झापा: ‘बिसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान २०८०’ बाट पाँच जनालाई सम्मान गरिएको छ ।
राष्ट्र निर्माता पृथ्वीनारायण शाहका आर्थिक सल्लाहकार ठानिएका बिसे नगर्चीको योगदानलाई स्मरण गर्दै रु. ५१ हजार नगदसहित उनीहरुलाई सम्मान गरिएको हो । बिर्तामोडमा बुधबार गोर्खा फाउण्डेसनद्वारा आयोजित कार्यक्रममा राष्ट्रियसभा सदस्य गोपालकुमार बस्नेतले वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरे, नायक राजेश हमाल, प्रमुख जिल्ला अधिकारी सीता परियार, सहकारी अभियन्ता महेन्द्र गिरी र भुवनसिंह विश्वकर्मालाई नगदसहित सम्मानपत्र प्रदान गरिएकाे थियाे ।
देशको सबैभन्दा ठूलो सहकारीको नेतृत्व गरिरहेका गिरीले कोभिड महामारीका बेला स्थानीयस्तरमा गरेका योगदान, अभिनेता हमालले एक सय ७० भन्दा बढी चलचित्रमा अभिनय गरेर कला, संस्कृति प्रवद्र्धनका निम्ति निर्वाह गरेको भूमिका, भारतमा जन्मेर स्तरीय नेपाली सिनेमा निर्देशन गरी दर्शकको मन जित्न सफल घिमिरेको कामको कदर गर्दै सम्मान गरिएको फाउण्डेसनका अध्यक्ष बिरु दर्नालले बताए।
अन्टार्टिकामा पहिलो पाइला राख्ने नेपालका ७१ वर्षीय विश्वकर्मा र दलित समुदायबाट पहिलो महिला प्रमुख जिल्ला अधिकारी बनेकी परियारलाई राष्ट्रले सम्मान गर्नुपर्नेमा जोड दिँदै उनले राष्ट्रिय परिचय बनाएका व्यक्तिको आदर गर्नु सबैको कर्तव्य हो भने ।





























प्रतिक्रिया