काठमाडौं । अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतको पक्राउ गर्न दिएको आदेशको विरूद्धमा सर्वोच्चले यस्तो आदेश जारी गरेको हो ।
बहुविवाहसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेपछि उच्च अदालत हुँदै सर्वोच्चसम्म पुगेकी शिल्पालाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले तत्काल पक्राउ नगर्न आदेश दिएको हो ।
उच्च अदालत पाटनले जिल्ला अदालतको पक्राउ पुर्जी रोक्न अस्वीकार गरेको थियो । त्यसपछि उनी सर्वोच्च पुगेकी थिइन् । सर्वोच्चले दुवै पक्षलाई भदौ १५ गते छलफलको लागि बोलाएको छ ।
छविकी जेठी श्रीमती हेमा ओझाले श्रीमान छविराज ओझा र कान्छी श्रीमती शिल्पा पोखरेलबिरुद्ध बहुविवाहको उजुरी दिएकी थिइन् । उनले हालेको उजुरीमा पहिला प्रमाण नभएको र हाल प्रमाण प्राप्त भएकाले श्रीमान र कान्छी श्रीमती शिल्पाबिरुद्ध बहुविवाहको मुद्धा हालेको उल्लेख गरेकी थिइन् । छवि र हेमाबीच २०४१ सालमा विवाह भएको थियो।
श्रीमान छविबिरुद्ध शिल्पाले प्रहरीमा घरेलु हिंसा भएको भन्दै उजुरी दिएकी थिइन् । दुवैजनाबीच अबदेखि झै-झगडा नगर्ने लिखित सहमतिपछि विवाद समाधान भएको थियो । तर लगतै शिल्पाले काठमाडौं जिल्ला अदालतमा डिभोर्सका लागि निबेदन दर्ता गराएकी थिइन् ।
शिल्पाले केश दर्ता गराएकै बेला जेठी श्रीमती हेमाले दुवैजनाविरुद्ध बहुविवाहको मुद्दा हालेकी थिइन् । गत भदौंबाट लागू भएको नयाँ कानुनमा श्रीमती हुँदा हुँदै दोस्रो विवाह गरेमा स्वतः बदर हुने व्यवस्था छ । बहुविवाह गर्ने महिला र पुरुष दुवैलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ ।
छवि र शिल्पाविरुद्ध पक्राउ पूर्जी जारी, ५ वर्षसम्म कैद हुने सम्भावना





























प्रतिक्रिया