काठमाडौं,
संस्कृतिविद् सत्यमोहन जोशीलाई नेपाल प्रज्ञा प्रतिष्ठानले चार लाख रुपैयाँ राशिको पृथ्वी प्रज्ञा पुरस्कार प्रदान गर्ने भएको छ। मंगलबार बसेको प्रज्ञासभाले चार वर्षमा प्रदान गर्दै आएको महत्त्वपूर्ण पुरस्कार जोशीलाई प्रदान गर्ने निर्णय गरेको हो।
सँगै प्रज्ञाले दुईदुई वर्षमा प्रदान गरिने नेपाल प्रज्ञा सामाजिकशास्त्र, संस्कृति तथा दर्शनशास्त्र पुरस्कार प्रा.डा. त्रिरत्न मानन्धर, नेपाल प्रज्ञा नेपाली भाषा पुरस्कार प्रा.डा. टङ्कप्रसाद न्यौपानेलाई प्रदान गर्ने निर्णय गरेको छ। पुरस्कारको राशि एक, एक लाख रुपैयाँ रहेको छ।
त्यसैगरी प्रत्येक एक, एक वर्षमा प्रदान गरिने नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार ०७५ का लागि मदन रेग्मी, ०७६ का लागि भागीरथी श्रेष्ठ, पहाड, हिमाल क्षेत्रमा बोलिने मातृभाषा साहित्यतर्फ ०७५ का लागि अमर तुम्याहाङ (लिम्बू भाषा साहित्य), ०७६ का लागि अमृत योञ्जन तामाङ, तराई मधेसमा बोलिने मातृभाषाका साहित्यतर्फ ०७५ का लागि अयोध्यानाथ चौधरी (मैथिली भाषा साहित्य), ०७६ का लागि अशोक थारू (थारू, भाषा साहित्य) लाई प्रदान गरिने भएको छ। सबै पुरस्कारको राशि एकएक लाख रुपैयाँ रहेको छ।
प्रज्ञा प्रतिष्ठानले अन्य तीन पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ। प्रत्येक दुई वर्षमा दिइने गरी नेपाल प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार र प्रज्ञा अनुवाद पुरस्कार स्थापना गर्ने निर्णय गरेको हो। यी पुरस्कारको राशि एक, एक लाख रहने छ।
अन्नपूर्णबाट





























प्रतिक्रिया