काठमाडौं,
गायिका कुसुमकुमारी गुरुङले सुनमाया बोलको गीतसँगै सांगीतिक क्षेत्रमा पुनरागमन गरेकी छिन् । पूर्वसभासद् मधु गुरुङको शब्द तथा संगीत रहेको सुनमाया गीतसँगै कुसुमले करिब डेड दशकपछि सांगीतिक क्षेत्रमा पुनरागमन गरेकी हुन् ।
मधु गुरुङले संखुवासभा आफ्नो पुख्र्यौली थलो भए पनि मोरङमै जन्मे हुर्केको भन्दै केही वर्ष अगाडि संखुवासभा पुगेपछि गीत फुरेको बताइन् । काठमाडौंमा दिदीसँग बसेर गाउँको परिवेशबारे थप सोधखोज गरेर गीतलाई अन्तिम रूप दिइएको भन्दै उनले सुनमाया गीत राम्रो बनेको प्रतिक्रिया दिइन् । सुजना गुरुङको अभिनय रहेको म्युजिक भिडियोमा मकालु, अरुण, सभाखोला, खाँदबारी, चिचिलाका सुन्दर दृश्यहरू कैद छन् । म्युजिक भिडियोको निर्देशन प्रितम गुरुङले गरेका छन् ।
वि.सं.०६१ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेकी कुसुम गुरुङले यसअघि २०५२ सालमा श्रद्धा डिजिटलबाट ‘भीरमाथिको गाउँ’ नामक लोकदोहोरी एल्बम ल्याएकी थिइन् । उनले सुनमायामार्फत आफूले पुनरागमन गरेको भन्दै गीत सुनेर तथा हेरेर प्रतिक्रिया व्यक्त गर्न आग्रह गरिन् । कुसुमले आफ्नै युट्युब च्यानलसमेत सुरु गरेकी छिन् । उनले पुराना गीतहरूलाई पनि आफ्नो युट्युब च्यानलमा केन्द्रीकृत गरिने भन्दै सँगसँगै नयाँ गीतहरू पनि गर्दै जाने बताइन् ।





























प्रतिक्रिया