नलाई निःशुल्क खाना खुवाउँदै निर्माता मैनाली

लकडाउनले समस्यामा परेका विपन्नलाई निःशुल्क खाना खुवाउँदै निर्माता मैनाली

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
चैत ११ गतेदेखि देश लकडाउनमा छ । यस अवधिका करिव ४० दिनमा दैनिक ज्यालादारी वर्गलाई निकै नै समस्या पारेको छ । हुन त यतिबेला सम्पन्न वर्गलाई नै कठिन भइरहेको अवस्थामा विपन्न वर्ग समस्यामा नपर्ने कुरै भएन । यहि समस्याले अधिकांश मजदूरहरु हिडेरै आफ्ना गाउँसम्म गएका छन् । गाउँ जान पनि नसक्ने र राजधानीमा खान बस्न पनि नसक्ने अवस्थामा पुगेका विपन्न वर्गका लागि यतिबेला राजधानीका विभिन्न ठाउँमा निःशुल्क खाना खुवाउने अभियान शुरु भएको छ ।

यस्तैमा जोडिएका छन्, चलचित्र निर्माता सुमित मैनाली । उनले गएको हप्ताको शुक्रबारबाट विपन्न वर्गका लागि निजी खर्चमा निःशुल्क खाना खुवाउने अभियान शुरु गरेका हुन् । हरेक दिन चार सय जनाका लागि निःशुल्क भोजनको लक्ष्य लिएर शुरु गरिएको अभियानमा दैनिक ७ सय भन्दा धेरै मानिसहरुले खाना खाएका छन् । दिउसो ४ः३० बजेदेखि ६ः३० बजेसम्म मेघा पार्टी प्यालेस, बसुन्धरामा यसरी निःशुल्क खाना खुवाउने गरिएको छ । विहिबारसम्म ५ हजार २ सय जनाले खाना खाएका छन् । खाना खुवाउनका लागि दैनिक करिव ६५ हजार खर्च हुने गरेको उनले बताए ।

‘अप्ठ्यारोमा परेका हरुलाई सहयोग गर्ने उद्देश्यले शुरु गरिएको हो ।’ उनले भने, ‘आपत विपतमा सहयोग गर्नु मानविय धर्म पनि हो ।’ यसको जानकारी उनले आफ्नो सामाजिक संजालमार्फत दिने गरेका छन् । हरेका दिनको अपडेट राख्दै उनले कोही व्यक्ति खान नपाएर समस्यामा परेको भए खबर गरिदिन पनि अनुरोध गरेका छन् ।

एक हप्ताको समयसम्म खाना खान आउने सबै विपन्न वर्गका मात्र नभएपछि आजदेखि मैनालीले यसलाई फरक ढंगले संचालन गर्ने तयारी गरेका छन् । सम्बन्धित टोलमै पुगेर त्यहाँका जनप्रतिनिधीसँग समन्वय गरि खाना खुवाउने उनले बताए । यसका लागि आज र भोलि ठाउँ तय गरि पुनः यो अभियानलाई निरन्तरता दिइने बताइएको छ ।

चामलका बोरा दिनु भन्दा खाना दिए पकाउने समस्या नहुने भएकाले यस्तो अभियान शुरु गरिएको मैनालीले बताएका छन् । यसरी खाना खुवाउँदा सामाजिक दूरि कायम गर्ने गरिएको हुँदा खासै समस्या पनि नपर्ने मैनालीले बताए ।

निर्माता मैनाली दरबारमार्गस्थित राइजिङ मलमा रहेको क्यूज सिनेमा, लूक्स यूनिसेक्स सलून तथा ओएसिस क्याफेका सञ्चालक समेत हुन् । ‘बिपदको समयमा मन, बचन र कर्मले मानवसेवा गर्न पाउँदा आफूले आफूलाई गौरवान्वित र भाग्यमानी महसुस गरेको छु’, उनले भनेका छन् । लकडाउन रहँदासम्म विपन्नलाई खाना खुवाउने अभियानलाई निरन्तरता दिइने उनले केन्द्रबिन्दुलाई बताए ।

Logo