बिन्ध्यवासिनी फाउन्डेसनले यो वर्षको बिन्ध्यवासिनी म्युजिक लाइफटाइम अचिभमेन्ट अवार्डबाट अग्रज गायिका मिरा राणालाई सम्मान गर्ने भएको छ ।
शनिबार सम्पन्न बिन्ध्यवासिनी म्युजिक अवार्डको दशौं वार्षिक भेलाले गायिका राणालाई एक लाख नगदसहित बिन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड २०८० प्रदान गर्ने निर्णय गरेको हो ।
यसअघि सो सम्मानबाट सङ्गीतकार प्रकाश गुरुङ, भक्तराज आचार्य, माणिकरत्न स्थापित, किरण खरेल, अम्बर गुरुङ, दिनेश अधिकारी, प्रेमध्वज प्रधान, दीपक जंगम, रत्न शमशेर थापा, शक्ति बल्लभ, कुमार बस्नेत, योगेश वैद्य, विश्व बल्लभ सम्मानित भएका थिए ।
साथै यस वर्षको बिन्ध्यवासिनी संगीत साधना सम्मान बरिष्ठ संगीतकार भूपेन्द्र रायमाझीलाई प्रदान गरिने निर्णय भएको छ । यसको पुरस्कार राशि ५० हजार रुपैयाँ रहेको छ । बिन्ध्यवासिनी कला पत्रकारिता सम्मान २०८० बाट २५ हजार रुपैयाँ नगदसहित शान्ति प्रियलाई सम्मानित गर्ने, प्रेमध्वज संगीत रत्न सम्मानबाट २५ हजार रुपैयाँ नगदसहित युवा गायक रूपक डोटेललाई सम्मान गर्ने निर्णय भएको छ ।
यस्तै, नेपाली लोक संगीत क्षेत्रका शिखर पुरूष स्वर्गीय झलकमान गन्धर्वको नाममा स्थापित झलकमान लोकसंगीत सम्मान २०८० बाट २५ हजार रुपैयाँ नगदसहित लोक दोहोरी गायक राजु परियारलाई सम्मान गर्ने निर्णय भएको छ । यो अवार्डको १४औं संस्करण २०८० चैत्र १ गते हुनेछ ।
स्रष्टा र पत्रकारको योगदानको सम्मान र कदर गर्दै विगतका वर्ष झैं यसवर्ष पनि सम्मानित गर्न लागिएको बिन्ध्यवासिनी म्यूजिकका कार्यकारी निर्देशक सुवास रेग्मीले जानकारी दिए ।































प्रतिक्रिया